कांग्रेसको विचारशून्य महाधिवेशन - विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसको विचारशून्य महाधिवेशन 

 बीपीलाई बिर्सेर महाधिवेशनमा जुट्दै कांग्रेस
नीतिविहीन कर्मकाण्डी महाधिवेशनस्थलमा बीपीलाई सम्झनु भनेको हँसीमजाकबाहेक केही हुन सक्दैन ।
ध्रुव सिम्खडा

अहिले बीपी छैनन्, गणतन्त्रात्मक समावेशी र धर्मनिरपेक्ष राष्ट्र छ । ‘लोकतान्त्रिक ट्रेडमार्क’ बोकेको, उनले स्थापना गरेको कांग्रेस नीतिविहीन नेतृत्व छनोटमा जुटेको छ । ३८ वर्षदेखि कांग्रेसजनले बीपीको तस्बिरमा माल्यार्पण गर्दै आएका छन् । यो वर्ष पनि बीपीलगायत नेताका तस्बिरमा कांग्रेसले वडा अधिवेशनदेखिका हरेक कार्यक्रममा माल्यार्पण गर्दै आएको छ ।

तर नीतिविहीन महाधिवेशन गरेर बीपीको उपहास हुँदैछ । महाधिवेशन समाजका नवीनतम वर्ग, क्षेत्र र समस्याबारे छलफल र बहस गरेर प्रस्तावहरू पारित गर्ने थलो हो । तर कांग्रेस यसपटक यो मान्यताभन्दा विल्कुल प्राविधिक चुनावी प्रक्रियामा गइरहेको छ । नीतिविहीन कर्मकाण्डी महाधिवेशनस्थलमा बीपीलाई सम्झनु भनेको हँसीमजाकबाहेक केही हुन सक्दैन ।

६ भाइले धान्दै आएको बीपी विचार–मन्थनको परम्परामा यसपटक सातौं भाइ (शेरबहादुर देउवा) ले विराम लगाइदिए । आजसम्म विचारमा बाँचेका बीपी र उनले स्थापना गरेको कांग्रेसलाई देउवाले विचारशून्य बनाइदिए १४औं महाधिवेशनमा ।

सक्नेलाई लाउने–खाने समस्या हुने कुरै भएन, समस्या हुने भनेकै कमजोर वर्गका लागि हो । पीँधमा रहेका कमजोरहरूसम्म पुग्नु नै लोकतन्त्रको सफलता ठान्थे उनी । आज बीपी भएका भए सायद ‘महतोनोमिक्स’ को सट्टा लोककल्याणकारी पुँजीवादको पो वकालत गर्थे कि ?

बीपी कस्तो राजतन्त्र चाहन्थे ? निःसन्देह संवैधानिक राजतन्त्र । त्यो भनेको अधिकारविहीन राजतन्त्र । लोकतन्त्रको गला घोट्ने बीपीले चाहेको राजतन्त्र थिएन । कुरा यत्ति हो कि उनी सहिष्णु, लोकतन्त्रवादी नेता भएकाले आफूलाई सैनिक लगाएर थुन्ने राजाप्रति पनि बदलाको भावना राख्दैनथे । राखेनन् । यस्तो गुण विरलै राजनीतिज्ञहरूमा पाइन्छ । सायद आज बीपी भएका भए उनका कनिष्ठ पुत्र शशांकले झैं हिन्दुधर्म र राजतन्त्रको पक्षमा आफूलाई समर्पित गर्ने थिएनन् । किनकि, बीपी सदैव प्रगतिशील विचारका धनी थिए । समयचेत भएका नेता थिए । गणतन्त्रमा नेपालको भूगोलभित्र सल्बलाउने सबै आत्महरूसहितको राष्ट्रियताको चुरो पक्रन्थे ।

बीपीः राष्ट्रवादी कि ‘अराष्ट्रवादी’ ?

नेपालमा सबैभन्दा बढी ‘गद्दार’ र ‘अराष्ट्रवादी’ भनिएका बीपी के साँच्चै त्यस्तै थिए त ? कि यो आरोप मात्रै हो ?

‘भारतीय दलाल,’ ‘विस्तारवादका पिछलग्गु’, ‘सामन्त पुँजीवादका दलाल’ जस्ता शब्दहरूले नेपाली मिडियामा १३ वर्ष अघिसम्म पनि बीपीको एकोहोरो विरोध भइरह्यो । निधनपछि पनि उनीमाथि आरोप लगाउन छाडिएन ।

‘गण्डकी, कोसी बेचुवा बीपी’ प्रतिको दरबारिया र कम्युनिष्टहरूको उग्र विरोधी ‘टोन’ आजभोलि सुनिन छाडेको छ । कमल थापा र बाबुराम भट्टराई अनि प्रचण्ड र ओली सबका सबले बीपीलाई राष्ट्रवादी नेता भनी तारिफ गर्न थालेका छन् । किन ?

