कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८
एमाले महाधिवेशन

ओली समूहमै दुई धार

आफ्नै समूहभित्र ध्रुवीकरण हुने जोखिमले ओली अप्ठ्यारोमा
बबिता शर्मा

चितवन — १५ पदाधिकारीसहित केन्द्रीय नेतृत्व चयन गर्ने मुख्य कार्यसूचीसहित शुक्रबार चितवनमा एमालेको दसौं राष्ट्रिय महाधिवेशन सुरु हुँदै छ । महाधिवेशनको अघिल्लो दिनसम्म पनि नेतृत्व चुनावबाट छानिन्छ कि सर्वसम्मत हुन्छ भन्ने निश्चित भएको छैन । विभिन्न पदका आकांक्षी अध्यक्ष केपी शर्मा ओलीको इसारा कुरेर बसेका छन् । महाधिवेशनमा भाग लिन विभिन्न क्षेत्रबाट चितवन आइपुगेका अधिकांश प्रतिनिधि भने सर्वसम्मत नेतृत्व चयनको पक्षमा देखिएका छन् ।

ओली समूहमै दुई धार

नवौं महाधिवेशनमा जस्तो यसपटक समूहगत प्रतिस्पर्धार् खुला गरिएको छैन । तर पदाधिकारीमा सर्वसम्मत नहुँदा आफ्नै समूहमा रहेका नेताहरूबीच पनि ध्रुवीकरण हुने जोखिमले अध्यक्ष ओलीलाई अप्ठ्यारोमा पारेको छ । उपाध्यक्ष भीम रावलको उम्मेदवारी घोषणाले सर्वसम्मति गराउन ओलीलाई थप सकस परेको हो ।

पदाधिकारीका लागि ३ दर्जनभन्दा बढी नेता आकांक्षी छन् । एक–एक पद वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा ओलीनिकट नेताहरूकै मुख्य प्रतिस्पर्धा छ । पार्टीमा दोस्रो वरीयतामा रहने वरिष्ठ उपाध्यक्षका लागि हालका महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले आकांक्षा देखाएका छन् । दुवै ओलीनिकट नेता हुन् । एकताको सन्देश दिनुपर्छ भन्दै पूर्वमाओवादी नेता रामबहादुर थापाले पनि यही पदमा आकांक्षा राखेका छन् । उपमहासचिव घनश्याम भुसाल पनि वरिष्ठ उपाध्यक्षमै उठ्ने तयारीमा छन् ।

पार्टीको शक्तिशाली कार्यकारी पद महासचिवका लागि हालका उपमहासचिव विष्णु पौडेल र नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित शंकर पोखरेलले इच्छा देखाएका छन् । उनीहरू पनि ओलीनिकट नै हुन् । नेताहरूका अनुसार ओली पौडेल र पोखरेलबीच चुनावी प्रतिस्पर्धा नहोस् र सहमतिमै जिम्मेवारी तय होस् भन्नेमा छन् । नवौं महाधिवेशनमा महासचिवमा ६ मतले पराजित सुरेन्द्र पाण्डेले पनि फेरि महासचिवकै लागि दाबी पेस गरेका छन् ।

ओलीनिकट नेताहरू हालका सचिवद्वय प्रदीप ज्ञवाली उपमहासचिव र पृथ्वीसुब्बा गुरुङले महासचिव वा त्यो नभए उपाध्यक्षको आकांक्षा राखेका छन् । उपाध्यक्ष र सचिवका आकांक्षी पनि धेरै छन् । महाधिवेशन प्रतिनिधिमध्ये एकतिहाइले केन्द्रीय सदस्यका आकांक्षा देखिएका छन् । केन्द्रीय सदस्य छनोट भने चुनावबाटै हुने लगभग निश्चित छ ।

आफूनजिकका नेताहरू एउटै पदका आकांक्षी देखिएपछि ओलीलाई गाह्रो भएको उनीनिकट एक स्थायी कमिटी सदस्यले बताए । ‘उहाँले तिमी यहाँ बस, अर्को उता बस भन्न सक्ने अवस्था छैन, यही जटिलताले उहाँले चुनावको विकल्प पनि खुलै राख्नुभएको छ,’ उनले भने, ‘आफ्नै समूह मिलाउन नसक्दा, पूर्वमाओवादी र दसबुँदे सहमति गरेर मूल पार्टीमै बसेका नेताहरूको व्यवस्थापन पनि गर्नुपर्नेछ ।’

ओली समूहको एउटा धारमा ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, भानुभक्त ढकाल, खगराज अधिकारी, रघुवीर महासेठ, कृष्णगोपाल श्रेष्ठ, आनन्दप्रसाद पोखरेल, कर्ण थापा, राजन भट्टराई, गोकुल बाँस्कोटालगायत रहेको एक नेताले बताए । उनका अनुसार संस्थापनभित्रैको अर्को धारमा सुवास नेम्वाङ, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, हिक्मत कार्की, महेश बस्नेत, वसन्त नेम्वाङ, पार्वत गुरुङ, रामेश्वर फुँयाल, कैलाश ढुंगेल, सुरेश नेपाल, नीरुदेवी पाललगायतका नेता छन् ।

