खेतीकिसानीको मर्म बुझौं, एमाले गण- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेतीकिसानीको मर्म बुझौं, एमाले गण

किसानकै योगदान र लगानीमा जवान भएको एमाले किसानले नै गौरव गर्ने खालको बन्न सकेन भन्नुपर्दा यहाँहरूलाई अलि खल्लो लाग्ला, तर यथार्थ यही हो ।
कृष्णप्रसाद पौडेल

सम्पूर्ण एमाले गण 
अभिवादन !
सबभन्दा पहिले यहाँहरूको उत्सवमय दसौं महाधिवेशन सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना गर्छु । यो उत्सवमा पाल्नुभएका प्रतिनिधिहरूले विवेकपूर्ण निर्णय लिएर हाम्रो उन्नतिमा यस पार्टीको योगदान अझ सशक्त बनाउने प्रतिबद्ध नेतृत्व छनोट गर्नुहुनेछ भन्ने अपेक्षासमेत राखेको छु ।

म सम्मेलनस्थल नारायणगढमै हुर्केको, नजिकैको रामपुर क्याम्पसमा कृषि पढेको विद्यार्थी हुँ । संयोगले यो सम्मेलनको झन्डा बोक्ने दुईखुट्टे गैंडा (क्षमा गर्नुहोला, गैंडा दुईखुट्टे हुँदैन) जोगाउन भन्दै यही नारायणी किनारमा बसोबास गर्ने; यहीँको वनपाखाको वनजन्य खानेकुरा खाने; नदीजन्य उपज अनि किसान र अन्य समुदायलाई नदी वारपार गराएबापत पाउने ज्यालाबाट गुजारा चलाउने मुसहर, बोटे समुदायलाई उनीहरूको पुख्र्यौली हकबाट विस्थापित गर्ने विकासे नमुनाको प्रत्यक्षदर्शी हुँ । साथै केही वर्ष म उनीहरूको हक जोगाउन सघाउने एउटा विकासे कार्यकर्तासमेत भएको थिएँ । त्यसैले यो नदी किनारको सम्झना गर्दा गैंडा, नदी किनारको सेल्फी, पानीजहाज र पर्यटनको मात्र चर्चा गर्न सक्दिनँ । समय र सन्दर्भको फेरसँगै आफैं हुर्केको ठाउँमा यहाँहरूको उत्सव हेरेर रमाउन र यहाँहरूसँग अनौपचारिक भलाकुसारी गर्न त्यता आउने मेसो मिलाउन सकिनँ । तसर्थ यो सानो खुलापत्र लेखेको छु । झर्को नमानी पढिदिनुहोला । सँगै, यहाँहरूलाई सान्दर्भिक लागेमा साथी एमाले र आफन्तसँग समेत यसबारे चर्चा र चिन्तन–मनन गर्नुहुने नै छ ।

यहाँहरूलाई विदितै छ, लामो समयदेखि विकासको मूल फुटाउने; नेपाललाई एसियाली मापदण्डमा पुर्‍याउने, सिंगापुर र स्विटजरल्यान्ड बनाउने धाक लाए पनि हाम्रो समाजले अपेक्षित उन्नति गर्न सकेन । यो सबै देखेर आजित नेपालीले व्यवस्था फेर्न मात्र सघाएनन्, यहाँहरूसहितको समाजवादी खेमालाई दुईतिहाइ हाराहारीको जनमत दिएर शासन गर्ने अभिमतसमेत दिए । यति हुँदाहुँदै पनि हामी सबैले अपेक्षा गरेको समृद्धि–यात्रा तय हुन सकेन । यसो हुनुमा अनगिन्ती आन्तरिक तथा बाह्य कारणहरूसमेत छन् । तिनका बारेमा समय सन्दर्भमा फेरि पनि चर्चा गरौंला । अहिले भने हामी सबैले बिर्सेको हावा र पानीपछि नभइनहुने जीवन–ऊर्जाको स्रोत खानाका लागि खेतीपातीको मर्मपट्टि यहाँहरूको ध्यानाकर्षण गराउँछु ।

हाम्रो जीवन–ऊर्जाको मुख्य आधार कृषि क्षेत्र उन्नत बनाउन नसक्दा यसले खुट्टाले टेकेर उभिनसम्म सकेको छैन । यो निरन्तर घिस्रिँदै ओरालो लाग्ने क्रममा छ । परिणामस्वरूप युवा किसान खेतीकर्म छोडेर रोजगारी र आम्दानीको खोजीमा भारत तथा खाडी मुलुकमा जान बाध्य छन् । यसले निम्त्याएको ग्रामीण समुदायको महिलाकरण, सहरी बसाइँसराइ, खेतीकर्मका लागि श्रम अभाव, बाँझो जमिन र अन्य समस्याको चक्रीय प्रभावमा किसानले भोग्नुपरेका पीडाबारे यहाँहरूमध्ये धेरै जना भुक्तभोगी र कतिपय त जानकार नै हुनुहुन्छ ।

