प्रतिनिधिलाई खर्च धान्न धौधौ

प्रदेश महाधिवेशन प्रतिनिधि बनेकी पेमाडोल्माले सुर्खेतबाट फर्किंदासम्म कम्तीमा १ लाख रूपैयाँ खर्च हुने बताइन्

मंसिर १९, २०७८

राजबहादुर शाही, ज्योति कटुवाल

सुर्खेत — कांग्रेस प्रदेश अधिवेशनमा भाग लिन मुगुको छायानाथरारा नगरपालिका–४ की रमाइली रावल सुर्खेत पुगेकी छिन् । पहिलोपल्ट महाधिवेशन प्रतिनिधि बनेकी उनलाई प्रदेश अधिवेशनपछि महाधिवेशनका लागि काठमाडौं पुग्न पनि हतार छ । ‘महँगो प्लेन भाडा तिरेर यहाँ आइयो,’ उनले भनिन्, ‘अझै कति खर्च हुने हो थाहा छैन ।’

 मुगुबाट नेपालगन्ज पुग्न जहाज भाडा ६ हजार रुपैयाँ तिरेकी उनले नेपालगन्जदेखि सुर्खेत आउन रिजर्व गरेको गाडीमा ५ हजार रुपैयाँ तिर्नुपर्‍यो । बिहीबारदेखि प्रदेश अधिवेशन सुरु भए पनि उनी जहाजको टिकट नपाइने डरले मंसिर ११ गते नै सुर्खेत ओर्लेकी थिइन् । वीरेन्द्रनगरको एक होटलमा बसिरहेकी उनले प्रदेश अधिवेशन सकिंदासम्म कम्तीमा २५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिन् । केन्द्रीय अधिवेशनका लागि काठमाडौं जानुपर्ने भएकाले घर फर्किंदासम्म १ लाख रुपैयाँसम्म खर्च हुने उनको भनाइ छ । खर्च धेरै हुने भए पनि नेता चिन्न पाइएको भन्दै उनी खुसी छिन् । ‘घरधन्दामै व्यस्त हुने हामीले पनि ठूला नेतालाई भोट हाल्न पाउने भयौं,’ उनले भनिन्, ‘अब त हामीलाई पनि राजनीतिको नशा लाग्न थाल्यो ।’

हुम्लाको नाम्खा गाउँपालिकाकी पेमाडोल्मा तामाङलाई पनि खर्च धान्न मुस्किल हुन थालेको छ । प्रदेश (क) बाट प्रदेश महाधिवेशन प्रतिनिधि बनेकी उनले सुर्खेतबाट फर्किंदासम्म कम्तीमा १ लाख रुपैयाँ खर्च हुने बताइन् । ‘गाउँबाट सिमकोट आउँदा पनि बाटोमा १०/१२ हजार खर्च भयो,’ उनले भनिन्, ‘सिमकोटमा ५ दिन बसेर प्लेनबाट सुर्खेत झरियो, यहाँ होटलमा बसेका छौं, अझै कति खर्च हुने हो केही थाहा छैन ।’

प्रदेश र केन्द्रीय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिले आफ्नो खर्च आफैं गरिरहेको मुगु कांग्रेस सभापति ऐनबहादुर शाहीले बताए । उनका अनुसार सधै चुलोचौको र खेतीपातीमा व्यस्त हुने महिलाहरू आफैं नेता बनेका छन् । ‘वडादेखि जिल्ला, प्रदेश र संघको प्रतिनिधि हुने अवसरले महिलालाई नेता बनाएको छ,’ उनले भने, ‘यो अधिवेशनमा गाउँका सामान्य महिलाले पनि अवसर पाएका छन् ।’

पढाइ लेखाइ नभए पनि पार्टीमा नेता बन्ने अवसर मिलेको मुगुमकार्मारोङ गाउँपालिकाकी फुटिक तामाङले बताइन । उनले संघीयताले ग्रामीण भेकका महिलालाई प्रदेश राजधानीसम्म पुग्ने अवसर मिलेको जनाइन् । उनीसँगै हुम्लाको ताजाकोट गाउँपालिका–५ सेरीकी ४९ वर्षीया कल्सरी रोकाय पनि पहिलो पटक सुर्खेत आइपुगेकी छन् । ‘संघीयताले राजनीतिमा सहभागी हुन र घर बाहिर निस्कन सहज भयो,’ उनले भनिन्, ‘घरपरिवार र बस्तुभाउको जिम्मा श्रीमान्लाई दिएर सुर्खेत झरेकी हुँ ।’

अहिले कर्णालीका हिमाली जिल्लाबाट मात्रै करिब ८० महिला सुर्खेत झरेका छन् । अन्य जिल्लाका महिलाहरू गाडीबाट सुर्खेत झरे पनि हुम्ला, मुगु र डोल्पाका महिलालाई महँगो मुल्यमा हवाइ टिकट खरिद गरी वीरेन्द्रनगर आउनुपर्ने भएको हो । प्रदेश राजधानी वीरेन्द्रनगरका विभिन्न होटेलहरूमा बसेकाले पनि हिमाली जिल्लाबाट आएका महिलाहरूको खर्च बढेको छ । सुर्खेतका होटलहरूमा प्रतिकोठा १ हजारदेखि ४ हजार रुपैयाँसम्म भाडा छ । त्यस्तै प्रतिछाक २ सय ५० रुपैयाँदेखि ५ सय रुपैयाँसम्म तिरेर अधिवेशनका लागि आएका प्रतिनिधिले खाना खाइरहेका छन् । अहिले सुर्खेत विमानस्थल मर्मतका लागि बन्द गरिएकाले प्रतिनिधिहरूलाई नेपालगन्ज विमानस्थल झरेर गाडीमा वीरेन्द्रनगर आउनुपर्ने बाध्यता छ । मुगुबाट नेपालगन्ज र हुम्लाबाट ६ हजार ५ सय रुपैयाँ भाडा तोकिएको छ । महाधिवेशनका लागि करिब ८ सय प्रतिनिधि सुर्खेत आएका छन् । 

सुर्खेतका होटल भरिभराउ 

नेपाली कांग्रेसको प्रदेश अधिवेशनका लागि नेता–कार्यकर्ता सुर्खेतका होटलमा भरिभराउ छन् । प्रदेश महधिवेशनमा हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट दैलेखलगायत जिल्लाबाट आएका प्रतिनिधिले होटलहरू भरिभराउ भएका हुन् । वीरेन्द्रनगरस्थित सिद्धार्थ होटलमा मात्रै ५५ जना कांग्रेस नेता–कार्यकर्ता बसेका छन् । सिद्धार्थ होटलका प्रबन्धक प्रदिप न्यौपानेले ३/४ दिनको बसाइका लागि १० देखि १५ लाख रुपैयाँ खर्च लाग्न सक्ने बताए । अहिले सिद्धार्थसहित शुभ, नमस्ते, डी नमस्ते सुमेरु, मनकामना, मानसरोवरलगायत दुई दर्जन ठूला होटलमा कांग्रेस नेता–कार्यकर्ता खचाखच छन् ।

कांग्रेस महाधिवेशन

राजबहादुर

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully