एमाले महाधिवेशन : स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले महाधिवेशन : स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश

रासस

चितवन — नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ । स्वास्थ्य प्राविधिकको टोलीले बन्दसत्रस्थलमा प्रतिनिधिलाई रुघाखोकी तथा ज्वरो परीक्षणपछि मात्रै प्रवेश दिने भएको हो ।

एमाले महाधिवेशनको बन्दसत्रस्थल सौराहाको होटल सेभेन स्टारमा महाधिवेशन स्वास्थ्य समितिले सबै प्रतिनिधिको स्वास्थ्य परीक्षण गर्ने गरी चिकित्सकसहितका स्वास्थ्यकर्मी परिचालन गरेको समितिका सदस्य लीलाधर पौडेलले बताए । 'कोभिडको समय भएकाले सबै प्रतिनिधिको अनिवार्यरूपमा स्वास्थ्य परीक्षण गर्छौँ,' पौडेलले भने, 'बन्दसत्र हल नजिकै कोरोना परीक्षण गर्ने एन्टिजेन किट तथा अन्य प्रयोगशालासहित फार्मेसी सेवा प्रदान गर्दैछौँ ।'

महाधिवेशनमा भाग लिने प्रतिनिधि रातिको समयमा बिरामी भएको अवस्थामा उनीहरु बसेको होटलमै पुगेर चिकित्सकसहितको स्वास्थ्य प्राविधिक टोलीले उपचार गर्ने पौडेलले बताए । 'बन्दसत्रस्थल सौराहामा २४सै घण्टा विशेषज्ञ चिकित्सकसहितको उद्धार टोली तयारी अवस्थामा रहनेछ,' पौडेलले भने, 'त्यहाँ परिचालन भएको चिकित्सकसहितको टोलीले उपचार गर्नेछ र थप उपचार गर्नुपर्ने भएमा हामीले तुरुन्त एम्बुलेन्समा राखेर अस्पताल पुर्‍याउने व्यवस्थासमेत गरेका छौँ ।' बन्दसत्र अवधिमा प्रतिनिधि बस्ने होटल तथा विशिष्ट व्यक्ति बस्ने होटललाई लक्षित गर्दै विशेष एम्बुलेन्ससहितको स्वास्थ्यकर्मी परिचालन गरिएको पौडेलले जानकारी दिए ।

त्यस्तै आज शुक्रबार हुने एमाले महाधिवेशनको उद्घाटन सत्रमा हरेक र्‍यालीसँगै स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स परिचालन हुने उनले बताए । महाधिवेशनका लागि विशेषज्ञ चिकित्सक, नर्स, पारामेडिक्स, फर्मासिस्टसहित ३०० बढी स्वास्थ्यकर्मी परिचालन गरिएको पौडेलको भनाइ छ । त्यस्तै महाधिवेशन उद्घाटनस्थलको छेउमा एउटा र अर्को उद्योग वाणिज्य सङ्घ चितवनको नजिक गरी दुईवटा औषधोपचारस्थल निर्माण गरिएको जनाउँदै पौडेलले नदी किनारमा दुई एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिने बताए ।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन आज दिउँसो १२ बजे नारायणी नदी किनारमा हुनेछ । बन्दसत्र भने शनिबार र आइतबार सौराहाको होटल सेभेन स्टारमा हुने गरी तयारी भएको एमालेले जनाएको छ ।

प्रकाशित : मंसिर १०, २०७८ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्

किवीबाट वार्षिक २० लाख आम्दानी

विप्लव महर्जन

सल्यान — गंगादेव गाउँपालिका–३ चामेका ४५ वर्षीय इन्द्रबहादुर खत्रीले किवी खेतीबाट वार्षिक २० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । उनले ३४ रोपनी जग्गामा करिब १ हजार किवीका बोट लगाएका छन् । २०५२ देखि किवी खेती सुरु गरेका उनको बगैंचामा झन्डै ८ सय बोटले उत्पादन सुरु गरेका छन् ।

किवी र बेर्ना बिक्री गरी गत वर्ष खर्च कटाएर २० लाख रुपैयाँ आम्दानी गरेको उनले बताए । उनले गत वर्ष ९ लाखको किवी बिक्री गरेका थिए भने बेर्नाबाट ११ लाख रुपैयाँ आम्दानी गरे । परिवार पाल्न १५ वर्षअघिसम्म उनी भारतका विभिन्न ठाउँ गई मजदुरी गर्न बाध्य थिए । मजदुरी गर्ने क्रममा उनले भारतको हिमाञ्चल प्रदेशको एक किवी फार्ममा काम गर्ने अवसर पाएका थिए । ‘भारतमा सिकेको सीपले अहिले आत्मनिर्भर बनाएको छ,’ उनले भने, ‘न बिक्रीमा समस्या छ, न खेती गर्न नै दुःख ।’ करिब ३ वर्ष किवी फार्ममा काम गरेका उनले घर फर्किएपछि किवी खेती गर्ने निर्णय लिएका हुन् । जसका लागि उनले १२ वटा किवीका बोट भारतबाट ल्याएका थिए ।

किवी खेतीमा लागेपछि सजिलै १० जनाको परिवार पाल्दै आएको उनले बताए । किवीबाट आएको आम्दानीले उनले दाङको तुल्सीपुरमा पक्की घर बनाएका छन् भने गाउँमा १ सय २० रोपनी जग्गा किनेका छन् । त्यो जग्गामा क्रमशः किवी खेती गर्ने उनको योजना छ । ‘अहिले परिवार पाल्नमा लागि न त कालापहाड जानुपरेको छ, न अन्य काम गर्नका लागि साहुसँग ऋणसापटी गर्न नै,’ उनले भने, ‘गर्न सके गाउँमै राम्रो कमाइ गर्न सकिन्छ ।’ अहिले बारीमा ६० क्विन्टल किवी उत्पादन भएको उनले जानकारी दिए । उनले उत्पादन गरेको किवी १ सयदेखि १ सय ५० रुपैयाँका दरले व्यापारीले बारीमै आएर खरिद गर्छन् । व्यापारीले किवी बिक्रीका लागि काठमाडौंसम्म पुर्‍याइरहेको उनले जानकारी दिए ।

द्वन्द्वकालमा विभिन्न समस्या भएकाले ८ वर्षअघिबाट मात्र किवीलाई व्यावसायिक बनाएको उनको भनाइ छ । उनले वार्षिक करिब १५ हजारसम्म किवीका बेर्ना बिक्री गरिरहेका छन् । गाउँमै १० रुपैयाँका दरले किवीका बेर्ना बिक्री भइरहेका छन् । अहिले उनको किवी फार्ममा घरका १० सदस्यसहित बाहिरका ४ युवाले रोजगारी पाएका छन् । तर किवी खेतीका लागि सरकारी निकायबाट प्राविधिक सहयोग नपाइएको उनले गुनासो गरे । उनले वर्षाको समयमा पहिरोले करिब २ सय किवीका बेर्ना बगाउँदा ठूलो क्षति भएको बताए । चामेमा किवी राम्रो उत्पादन हुन थालेपछि अहिले गंगादेव गाउँपालिकाले किसानलाई अनुदान दिन थालेको छ । अहिले चामेका करिब २ सय ५० परिवारले बारीमा किवीका बेर्ना लगाएका छन् ।

प्रकाशित : मंसिर १०, २०७८ ११:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×