चितवन — शुक्रबारदेखि सुरु हुने एमालेको दसौँ महाधिवेशनको उद्घाटन कार्यक्रमका लागि नारायणी नदी किनारमा नेता कार्यकर्ता आउने क्रम सुरु भइसकेको छ । बिहानै देखि नारायणगढ बजारमा चहलपहल बढेको छ ।
केही जिल्लाबाट बिहीबार साँझ नै कार्यकर्ताहरू आइपुगेका छन् । बाराको टोली बिहीबार साँझ नै नारायणगढ आइपुगेको अरविन्दप्रसाद यादवले बताए । यतिबेला नदी किनारमा कार्यकर्ताहरू खाना पकाउन व्यस्त देखिन्छन् । फुर्सदिला देखिएका केही कार्यकर्ता भने मादल बजाएर गीत संगीतमा झुमिरहेका छन् ।
समूह-समूह बनाएर कार्यकर्ताहरू दोहोरीमा रमाएका देखिन्छन् । होटेल पाइँदैन भनेर आफूहरूले आफै खानाको जुगाड गरेको पाल्पाकी सरस्वती चिदीले बताइन् ।