पार्टीका महत्त्वपूर्ण कदममा एकतर्फी निर्णय र हस्तक्षेप गर्दै आएका अध्यक्ष ओलीले बिहीबार साँझ नेतृत्व चयन प्रक्रियाका विषयमा परामर्श थालेका छन् । उनले ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङलगायतका नेतासँग छलफल गरे पनि निष्कर्ष निस्केको छैन । ‘अध्यक्षसँग छलफल सुरु भएको छ । शुक्रबार साँझसम्म केही भन्न सकिएला,’ उपमहासचिव विष्णु पौडेलले भने । शुक्रबार साँझ एमालेको केन्द्रीय कमिटीको बैठक पनि बस्दै छ । आइतबार बिहान मतदानपूर्वसम्म सहमतिको कोसिस हुने नेताको भनाइ छ ।

दसौं महाधिवेशनलाई सर्वसम्मत गराउने, आफू शक्तिशाली अध्यक्ष हुने र आगामी चुनावमा एकताको मनोविज्ञान तयार पार्ने अध्यक्ष ओलीको रणनीति देखिएको छ । तर सर्वसम्मत नभए चुनावी विकल्पमा जाने पनि उनले बताइसकेका छन् । आगामी तीनै तहको चुनावमा एमालेलाई पहिलो पार्टी बनाउने दाबी गरेका उनले महाधिवेशनबाट एकताको सन्देश दिन चाहेका हुन् । आकांक्षीले सर्वसम्मत वा चुनाव जुनसुकै विकल्पमा गए पनि आफ्नो सुरक्षामा चासो दिएको देखिन्छ । धेरैजसो प्रतिनिधि र केन्द्रीय सदस्य अहिलेको आवश्यकता सर्वसम्मत नेतृत्वको पक्षमा रहेको बताउने गरेका छन् । अधिकांश वडा र पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेर महाधिवेशन प्रतिनिधिमा पनि त्यही विधि अपनाइएकाले केन्द्रीय नेतृत्वमा चुनावी विकल्प खोज्न नहुनेमा उनीहरूको जोड छ ।

ओलीले सुरुमा सर्वसम्मत केन्द्रीय नेतृत्वका लागि गृहकार्य गरेका थिए । तर उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेपछि ओलीले ‘बोली फेर्दै’ सहमति नभए लोकतान्त्रिक विधिबाट अगाडि बढ्ने बताएका छन् । कान्तिपुरलाई बुधबार दिएको अन्तर्वार्तामा पनि उनले महाधिवेशनको अभिभारा नेताहरूको व्यवस्थापन नरहेको उल्लेख गरेका थिए ।

महाधिवेशनका लागि बिहीबार नै चितवन आएका अध्यक्ष ओलीलाई केही नेताले विधान संशोधनको विकल्पमा जाँदा सर्वसम्मत नेतृत्व चयनको सम्भावना रहेको भन्दै त्यसैतर्फ जान सुझाएका छन् । पदाधिकारीमा सर्वसम्मत गरेर केन्द्रीय सदस्यका लागि चुनाव गराउन सक्ने विकल्पमा पनि एमाले नेताहरूबीच छलफल भइरहेको छ । बिहीबार साँझ ओलीसँग भेट गरेका स्थायी कमिटीका एक सदस्यले पर्दा पछाडि सर्वसम्मतको कोसिस भए पनि चुनावको सम्भावना उत्तिकै बलियो रहेको बताए । उनका अनुसार विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउँदा अन्तिमसम्म पनि सर्वसम्मतको सम्भावना जीवितै रहन्छ । ‘अहिलेकै विधानअनुसार सर्वसम्मत कठिन देखिन्छ । केही नेताले पदै किटान गरेर उम्मेदवारी घोषणा गरेका छन् । अन्तिम विकल्प चुनाव त छँदै छ । त्यसअगाडि विधान संशोधनले सर्वसम्मतको आधार बनाउन सक्छ,’ उनले भने ।

महासचिव पोखरेलले चुनाव वा सर्वसम्मत जता गए पनि सहमतिमै अगाडि बढ्ने बताए । ‘देशभरिका कार्यकर्ता साथीहरूले सहमतिका साथ जानुपर्छ भन्ने भावना व्यक्त गरिरहनुभएको छ । हामी त्यो कोसिस गर्छौं । लोकतान्त्रिक अभ्यास भन्नेबित्तिकै प्यानल बनाउने, बक्सा थाप्ने, कसैले जित्ने, कसैले हार्ने मात्रै बुझ्नु हुँदैन,’ उनले भने, ‘एउटा उन्नत समझदारीका साथ सहमति कायम गर्‍यौं भने पनि लोकतान्त्रिक प्रणालीलाई स्वीकार गरेको हुन्छ । सर्वसम्मत भएन भने प्रतिस्पर्धा गर्नेमा पनि सहमति गर्छौं, जे भए पनि सहमतिका साथ अगाडि बढ्छौं ।’

