कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१
एमाले महाधिवेशन

यसरी चाप व्यवस्थापन गर्दै छ चितवन

उद्घाटनका दिन बिहान ९ देखि ५ बजेसम्म– पूर्वबाट आउने गाडी भरतपुर केन्द्रीय बसपार्क क्षेत्रमा रोकिने, पश्चिमबाट आउने गाडीले नारायणी पुल तर्न नपाउने मुग्लिन हुँदै काठमाडौं, पोखराबाट आएका गाडी आँपटारीमा रोकिने, पश्चिम चितवनबाट आउने गाडी भरतपुरको त्रिचोक, बेलचोक र बाह्रघरे क्षेत्रमा रोकिने 
सहभागी दुईदेखि चार किलोमिटरसम्म हिँडेर उद्घाटन स्थल नारायणी किनार पुग्नुपर्ने 
उद्घाटन स्थलसम्म जान नपाउनेका लागि ठाउँ–ठाउँमा डिजिटल डिस्प्ले बोर्ड राखिने 
रमेशकुमार पौडेल

चितवन — एक महिनाअघि छठ पर्वका अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ दिन नारायणगढस्थित नारायणी किनारमा केही हजार श्रद्धालु भेला हुँदा नारायणगढ बजारको मुख्य सडकमा गाडी जाम भएको थियो । त्यही किनारमा शुक्रबार एमालेले १० औं महाधिवेशनको उद्घाटन कार्यक्रम राखेको छ, कार्यक्रममा पाँच लाख मानिस उतार्ने दाबी गरिएको छ ।

यसरी चाप व्यवस्थापन गर्दै छ चितवन

कार्यक्रम आयोजनास्थलबाटै पूर्वपश्चिम राजमार्ग गएको छ । राजधानी काठमाडौंलाई देशको पूर्व र पश्चिम भेगसँग जोड्ने नारायणगढ–मुग्लिन सडक पनि नारायणी हुँदै अगाडि बढेको छ । यसै पनि गाडीको बाक्लो ओहोरदोहोर हुने नारायणगढमै लाखौं मानिस जुटाएर कार्यक्रम गर्दा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण हुने भएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले भीड व्यवस्थापन चुनौतीपूर्ण भएकैले आइतबार जिल्ला सुरक्षा समितिको बैठक बसेर विभिन्न निर्णय गरिएको जानकारी दिए । उनका अनुसार शुक्रबार नारायणगढ–भरतपुर क्षेत्रका राजमार्ग र अन्य मुख्य सहरी मार्गमा गाडी चल्ने छैनन् । ‘बिहान ९ बजेदेखि साँझ साढे ५ बजेसम्म गाडी रोकेर सडकमा मान्छे मात्रै हिँडाउने व्यवस्था मिलाइनेछ,’ प्रजिअ तामाङले भने, ‘पूर्वबाट आउने गाडीहरू भरतपुर केन्द्रीय बसपार्क क्षेत्रमा रोकिनेछन् । पश्चिमबाट आउने गाडीहरूले नारायणी पुल तर्न पाउने छैनन्, गैंडाकोटमै रोकिनेछन् ।’

मुग्लिन हुँदै काठमाडौं, पोखराबाट आएका गाडी बजारभन्दा पर आँपटारीमा रोकिनेछन् । पश्चिम चितवनबाट आउने गाडीहरू भरतपुरको त्रिचोक, बेलचोक र बाह्रघरे क्षेत्रमा रोकिने व्यवस्था मिलाइँदै छ । उद्घाटन कार्यक्रमका सहभागी बोकेर आएका गाडी नै ती ठाउँसम्म मात्रै आउनेछन् । सहभागी दुईदेखि चार किलोमिटरसम्म हिँडेर उद्घाटनस्थल नारायणी किनार पुग्नुपर्ने हुन्छ । महाधिवेशनमा आउनेहरूलाई बोकेका गाडी नै चल्न नपाउने भएपछि अन्य बस, ट्रक र निजी गाडी पनि चल्न पाउने छैनन् ।

चितवन हुँदै भरतपुर नारायणगढ पार गरेर देशको पूर्वी तथा पश्चिम क्षेत्र र काठमाडौं–पोखरा जान हिँडेकाहरू त्यो दिन ९ बजेपछि बाटोमै रोकिनुपर्ने हुन सक्छ । ‘गाडी राख्न हामीले १३ ठाउँ रोजेका छौं । भरतपुर गोन्द्राङ सडक किनारमा पनि पार्किङ हुन सक्छ,’ प्रजिअ तामाङले भने । गोन्द्राङदेखि दक्षिण २० हजार ताल जाने बाटोको जंगल क्षेत्र र देवघाटमा पनि गाडी पार्क गर्ने योजना बनाइएको उनले बताए । देवघाट रामनगर क्षेत्रमा पनि गाडी राखिनेछ । गैंडाकोटमा नारायणी किनारभरि गाडी राखिनेछ । शनिबारदेखि सौराहामा बन्दसत्र हुनेछ । बन्दसत्रमा आएका लगभग दुई हजार प्रतिनिधिलाई शुक्रबार साँझ नै नारायणगढबाट लैजान क्याम्पाचौरमा गाडीहरू राखिनेछन् ।

ठाउँ–ठाउँमा डिजिटल डिस्प्ले बोर्ड

उद्घाटन कार्यक्रमका दिन बजार क्षेत्रमा अत्यावश्यक सेवाका गाडी पनि सञ्चालन गर्न कठिनाइ पर्न सक्ने सरकारी अधिकारीहरूको आकलन छ । ‘पुलबाट मान्छे मात्रै आए नवलपुरबाट कम्तीमा एम्बुलेन्ससम्म भरतपुरतर्फ ल्याउन सकिएला कि !’ प्रजिअ तामाङले भने ।

