२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ताजपुरिया समुदायबाट एक्ला वडा सभापति

‘अवसर पाइयो भने नेतृत्व गर्न गाह्रो छैन’
अर्जुन राजवंशी

बिर्तामोड — सानो कद, हँसिलो अनुहार । २४ वर्षीय देव ताजपुरियाको काँधमा कलिलै उमेरमा ठूलो जिम्मेवारी छ । अंग्रेजीमा भर्खरै स्नातक सकेका उनी गौरीगन्ज बहुमुखी क्याम्पसका स्ववियु सभापति हुन् ।

ताजपुरिया समुदायबाट एक्ला वडा सभापति

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भर्खरै सम्पन्न वडा अधिवेशनबाट ताजपुरिया गौरीगन्ज गाउँपालिका–४ को वडा सभापतिमा निर्वाचित भएका छन् । ०७३ देखि कांग्रेसको राजनीतिमा सामेल उनी जिल्लाको कान्छो वडा सभापतिसमेत हुन् । अल्पसंख्यक समुदाय ताजपुरियाबाट पार्टी सभापति जितेका पनि उनी एक्ला हुन् ।

१०७ जना क्रियाशील सदस्य रहेको वडामा सुरुमा सभापतिका लागि १० जनाले उम्मेदवारी दिने तयारी थियो । सहमतिको प्रयास गर्दा ८ जना पछि हटे । गुनुदेवी राजवंशी अडानबाट पछि हटिनन् । ६० वर्षीया राजवंशी गौरीगन्जकी पुरानो कांग्रेस नेता हुन् । सहमति नभएपछि वडा सभापतिका लागि निर्वाचन भयो । निर्वाचनमा राजवंशीलाई १९ मतले पछि पार्दै यसै वर्ष क्रियाशील पाएका ताजपुरिया वडा सभापतिमा निर्वाचित भए ।

किसानका छोरा ताजपुरियाको राजनीतिक इतिहास छैन । ‘०७३ मा गौरीगन्ज क्याम्पस भर्ना भएँ । एक दिन गाउँकै नीरज अग्रवाल र मखना महतो दाजुहरू हाम्रो क्याम्पस आउनुभएको थियो । उहाँहरूले मलाई नेपाल विद्यार्थी संघमा लाग्नुपर्छ भन्नुभयो । लगत्तै मेरै सभापतित्वमा नेविसंघको क्याम्पस इकाइ समिति पनि गठन गरिदिनुभयो,’ ताजपुरियाले सम्झिए, ‘मेरो राजनीतिक यात्रा त्यहीँबाट

सुरु भयो ।’

०७३ मै उनी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भए । ‘त्यसपछि म पार्टी गतिविधिमा पूर्णरूपमा लागें । पार्टीका सबै कार्यक्रममा जान थालें । स्थानीय नेता/कार्यकर्तासँग प्रत्यक्ष चिनजानलाई बढाएँ । लगातारको क्रियाशीलताकै कारण छोटो समय भए पनि सबैले माया गरेर मलाई पार्टी वडा सभापतिको जिम्मेवारी सुम्पिनुभएको छ,’ उनले भने, ‘अवसर पाइयो भने नेतृत्व गर्न गाह्रो छैन ।’ आफू स्ववियु सभापति र वडा सभापति भएकामा सिंगो समुदाय र क्षेत्र उत्साहित बनेको उनले सुनाए ।

प्रकाशित : मंसिर १९, २०७८ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?