महाधिवेशन मूल आयोजक कमिटीका संयोजक रामबहादुर थापाले नेतृत्व चयनमा सहमतिकै प्रयास जारी रहेको र केही पदमा चुनावको सम्भावना रहेको बताए । ‘सहमतिबाट नै पार्टीको नेतृत्व चयन गर्न सम्भव छ । सकेसम्म सहमतिमा नै पार्टीको नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ, सहमति भएन भने केही पदमा निर्वाचन हुन सक्छ,’ बिहीबार नै चितवन आएका थापाले विमानस्थलमा पत्रकारहरूसँग भने । उनले आफ्नो उम्मेदवारीको टुंगो नलागेको र सहमतिको पर्खाइमा रहेको बताए ।

सर्वसम्मत असम्भव नभए पनि नेताहरूले भनेजस्तै सहज देखिएको छैन । पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीको संख्या धेरै र आफ्नै समूहभित्रबाट एउटै पदमा दुई वा त्यसभन्दा बढी नेताहरूको दाबी रहेका बेला दसबुँदे सहमति गर्दै एमालेमा बसेका र पूर्वमाओवादी समूहको पनि मनोविज्ञान समेट्नुपर्ने बाध्यता अध्यक्ष ओलीलाई छ । त्यसैले उनी आफैं पनि चुनाव वा सर्वसम्मत भन्ने अलमलमै छन् । शीर्ष नेतृत्वले चुनाव वा सर्वसम्मतमध्ये कुन विकल्पलाई अगाडि सार्छ भन्ने स्पष्ट नहुँदा प्रतिनिधि र केन्द्रीय सदस्यहरूमा पनि अन्योल देखिएको छ ।

महासचिव पोखरेलले प्रकट भएका विभिन्न आकांक्षालाई सुझबुझपूर्ण ढंगले व्यवस्थापन गर्ने आफूहरूसँग सामर्थ्य रहेको दाबी गरे । उनले बिहीबार अध्यक्ष ओलीसँग सरसल्लाहबाट जिम्मेवारी लिने विषयमा कुराकानी भएको बताए । ‘सरसल्लाहबाट जे हुन्छ त्यही कुराको जिम्मेवारी लिनुपर्छ भन्नेमा हाम्रो मोटामोटी सल्लाह भएको छ । भोलि केन्द्रीय कमिटीको बैठकमा छलफल गर्छौं, त्यसपछि टुंगिन्छ,’ उनले भने, ‘म महासचिव हुन्नँ, यो प्रस्ट छ । धेरै ठाउँका साथीहरूको भावना म वरिष्ठ उपाध्यक्ष उठ्नुपर्छ भन्ने छ । उहाँहरूले मलाई पनि र अध्यक्षलाई यो कुरा भन्नुभएको छ, मैले सुनेको छु ।’

महाधिवेशनले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव गरी १५ पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । यसका लागि सर्वसम्मत वा निर्वाचन के हुन्छ भन्ने अन्योलका बीच एमालेको निर्वाचन आयोगले चुनावी प्रक्रिया अगाडि बढाएको छ । शनिबार निर्वाचन प्रक्रिया थाल्ने तयारी छ । १२ गते बिहान ८ बजे मतदान सुरु हुनेछ । सयवटा इलेक्ट्रोनिक भोटिङ मेसिनमध्ये ८ वटा जगेडा राखेर ९२ वटामा मतदान गराइने आयोग प्रमुख विजय सुब्बाले बताए । त्यस दिन साँझसम्म मतपरिणाम सार्वजनिक गर्ने कार्यतालिका छ । उनका अनुसार एक जना मतदातालाई मतदान गर्न करिब आधा घण्टा लाग्ने छ । १० देखि १२ घण्टामा मतदान सकिने र कानुनी प्रक्रिया पूरा गरेर चार घण्टाभित्रै मतपरिणाम आउने सुब्बाले बताए । ‘पदाधिकारीमा सहमति जुट्न नि सक्छ । प्रचारप्रसार हेर्दा केन्द्रीय कमिटीमा सहमति जुट्दैन कि जस्तो देखिन्छ । तयारी सबै पदका लागि भएको छ,’ उनले भने ।

मतदानमा भूगोल, जनसंगठन, विभाग, सम्पर्क कमिटी र प्रवास कमिटीका समेत गरी २ हजार १ सय ७५ प्रतिनिधि सहभागी हुनेछन् । महिला प्रतिनिधि ६ सय २७ जना छन् । दलित उत्पीडित क्षेत्रबाट २ सय ९ जना प्रतिनिधि छन् । ११ गते बिहान ८ बजे बन्दसत्र सुरु हुनेछ । बन्दसत्र सञ्चालनका लागि ओलीको अध्यक्षतामा ११ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । अध्यक्ष मण्डलमा उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्यहरू सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा र केन्द्रीय सदस्य लालबाबु पण्डित र गोमा देवकोटा छन् । सचिव पृथ्वीसुब्बा गुरुङसहितको माइन्युट कमिटीमा केन्द्रीय सदस्यहरू विष्णु रिजाल, सूर्य थापा, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह छन् ।

प्रकाशित : मंसिर १०, २०७८ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?