विगतमा चितवन महोत्सव आयोजना हुँदा दिनभरमा ७०/८० हजार हाराहारी दर्शक आउँदा नै बजार अस्तव्यस्त हुन्थ्यो । त्यसैले गाडी पनि आउने र मान्छे पनि थुप्रिने भए चितवन र नवलपुर क्षेत्रसम्म अस्तव्यस्त हुन सक्छ । छिमेकी जिल्लामा गाडी रोक्न र समय मिलाएर छाड्न परिपत्र गरिएको प्रजिअ तामाङले जानकारी दिए । ‘भीडको अवस्था हेरेर योजना हेरफेर हुन सक्छ,’ उनले भने ।

गाडी चल्न नपाउने र भीडका कारण उद्घाटन स्थलसम्म जान नपाउनेलाई कार्यक्रमका अतिथिको भाषण सुनाउन ठाउँठाउँमा डिजिटल डिस्प्ले बोर्ड राख्ने योजना एमालेले बनाएको छ । एमाले चितवन जिल्ला समितिका अध्यक्ष पार्वती रावलले बजार क्षेत्र, गैंडाकोट र मेसो मिलेसम्म सौराहामा पनि डिस्प्ले बोर्ड राख्ने जानकारी दिइन् । एमाले महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू र विदेशी पाहुना आउन सक्ने भएकाले स्थानीय प्रशासनले त्यहीअनुसारको सुरक्षा व्यवस्था र रणनीति अपनाएको छ । बसेको ठाउँ/होटलदेखि कार्यक्रम स्थलसम्म ल्याउने, पुर्‍याउने रुटहरू निर्धारण भइसकेको रावलले बताइन् ।

सुरक्षामा १२ सय प्रहरी, पार्टीका पाँच हजार स्वयंसेवक

चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारीका अनुसार महाधिवेशनमा नेपाल प्रहरीका ८ सय २१ र सशस्त्र प्रहरी बलका ४ सय ४९ जना गरेर एक हजार २ सय ७० सुरक्षाकर्मी खटाइँदै छ । नेपाल प्रहरीका १ सय ६२ जना चितवनमै कार्यरत हुन् भने बाँकी प्रहरी बाहिरबाट आउनेछन् । ‘महाधिवेशनको उद्घाटन कार्यक्रममा अलि बढी खट्छन् । बन्दसत्रमा धेरै प्रहरी आवश्यक नहोला,’ एसपी अधिकारीले भने । सुरक्षा अवस्था विचार गरेर संख्या थपघट हुने उनले बताए । सौराहामा होटलभित्र बन्दसत्र हुने भएका कारण ठूलो संख्यामा प्रहरी परिचालन गर्नु नपर्ने उनको अनुमान छ । सडकमा थप १ सय ९६ जना ट्राफिक प्रहरी परिचालन हुने एसपी अधिकारीले बताए । ४० जनाबाहेक ट्राफिक प्रहरी चितवन बाहिरबाट आएका हुन् ।

एमाले चितवन अध्यक्ष रावलले उद्घाटन सत्रमा पार्टीका पाँच हजार स्वयंसेवक खटिने जानकारी दिइन् । उनीहरू रातो टोपी लगाएर कार्यक्रममा सहभागी हुनेछन् । बन्दसत्रमा पार्टीका तीन सय जना स्वयंसेवक परिचालन हुने उनको भनाइ छ । उनीहरू खुला कार्यक्रमका स्वयंसेवकभन्दा अलि विशेष प्रशिक्षण लिएकाहरू हुनेछन् । सहभागीलाई गाडीमा ल्याउने, पुर्‍याउने जिम्मेवारी पनि स्वयंसेवकको हुनेछ । जनसभा यातायात व्यवस्थापन उपसमितिका संयोजक रहेका एमाले चितवनका नेता कृष्ण भुर्तेल उद्घाटन कार्यक्रमका सहभागी बोकेका गाडीमा स्वयंसेवक पनि हुने बताउँछन् । ‘उनीहरूले आफू चढेर आएको बसका मान्छेलाई कार्यक्रम स्थलसम्म पुर्‍याउने, कार्यक्रमपछि बस राखेको पार्किङ स्थलमा समयमै लैजाने र बिहान बस चढेको ठाउँमा पुर्‍याउने जिम्मेवारी पूरा गर्नुपर्नेछ,’ नेता भुर्तेलले भने ।

महाधिवेशनमा आएका प्रतिनिधिहरू सौराहामा नै बस्नेछन् । सौराहाका होटलमा ६ हजार ५ सय जना अटाउँछन् । एमालेले प्रतिनिधि र अन्य अतिथिलाई राख्न ३ हजार ५ सय बेड अग्रिम बुकिङ गरेको छ । यसबाहेक पनि व्यक्तिगत तवरमा महाधिवेशनमा आउनेहरूले सबै कोठा बुक गरेका कारण सौराहामा महाधिवेशनभर अन्य कार्यक्रम गर्न नसकिने र पाहुना राख्ने कोठा पनि नभएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए । निर्धारित कार्यक्रमअनुसार शनिबार बन्दसत्र र आइतबार नेतृत्व चयनका लागि मतदान हुनेछ ।

प्रकाशित : मंसिर ८, २०७८ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?