कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले महाधिवेशन : ठाउँ ठाउँबाट निस्कियो जुलुस

कान्तिपुर संवाददाता

चितवन — नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनको आज शुक्रबार मध्यान्ह नारायणगढ नारायणी नदी किनारमा उद्घाटन हुँदैछ । उद्घाटनअघि विभिन्न ठाउँबाट र्‍याली निस्किन थालेको छ  ।

चितवन एमाले अध्यक्ष पार्वती रावलका अनुसार भरतपुरका सात ठाउँमा नेता कार्यकता भेला हुने छन् । त्यसपछि मुख्य तीन ठाउँबाट र्‍याली निस्कने छ । पूर्वी क्षेत्रका लागि भरतपुरको केन्द्रीय बसपार्कबाट र्‍याली निस्कने छ । पश्चिम क्षेत्रका लागि नवलपुर गैंडाकोटमा भेला भएर र्‍याली अगाडि बढ्ने छ । त्यसैगरी मुग्लिन तर्फबाट आउनेहरुका लागि आँपटारीमा भेला भएर र्‍याली अगाडि बढेर उद्घाटन स्थलमा आउनेछ । भरतपुरका अन्य मुख्य चोकहरुबाट निस्कने र्‍याली बसपार्कबाट आउने र्‍यालीमा मिसिँदै अगाडि बढ्ने अध्यक्ष रावलले जानकारी दिइन् ।एमालेले उद्घाटन समारोहमा पाँच लाखलाई सहभागी गराउने दाबी गर्दै आएको छ । महाधिवेशन उद्घाटनका लागि नारायणी नदीको किनारलाई आमसभास्थल तय गरेर भव्य मञ्च निर्माण गरेको छ । आमसभा स्थलमा सबै नअटाउने भएका कारण बाहिर बसेर पनि भाषण सुन्नका लागि ठाउँ ठाउँमा डिजिटल डिस्प्ले बोर्डहरु राखिने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनमा कुल दुई हजार १७५ जना प्रतिनिधि बन्दसत्रमा सहभागी हुने छन् । बन्दसत्र सौराहामा हुँदैछ । उद्घाटनसत्रमा सहभागी हुनेहरुका कारण चितवनको राजमार्ग क्षेत्र र सडकमा भीडभाड बढ्ने भएको हुँदा व्यवस्थापनका लागि जिल्ला सुरक्षा समितिले यातायात सञ्चालन सम्बन्धित विभिन्न निर्णयहरु गरेको छ ।मुख्य सडकहरुमा बिहान नौ बजेपछि साँझ पाँच बजेसम्म अत्यावश्यक सेवाबाहेकका गाडीहरु आउन पाउने छैनन् । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले उद्घाटन कार्यक्रमका दिन राजमार्ग क्षेत्रमा ठूला मालवाहक ट्रकबाहेक अरु गाडी रोक्नलाई अनुरोध नगरेको बताए ।

तस्बिरहरु : हेमन्त श्रेष्ठ, सुवास बिडारी, मणि दाहाल, रमेशकुमार पौडेल/कान्तिपुर


प्रकाशित : मंसिर १०, २०७८ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्

गर्जो टार्नदेखि जाडो छल्नसम्म काम्लो

हिमाली भेगका बासिन्दा भेंडाच्याङ्ग्रा पाल्छन्, तिनका ऊन कातेर काम्लो बुन्छन्, बेच्छन्
प्रकाश बराल

बागलुङ — जाडो बढ्दै जाँदा निसीखोला गाउँपालिका–५ की ६० वर्षीया गोमला बुढा काम्लो बुन्ने चटारोमा हुन्छिन् । १० दिन लगाएर तयार पारेको काम्लो बजारमा १० हजार रुपैयाँमा बिक्री हुने उनी बताउँछिन् । पति चनबहादुर बुढाले ६० वटा भेंडा पालेका छन् । वर्षको दुई पटक ऊन काटेर ल्याउँछन् ।

त्यही ऊनबाट गोमलाले काम्लो बुन्छिन् । महिनामा ३ वटासम्म काम्लो बुन्न सक्दा ३० हजार रुपैया कमाइ हुन्छ । त्यसमा झण्डै १५ हजार आफ्नै लगानी पर्छ । १५ हजार कमाइ हुन्छ । यस्तो एउटा काम्लोले गोठमा बस्दा १० वर्षसम्मको जाडो छल्न सकिने बुढाले बताए ।

