कांग्रेस महाधिवेशन : प्रदेश १ सभापतिमा देउवा–सिटौला पक्षका थापा विजयी 

२ भोटले पराजित गुरु घिमिरेले पुन: मतगणनाको माग गरेपछि  परिणाम घोषणा भएन

मंसिर २०, २०७८

विनोद भण्डारी

विराटनगर — कांग्रेस महाधिवेशनअन्तर्गत प्रदेश १ को पहिलो अधिवेशनमा देउवा–सिटौला समूहका उद्धव थापा सभापतिमा निर्वाचित भएका छन् । उनले कोइराला–पौडेल समूहका गुरु घिमिरेलाई २ मतले पराजित गरेका हुन् ।

तर घिमिरेले पुन: गणनाको माग गर्दै निर्वाचन समितिमा निवदेन दिएपछि समितिले मतपरिणाम घोषणा नगरेको समितिका सदस्य अधिवक्ता पुनम गुप्ताले इकान्तिपुरलाई बताए ।

सुरुवाति गणनामा पछि पर्दै आएका थापाले खसेको १ हजार ७ सय ५२ मत मध्ये ८ सय ४४ र घिमिरेले ८ सय ४२ मत पाएको उनले बताए । थापा झापा जिल्लाका पूर्वसभापति हुन् भने घिमिरे केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्वसभापति हुन ।

त्यसैगरी पदाधिकारीतर्फ एक महामन्त्रीबाहेक सबैमा देउवा सिटौला पक्ष विजयी भएका छन् । कोइराला समूहबाट उम्मेदवार समीकरण मिलाउँदा उचित मूल्यांकन नभएको भन्दै पक्षधर कार्यकर्ताले केन्द्रीय नेतासामू असन्तुष्टि जनाएका थिए । त्यसकै परिणाम मतदानको यो नतिजा आएको कार्यकर्ताको भनाइ छ । यो प्रदेश सभापतिका आकांक्षी शेखर कोइरालाको गृहक्षेत्र हो ।  

उपसभापतिमा देउवा सिटौला समूहका रमेशजंग रायमाझी ८ सय ९० र टंकप्रसाद राई ८ सय ४७ मत ल्याएर विजयी भएका छन् । रायमाझी राष्ट्रिय सभा सदस्य तथा राई पूर्वसांसद हुन् । उपसभापतिमा कोइराला समुहका गोविन्द ढुंगानाले ७ सय ६५ र विश्वनाथ रिजालले ६ सय ९९ मत ल्याए ।

महामन्त्रीमा कोइराला समूहका उमेश थापाले ८ सय २३ र देउवा–सिटौला समूहका भूपेन्द्र राई ८ सय २४ मत ल्याएर विजयी भएका छन् । महामन्त्रीमा कोइराला समूहका दिपनकुमार श्रेष्ठले ७ सय ६४ र सिटौला–देउवा पक्षका पदम पालुवाङले ८ सय ७ मत ल्याएर पराजित भए ।

महिला सहमहामन्त्रीमा देउवा–सिटौला पक्षकी प्रमिला गच्छदार ८ सय ३७ मत ल्याएर विजयी हँुदा कोइराला समूहकी सीता कार्कीले ७ सय ३७ मत पाइन् ।

सहमहामन्त्री पुरुषमा देउवा–सिटौला समूहका खड्ग फागो १ हजार २६ र विनोदकुमार बस्नेत ७ सय ४७ मत ल्याएर विजयी हुँदा कोइराला पक्षका रोहितकुमार साहले ६ सय ६५ तथा वीरकाजी राईले ६ सय ४७ मत ल्याए । विजयी फागो मोरङको उर्लाबारी नगर प्रमुख हुन् ।

कांग्रेस महाधिवेशन

विनोद

Link copied successfully