कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

एमाले महाधिवेशन उद्घाटन आज, तीन ठाउँबाट मुख्य र्‍याली निस्कने

रमेशकुमार पौडेल

चितवन — नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनको आज शुक्रबार मध्यान्ह नारायणगढ नारायणी नदी किनारमा उद्घाटन हुँदैछ । उद्घाटनअघि विभिन्न ठाउँबाट र्‍याली निस्कने छ । चितवन एमाले अध्यक्ष पार्वती रावलका अनुसार भरतपुरका सात ठाउँमा नेता कार्यकता भेला हुने छन् । त्यसपछि मुख्य तीन ठाउँबाट र्‍याली निस्कने छ ।

एमाले महाधिवेशन उद्घाटन आज, तीन ठाउँबाट मुख्य र्‍याली निस्कने

‘पूर्वी क्षेत्रका लागि भरतपुरको केन्द्रीय बसपार्कबाट र्‍याली निस्कने छ । पश्चिम क्षेत्रका लागि नवलपुर गैंडाकोटमा भेला भएर र्‍याली अगाडि बढ्ने छ । त्यसैगरी मुग्लिन तर्फबाट आउनेहरुका लागि आँपटारीमा भेला भएर र्‍याली अगाडि बढेर उद्घाटन स्थलमा आउने छ,’ अध्यक्ष रावलले भनिन् । भरतपुरका अन्य मुख्य चोकहरुबाट निस्कने र्‍याली बसपार्कबाट आउने र्‍यालीमा मिसिँदै अगाडि बढ्ने उनले जानकारी दिइन् ।

एमालेले उद्घाटन समारोहमा पाँच लाखलाई सहभागी गराउने दाबी गर्दै आएको छ । महाधिवेशन उद्घाटनका लागि नारायणी नदीको किनारलाई आमसभास्थल तय गरेर भव्य मञ्च निर्माण गरेको छ । आमसभा स्थलमा सबै नअटाउने भएका कारण बाहिर बसेर पनि भाषण सुन्नका लागि ठाउँ ठाउँमा डिजिटल डिस्प्ले बोर्डहरु राखिने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनमा कुल दुई हजार १७५ जना प्रतिनिधि बन्दसत्रमा सहभागी हुने छन् । बन्दसत्र सौराहामा हुँदैछ । उद्घाटनसत्रमा सहभागी हुनेहरुका कारण चितवनको राजमार्ग क्षेत्र र सडकमा भिडभाड बढ्ने भएको हुँदा व्यवस्थापनका लागि जिल्ला सुरक्षा समितिले यातायात सञ्चालन सम्बन्धित विभिन्न निर्णयहरु गरेको छ ।

मुख्य सडकहरुमा बिहान नौ बजेपछि साँझ पाँच बजेसम्म अत्यावश्यक सेवाबाहेकका गाडीहरु आउन पाउने छैनन् । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले उद्घाटन कार्यक्रमका दिन राजमार्ग क्षेत्रमा ठूला मालवाहक ट्रकबाहेक अरु गाडी रोक्नलाई अनुरोध नगरेको बताए ।

प्रकाशित : मंसिर १०, २०७८ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?