वर्षायामको झरीसमेत ओत्ने र जाडोमा न्यानो हुने भएकाले धेरैले काम्लो मन पराउँछन् । कालो भुवाको काम्लो बुन्न सकेमा ५० हजार रुपैयाँसम्ममा बिक्री हुन्छ । ‘कालो भुवा थोरै हुन्छ, त्यसैले वर्षमा बढीमा दुईवटा मात्रै बुन्न सकिन्छ’ बुढाले भनिन्, ‘बिक्री गर्न पनि बजार झर्नुपर्छ ।’ सेतो काम्लो घरघरबाटै बिक्री हुने र कालो बनाउनुपरेमा अर्डर मागेर मात्रै बुन्न सकिने उनले सुनाइन् ।

निसीखोलाकै कुमबहादुर घर्तीले पनि भेंडा पाल्ने र काम्लो बुनेर दैनिकी चलाउँदै आएका छन । उनको गोठमा पनि ५० भेंडा छन् । निसीखोला–५ र ६ का अधिकांशको दैनिकी गोठमै बित्छ । भेडा, च्याङ्ग्रा र गाई गोठमा बसेर उनीहरूले कृषि र व्यवसाय चलाउँछन् । उनीहरूले बुन्ने प्रायः काम्लो डेढ मिटरदेखि ३ मिटरसम्मका हुन्छन् । भेडीगोठ निसेल ढोरमा रहन्छन् । त्यसैले घरका एकदुई जना गोठमै बस्नुपर्छ । घरमा भएकाहरूले पालो गरेर खर्च पठाइदिन्छन् ।

काम्लोको व्यापार हुने मुख्य बजार गुल्मीको रिडी हो । माघे संक्रान्तिसहितमा मेला लाग्दा निसीका किसानले काम्लो बुनेर बजार लैजान्छन् । ‘अर्डर गरेकाले घरमै आएर लैजान्छन्’ बुढाले भनिन्, ‘घरमा रहेका सामान मेला लाग्दा बेच्छौं ।’ कृषि फसलको उत्पादन कम भएकाले ती सामान बेचेर घर खर्च चलाएको उनले बताइन् । ७५ वर्षका कर्णबहादुर बुढा मगरले पनि काम्लो बुनेर दैनिकी चलाएका छन् । पत्नि नौमताको मृत्युपछि ७ वर्षदेखि उनले काम्लो बुनेरै खर्च चलाएको बताए ।

खेतबारी र परिवारका अन्य सदस्यसमेत नभएका बुढामगरको सहारा काम्लो बुन्ने पेसा भएको हो । ‘घरमा कोही छैनन्, तरपनि बाँच्नु पर्‍यो, त्यसैले काम्लो बुन्ने काम गरिरहेको छु’ उनले भने, ‘डोको, नाम्लो बुनेर पनि केही कमाइ गरेको छु ।’ काम्लोलाई चोखो बस्त्रको रुपमा पनि लिइन्छ । पूजापाठमा बिच्छ्याउने, जाडोमा ओड्ने ओच्छ्याउने र झरी पर्दा ओड्ने काममा समेत काम्लो प्रयोग हुन्छ ।

बुर्तिवाङदेखि एक दिनको पैदल यात्रापछि पुगिने निसीमा मध्यपहाडी लोकमार्गको कालोपत्रे सडक पुगेको छ । त्यसैले उनीहरूले आफ्ना उत्पादन सजिलै बजार पठाउन सकेका छन् । ‘नुततेल किन्न रिडी पुग्नुपर्थ्यो, अहिले घरमै सडक आयो, हाम्रा सामान घरबाटै बिक्छन्’ निसीखोला–६ की ७० वर्षीया भागिमला बुढाले भनिन, ‘डोको बोकेर बजार जानु परेको छैन, केही उत्पादन गरियो भने खोज्नेपनि घरमै आइपुग्छन ।’

आधुनिक कपडाले काम्लोको माग भने घटाएको उनको भनाइ छ । पहिला काम्लो खोज्नेहरू घरघरमै हुने गरेकोमा अहिले भने पैसा भएकाले सौखिन रुपमा मात्रै किनेर राख्न थालेको उनले बताइन् । आधुनिक रोजगारी खोज्ने र सजिलै कमाइ खोज्नेले काम्लो बुन्ने पेशा छाड्दै गएको उनको अनुभव छ । पछिल्लो समय भेडा पाल्ने किसान पनि घटेका छन् ।

सडक खुल्दा रोजगारी खोज्न सहर पस्ने बढेकोले घरमा बस्नेले मात्रै काम्लो बुन्छन् । ‘भेडा पालेर महिनौ गोठमा बस्दा धेरै मेहेनत र दुःख गर्नुपर्छ’ स्थानीय हरिबहादुर बुढामगरले भने, ‘आजकलका युवाले यो काम गर्नै छाडेका छन् ।’ युवा सहर क्षेत्रको रोजगारी खोज्न हिडेपछि काम्लो उत्पादन बढाउन नसकिएको उनले बताए ।

प्रकाशित : मंसिर १०, २०७८ १०:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×