हिजो बीपीले के गरे र ‘अराष्ट्रवादी’ भए ? आज कसरी राष्ट्रियताको उनीहरूको भाष्यमा ‘फिट’ हुन पुगे ? सबैभन्दा बढी ‘गद्दार’ र ‘विदेशी दलाल’ भनिएका बीपी नै आज सबैका नजरमा सबैभन्दा बढी यथार्थवादी राजनेता बन्न पुगे । राजनीतिमा सत्य, निष्ठा, निरन्तरता, स्पष्टता र सहिष्णुताजस्ता गुणहरूले नै कुनै पनि नेतालाई राजनेताको हैसियतमा पुर्‍याउँछ भन्ने दरिलो प्रमाण हुन्–विश्वेरप्रसाद कोइराला ।

सबैभन्दा बढी विरोध झेलेका तर अग्लो कदका ‘करिस्मेटिक’ नेता हुन् बीपी । नेहरू र चाउ–एन–लाईसित समकक्षी हैसियतमा रहेर विश्व राजनीतिमा अब्बल ठहरिएका हुन् बीपी ।

राजनीति, अर्थनीति, साहित्य, धर्म, राजतन्त्रबारे उनी जति स्पष्ट विचार भएका नेता विश्वमै विरलै थिए, हुन्छन् ।

राजनीतिमा उनी लोकतन्त्रवादी थिए भने उनकै शब्दमा ‘साहित्यमा अराजकतावादी’ । गान्धीको ग्राम स्वरोजगार र सुमाकरको ‘स्मल इज ब्युटिफुल’ को फर्मुलाबाट प्रभावित बीपी न्यायपूर्ण, समावेशी नेपाली समाजको परिकल्पनाकार थिए । उनी मानिसलाई ठूलो हुनभन्दा असल हुन सिकाउँथे, ठूल्ठूला र अव्यवहारिक कुरा गर्नुभन्दा स-साना र व्यवहारिक कार्यबाट जन मन जित्न सक्नुपर्ने मान्यता राख्थे ।

बीपी अचम्मको बिम्ब हुन् । राष्ट्रवादी कि ‘अराष्ट्रवादी’ ?, समाजवादी कि पुँजीवादी ?, राजावादी कि गणतन्त्रवादी ?, अराजकतावादी कि लोकतन्त्रवादी ?, धर्मसापेक्ष कि निरपेक्ष ? एउटै नेतामाथि यतिधेरै प्रश्न गर्ने सुविधा बीपीले मात्र दिएर गएका छन् ।

बीपीले हाम्रा दुवै छिमेकीसित शीर ठाडो पारेर कुरा गरे । तिनको लोभ र भयको परवाह नगरी निर्णय लिन द्विविधा पर्दा मुलुकको माटो हातमा लिएर अघि बढ्न सुझाए । यसै सेरोफेरोमा उनको राष्ट्रवादलाई बुझ्ने हो कि ?

सातभाइ कांग्रेस

बीपीले पहिलोदेखि सातौं महाधिवेशनसम्म कांग्रेसलाई वैचारिक नेतृत्व दिए । आज उनको निधन भएको ३९ वर्ष भइसक्यो । उनको निधनपश्चात् पनि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाले राजनीतिक, आर्थिक, सामाजिकलगायत समसामयिक विषयका विभिन्न प्रस्तावहरू महाधिवेशनबाट अनुमोदन गराए । तर, यसपटक भने वडादेखि पार्टीमा निर्वाचनमात्र हुँदै आइरहेको छ । र, केन्द्रमा पनि निर्वाचनमात्र गरेर महाधिवेशन सम्पन्न हुँदैछ ।

२०१२ सालमा सुवर्ण शमशेर सभापति निर्वाचित हुँदा प्रजातान्त्रिक समाजवादी नीति पारित भएको थियो । बीपी, गणेशमानलगायत नेता/कार्यकर्ताहरू भारत प्रवास गएका बेला पनि कृष्णप्रसाद भट्टराईले स्वदेशमै बसेर पञ्चायती व्यवस्था विरोधी अभियान सञ्चालन गरिरहे । २०४२ सालमा सत्याग्रहको नेतृत्व गर्दै देशव्यापी रूपमा कांग्रेसलाई वैचारिकी प्रदान गरे ।

अर्का नेता गणेशमान सिंह जो न पार्टी सभापति भए न प्रधानमन्त्री । यद्यपि सभापति र प्रधानमन्त्री दुवै हुने अन्य ६ जना नेताहरूका हारमा पार्टीको आधिकारिक वेबसाइटमा उनलाई पनि राखिनुले सभापति/प्रधानमन्त्री हुनुमात्र ठूलो होइन रहेछ, निष्ठा र त्याग पनि चाहिँदो रहेछ भन्ने सन्देश दिन्छ । त्यसो त सिंहले कम्युनिष्टहरूसित मिल्नु हुन्न भन्ने बीपीको भाष्यमा परिवर्तन गरी कम्युनिष्टहरूसितै मिलेर २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना आन्दोलनको नेतृत्व गरे ।