आयातित कृषि प्रणालीसँगै भित्र्याइएका कृत्रिम रसायन, विषादी, खनिज ऊर्जा र प्रकृतिदोहनका कारण निरन्तर विघटित पर्यावरण, प्रदूषित हावापानी र वातावरणले हाम्रो जीवन नै संकटग्रस्त पार्दै लगेको छ । यसले गर्दा दिन–प्रतिदिन सामान्य मानिसको जीवन असामान्य बन्दै गइरहेको छ । दुई वर्षयता हामी कोरोना भाइरसबाट आतंकित छौं । छ वर्षअघिको भूकम्प र कोरोनासृजित संकटको सामना गर्दा हामीले खाना र खेतीपातीको महत्त्वबोध गरेका थियौं । सबैको साझा संकल्प र सहकार्यमा धैर्यपूर्वक यिनको सामना गरेर केही तंग्रिए पनि धेरै सवाल नारायणीमा फालिएका प्लास्टिकका बोतलहरूजस्तै सतहमा आए र कतिपयको असर अहिलेसम्म भोगिरहेका छौं ।

अर्को कुरा, अहिले खेती, खाना र जलवायु संकट संसारभरि चुलिँदै गएको छ । यिनैसँग जोडिएका नसर्ने दीर्घरोगहरूका कारण मानव स्वास्थ्य नै संकटग्रस्त छ भने, माटो र समग्र प्रकृतिको स्वास्थ्य अकल्पनीय रूपमा बिग्रेको छ । यिनै विषयबारे विश्वव्यापी चर्चा र सुधारका प्रयास भइरहेको हामी सबैले थाहा पाएकै छौं । जलवायु परिवर्तनको प्रभावजस्तो नखाएको विषले असर गरेका हामीजस्ता अर्बौं मानिसको जीवन थप कष्टकर बन्दै गएको छ । जलवायु र प्रकृतिमा आएको यो फेरबदलको नमुना तपाईं–हामीले मनाङदेखि मेलम्ची हुँदै तराईका तटीय क्षेत्रहरूमा देखे–भोगेका छौं । गत महिनाको वर्षाले धान बाली डुबाउनुका साथै आम मानिसको जीवनमा ल्याएको वितण्डाको त्रासदी अझै बिर्सन सकिएको छैन । यसरी वर्षैभरि अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, डुबानले आम नेपालीको जीविकाको मुख्य आधार तहसनहस पार्दै लगेको छ । एक छिन सोचौं त, यसपालि एक्कासि पानी परेजस्तै आउँदो साल खडेरी पर्‍यो भने हाम्रो जीवन के होला ?

यसरी मानिस, माटो र पर्यावरणमा बाह्य ऊर्जा, स्रोत, कृत्रिम रसायन र प्रविधिमा आधारित कृषि प्रणालीका धेरै जटिलता क्रमश: देखा परिरहेका छन् । यसले गर्दा मुख्यत: मानिसमा शारीरिक–मानसिक समस्या र नसर्ने दीर्घरोगहरू निरन्तर बढिरहेका छन् । जलवायु परिवर्तनको प्रभाव, घट्दो उत्पादकत्व र उत्पादनको विविधताले खाद्य तथा पोषण असुरक्षा; माटो, हावा र पानीजस्ता जीवनका आधारभूत स्रोत विषाक्त हुने क्रम तीव्र छ ।

यी विश्वव्यापि समस्यासँगै हाम्रो नेपालको भौगोलिक, पर्यावरणीय, सामाजिक र सांस्कृतिक विशेषतामा अहिले अपनाएको कृषि प्रणालीका कारण थप चुनौतीहरू देखिएका छन् । सँगै, समथर मैदानी विशेषतायुक्त यो कृषि प्रणाली हाम्रो विविधतायुक्त भूगोल र पर्यावरणमा उपयुक्त र उत्पादनशील देखिएको पनि छैन । यस्तो प्रणालीको रूपान्तरण गरी आम नागरिकका लागि पर्याप्त पोषिलो खाना, यसको दिगो उत्पादन र न्यायोचित वितरण, खेती प्रणालीमा देखिएका पर्यावरणीय तथा जलवायुका जटिलता र मानव, हावा, पानी र माटोको स्वास्थ्यका क्षेत्रमा देखिएका विकराल समस्याहरूको सम्बोधन गर्न सक्षम उपयुक्त कृषि प्रणालीको ढाँचा निर्माण र त्यसको प्रभावकारी सञ्चालन अपरिहार्य भएको छ । संक्रमणकालीनका साथै दीर्घकालीन योजना बनाउँदै अघि बढ्न आवश्यक संस्थागत पहल अनिवार्य भएको छ ।

