१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

प्रदेश २ मा देउवा पक्षको अग्रता

मधेसको भावनात्मक साथ पाउने सभापतिका आकांक्षी निधिको आस
कलेन्द्र सेजुवाल

काठमाडौँ — प्रदेश २ मा कांग्रेसको क्षेत्रीय अधिवेशनबाट सभापति शेरबहादुर देउवा पक्षको अग्रता देखिएको छ । सभापतिमा उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधिका लागि भने आफ्नै गृह क्षेत्रमा निराशाजनक नतिजा आएको छ । क्षेत्रीय निर्वाचनको परिणाममा निधि निकै कमजोर देखिए पनि उनी मधेसको भावनात्मक साथ पाउने आसमा छन् ।

प्रदेश २ मा देउवा पक्षको अग्रता

हालसम्म प्रदेश २ का ३२ मध्ये २६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेतृत्वसहित महाधिवेशन प्रतिनिधि चुनिएका छन् । निर्वाचित क्षेत्रीय सभापतिमध्ये १६ देउवा समूहका छन् । पौडेल–कोइराला समूहमा ४ र निधि समूहमा २ जना खुलेका छन् भने ४ जना तटस्थ छन् । १३ औं महाधिवेशनबाट निर्वाचित जिल्ला सभापतिमा पनि देउवा समूहमा ५, निधि समूहमा २ र १ तटस्थ छन् । सर्लाहीका ४ र महोत्तरी तथा सप्तरीका एक–एक क्षेत्रमा निर्वाचन हुन सकेको छैन । राजनीतिक विश्लेषक चन्द्रकिशोर क्षेत्रीय अधिवेशनमा परिणाम जेसुकै आए पनि केन्द्रीय निर्वाचनमा प्रदेश २ ले सोचेभन्दा फरक प्रदर्शन गर्न सक्ने बताउँछन् । ‘मधेसबाटै सभापतिको उम्मेदवार भएको अवस्थामा मधेसको जनमत केन्द्रीय नेतृत्व चयनमा निर्णायक भइदिन सक्छ,’ उनले भने, ‘अहिले भने अपेक्षा गरेजस्तो परिणाम देखिँदैन ।’

निधि समूहबाट उनको गृह जिल्ला धनुषा–३ मा धीरेन्द्र निधि र महोत्तरी–१ मा महेश झा सभापति निर्वाचित भएका छन् । धीरेन्द्र निधिका भाइ हुन् । पौडेल समूहबाट धनुषा–३ मा राजकिशोरसिंह यादव, रौतहट–४ मा देवप्रसाद तिमिल्सिना, सिरहा–३ मा सञ्जयप्रकाश यादव र महोत्तरी–२ मा राजकरण साह निर्वाचित भएका छन् । सप्तरी–१, २ र ३ मा क्रमशः ललन गुप्ता, महानन्द यादव र भूपेन्द्र यादव सभापतिमा निर्वाचित भएका छन् । तीनै जना जिल्ला सभापति दिनेश यादवनिकट हुन् । देउवा समूहमा रहेका जिल्ला सभापति यादव निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेपछि पछिल्लो समय मौन छन् । ‘उहाँ देउवा र निधि कुनै समूहमा खुल्नुभएको छैन, दुवै समूह आफूतिर तान्ने प्रयासमा छन्,’ यादवनिकट एक नेताले भने, ‘सप्तरीमा उहाँ जुन समूहमा जानुभयो, त्यतैतिर झन्डै ९० प्रतिशत महाधिवेशन प्रतिनिधि जाने अवस्था देखिन्छ ।’ रौतहट–२ मा हाल जेलमा रहेका मोहमद अफताब आलम पक्षले सभापतिसहित एकलौटी महाधिवेशन प्रतिनिधि जितेको छ । १३ औं महाधिवेशनमा पौडेल समूहमा रहेका आलम पछिल्लो समय देउवातिर ढल्किए पनि महाधिवेशनका सन्दर्भमा स्पष्ट भइसकेका छैनन् ।