बहुदल आएपछि गिरिजाप्रसाद धेरै वर्ष सत्तामा बसे । पार्टी सभापति भए । नेपाली इतिहासमा धेरै गाली र ताली खाने नेतामध्ये पर्छन् उनी । जीवनका आखिरी दिनहरूमा उनले सशस्त्र विद्रोही माओवादीहरूलाई शान्ति वार्तामा ल्याएर संविधानसभाको निर्वाचन गराए । र, गणतान्त्रिक आन्दोलनको अगुवाइ गरे । जसका लागि उनले २०६४ असोज ८ गते इन्द्रजात्राको दिन सम्पन्न महासमिति बैठकबाट स्थापनाकालदेखि कांग्रेसले विधानमा लिपिबद्ध गर्दै आएको ‘संवैधानिक राजतन्त्र’ लाई ‘डिलिट’ गरेर पार्टीलाई गणतन्त्रमा प्रवेश गराए । त्यसको एकवर्षमै शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र श्रीपेच फुकाल्न बाध्य भए । यसलाई उनको जीवनकै सबैभन्दा ठूलो वैचारिक छलाङ मान्न सकिन्छ ।

पार्टी सभापति र प्रधानमन्त्री भएका बेला सुशील कोइरालाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संथागत गर्न संविधानसमा पेचिलो बनिरहेको संविधान लेखनकार्यको अभिभारा पूरा गरे । कृष्णप्रसादले जस्तै सादगी र सामान्य नेताको छवि बनाए । तर पाचौं पटक प्रधानमन्त्री बनेका र पार्टी सभापति दोहोर्‍याउने दाउमा रहेका शेरबहादुर देउवाबाट के अपेक्षा गर्ने त ?

प्रधानमन्त्रीको आसनमा देउवा छन् तर महँगी, भ्रष्टाचार र अराजकताले आमनागरिक आजित छन् । बेकम्मा कर्मचारी प्रशासनको बोझ आमनागरिकले बोक्नु परेको छ । पार्टीका विभिन्न तहमा अधिवेशनहरू भइरहेका छन् तर वैचारिकी शून्य । खाली कसलाई हराउने र कसलाई जिताउने शिवाय समाजका जल्दाबल्दा समस्याहरूमाथि बहस/छलफल भइरहेको छैन । चुनाव हुनु राम्रो हो तर त्योसँगै नीतिमाथि पनि बहस भएको भए कांग्रेस राम्रो/नराम्रो भन्ने वैचारिक मन्थनमा समाजका सबै सहभागी हुन पुग्थे । त्यसो भएको भए पार्टीको आन्तरिक निर्वाचन धनबली र बाहुबलीहरूको प्रभावबाट मुक्त हुनसक्थ्यो । देउवा हारून् या जितून् उनलाई पछिसम्म सम्झने ठाउँ रहन्थ्यो । यस्तै हो भने पार्टी र सत्ताबाट बिदा भएपछि कसले सम्झेला ?

प्रकाशित : मंसिर २०, २०७८ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसको नेदरल्याण्ड जनसम्पर्क समितिमा गौतम

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको जनसम्पर्क समिति नेदरल्याण्डको अध्यक्षमा शालिक गौतम चयन भएका छन् । आइतबार सम्पन्न छौटौं अधिवेशनले गौतम नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षद्वयमा चन्द्र पौडेल र तेजेन्द्र केसी चयन भएका छन् ।

यस्तै महामन्त्रीद्वयमा जितेन्द्र श्रेष्ठ र शान्ति थोकर, कोषाध्यक्षमा राजु श्रेष्ठ, सहमहामन्त्री विमा पौडेल छन् भने सदस्यहरूमा विष्णु बास्तोला, अमित कार्की, शिव रिजाल, दीपक आचार्य, पवन लामिछाने, सीता थापा, विष्णु पोखरेल, जय पुन, अनिमेश पुर्जा, गोविन्द चौधरी र मिन थापा चयन भएका छन् ।

पार्टीको क्रियाशील सदस्यता पाँच सय नपुगेकाका कारण महाधिवेशन प्रतिनिधि भने आउन सकेनन् । अध्यक्ष गौतम महासमिति सदस्य भएका छन् । महाधिवेशनका लागि खुसीजंग गुरुङ, नारायण आचार्य र किरण अर्याललाई चयन गरिएको छ ।

प्रकाशित : मंसिर २०, २०७८ १७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×