यसका लागि विविधता, बहुलता, एकीकृत र मिश्रित खेती प्रणालीमा जोड दिँदै कृषि उत्पादनका लागि स्थानीय विशेषताका आधारमा स्थानीय स्रोत परिचालनको सोच बनाउनुपर्नेछ । यसले दिगो कृषिका मापदण्डभित्र रही भू–उपयोग, जलवायु परिवर्तन, जैविक विविधता, भू–राजनीतिक परिस्थिति, किसान पहिचान, खाद्य संस्कृति, खाद्य तथा पोषण सुरक्षा, रोजगारी सृजना, आयात प्रतिस्थापनजस्ता पर्यावरणीय, सामाजिक र आर्थिक आयामहरूको लेखाजोखा गर्नेछ । र, खाद्य सम्प्रभुताको सुनिश्चितता गर्दै खाद्यका लागि कृषि र तुलनात्मक लाभका कृषिउपजको व्यावसायिक उत्पादन बढाउन आवश्यक अध्ययन, अनुसन्धान, जनशक्ति निर्माण र प्रसार सेवालाई प्रभावकारी बनाउनमा जोड दिनेछ ।

विडम्बना, अहिलेसम्म हामीले मुलुकको नेतृत्व गर्ने राजनीतिक पार्टी र यसका मुख्य सरोकारवालालाई कृषिक्षेत्र आफैंमा मौलिक, बृहत् र विस्तृत क्षेत्र हो भन्ने आत्मबोधसम्म गराउन सकका छैनौं । हामीले खेती, खाना र यसको जोहो गर्ने किसानका सवाललाई राजनीतीकरण गर्न नसकेकाले यस्तो भएको हो । किसानकै योगदान र लगानीमा जवान भएको यो पार्टी किसानले नै गौरव गर्ने खालको बन्न सकेन भन्नुपर्दा यहाँहरूलाई अलि खल्लो लाग्ला तर यथार्थ यही हो ।

यहाँहरूको भावी नेतृत्वलाई हामीले भोग्दै गरेको कृषि तथा खाद्य क्षेत्रको गहिरो संकटप्रति संवेदनशील हुन र विवेकसम्मत नीति र रणनीतिक योजना अघि सार्न सम्झाउने बेला भएको छ । सँगै, आधुनिकीकरण, विशिष्टीकरण र व्यवसायीकरणको रट मात्र लगाएर नेपालको कृषिलाई कागजमा त दुरुस्त राख्न सकिएला, तर भरपेट खानसम्म बिदेसिन बाध्य किसानहरूलाई केवल नाफा कमाउन गरिने यस्तो व्यापारिक हरित क्रान्ति कृषि विकल्पका रूपमा प्रस्तुत गरेर झनै निराश बनाउने काम गर्न हुन्न । नत्र नेपालको विविधतायुक्त बृहत् कृषि क्षेत्रको विशाल सम्भावनालाई कृत्रिम रसायन र विषादीको साँघुरो बाटो हिँडाएर मानव तथा माटोको स्वास्थ्यमा खेलबाड गर्दै बिचौलिया दलाल र ठूला व्यापारी मात्र पोसिरहनेछौं ।

अन्त्यमा, नेपालको खेती र खानाका यस्ता सवाल अनगिन्ती छन्, जसबारे यो छोटो पत्रमा विस्तृत चर्चा गर्न सम्भव भएन । अहिलेलाई, नारायणघाटको उत्सव हेरेर फर्किंदा वा दिनभरि यसको चर्चा गरेर थाक्दा सबैभन्दा पहिले तपाईं–हामीले नचाहेर पनि सम्झिने खानेकुराको जोहोको महत्त्व कति छ, मनन गर्नुहोला । यसले तपाईं–हाम्रो जीवनको मात्र उन्नति–यात्रा तय गर्दैन, भविष्यका सन्ततिको बाँच्ने अधिकारको रक्षा गर्ने बाटोसमेत देखाउँछ ।

जाँदाजाँदै, यहाँहरूले लगाएका मास्क र खाजा–पानी खाएका प्लास्टिक सरसामान जथाभावी नफाल्नुहोला । राम्रो स्वास्थ्यका लागि सकेसम्म पत्रु खानासमेत नखानुहोला । बाँकी यहाँहरूकै मर्जी !

पौडेल खानाका लागि खेतीपाती अभियानकर्ता हुन् ।

प्रकाशित : मंसिर ९, २०७८ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्

अदालतबाट जरिवना ठहर भएका गुरुङ पक्राउ

रासस

काठमाडौँ — नेपाल प्रहरीले अदालतबाट २० लाख रुपैयाँ जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २० लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका तनहुँ भानु नगरपालिका–१३ की शोभा गुरुङलाई बिहीबार पक्राउ गरेको हो । 

ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको २०७७ असार १ गतेको फैसलापछि चार दिन कैद र बिगो बमोजिम २० लाख जरिवाना ठहर गरेपछि फरार रहेकी गुरुङलाई बिहीबार ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकी गुरुङले आफ्नो एनआईसी एशिया बैँक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेकी थिइन् ।

उच्च अदालतले गुरुङलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । गुरुङलाई आजै जिल्ला अदालत ललितपुर पेस गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।


प्रकाशित : मंसिर ९, २०७८ २१:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×