लामो समय देउवासँग रहेका निधिले भर्खरैमात्र अलग समूह निर्माण गरेकाले उनको पक्षमा माहोल सिर्जना हुन नसकेको हो । निधिमार्फत देउवासँग जोडिएका नेताहरूले देउवालाई छाड्न सकेका छैनन् । मधेस आन्दोलनबारे विद्यावारिधि गरेका विजय मिश्र भन्छन्, ‘मधेसको भए पनि निधिले राष्ट्रिय उचाइ लिनुभयो, तर आफ्नो छुट्टै समूह निर्माण गर्नुभएन । तर निर्वाचनमा मधेस सेन्टिमेन्टले काम गर्ने अवस्थालाई नकार्न सकिँदैन ।’ पर्साका चारवटै क्षेत्रमा क्षेत्रीय सभापतिसहित बहुमत महाधिवेशन प्रतिनिधि देउवा समूहले जितेको छ । बाराका चारवटै क्षेत्रमा पनि देउवाले सभापतिसहित बहुमत महाधिवेशन प्रतिनिधि जितेको छ । त्यहाँ फरमुल्लाह मन्सुर, जयचन्द्र चौरसिया, राधेचन्द्र यादवजस्ता देउवा समूहका प्रभावशाली नेता छन् । प्रदेश २ मा मन्सुरसहित आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रमेश रिजाल, कृष्णा यादव, चित्रलेखा यादवजस्ता नेताहरू देउवा समूहमा छन् । निधिका साथमा चन्द्रमोहन जोशी, स्मृतिनारायण चौधरी, प्रदीप गिरीलगायत छन् । पौडेल समूहमा रञ्जित कर्ण, रामकृष्ण यादव र अमरेश सिंहलगायत छन् ।

देउवा समूह बलियो देखिए पनि प्रदेश २ को समीकरणमा प्रदेश अधिवेशनबाटै फेरबदल हुन सक्ने अवस्था देखिएको छ । देउवा समूहबाट प्रदेश सभापतिमा रौतहटका जिल्ला सभापति कृष्णा यादवले दाबी गरेका छन् । सप्तरीका जिल्ला सभापति दिनेश यादवले पनि सभापतिमा दाबी गरिरहेका छन् । उनीसँग आफ्नो जिल्लाका बहुमत प्रतिनिधि छन् । निधि समूहबाट भने प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका रामसरोज यादव आकांक्षी छन् । यस्तो अवस्थामा तटस्थ रहेका सप्तरी जिल्ला सभापति यादवले कित्ता प्रस्ट गर्न सक्छन् । ‘उनी देउवातिर गएनन् भने निधिलाई आफ्नो गृह प्रदेशमा धेरै राहत हुनेछ,’ प्रदेश २ का एक नेता भन्छन् ।

निर्वाचन भएका ६ वटा प्रदेशमा निधिको प्रभाव निकै कम देखिएको छ । कर्णाली प्रदेशमा मात्र उनको समूहको नाममा कालीकोटका मोतीराज बमले सभापतिमा उम्मेदवारी दिए । अन्य पाँच प्रदेशमा निधि समूहका एक जना पनि उम्मेदवार देखिएनन् । ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको प्रदेश २ मा करिब ८ सय ६० महाधिवेशन प्रतिनिधि निर्वाचित हुन्छन् । प्रदेश अधिवेशनमा करिब २ हजार ७५ प्रतिनिधि सहभागी हुने केन्द्रीय निर्वाचन समितिको भनाइ छ । ६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन नभएकाले प्रदेश २ को अधिवेशन कहिले हुने भन्ने टुंगो लागेको छैन ।

–प्रदेश २ ब्युरोको सहयोगमा

प्रकाशित : मंसिर १९, २०७८ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?