ओलीको रणनीति : भन्ने प्रतिस्पर्धा, गर्ने सर्वसम्मत प्रयास

दसबुँदे सहमति पक्षधर र पूर्वमाओवादी नेतामाथि सहमतिका लागि मनोवैज्ञानिक दबाब
पदाधिकारी चयनका लागि चुनाव भए दसबुँदे सहमति गरेर एमालेमै बसेका नेता र पूर्वमाओवादी समूह संकटमा पर्नेछन्
बबिता शर्मा

काठमाडौँ — महाधिवेशनमा आफूअनुकूल केन्द्रीय नेतृत्व चयन गर्ने सुविधाजनक अवस्थामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति वा चुनाव दुवै विकल्पका लागि तयार रहेको सन्देश दिएर पार्टीभित्रको अल्पमत पक्षलाई मनोवैज्ञानिक दबाब दिन खोजेका छन् ।

ओलीको रणनीति : भन्ने प्रतिस्पर्धा, गर्ने सर्वसम्मत प्रयास

शक्ति सन्तुलन मिलाएर सर्वसम्मत रूपमा १५ सदस्यीय पदाधिकारी चयन गर्ने चुनौतीका माझ उपाध्यक्ष भीम रावलले अध्यक्षमा उठ्ने घोषणा गरेको पर्सिपल्ट मंगलबार ओलीले चुनाव पनि हुन सक्ने बताएका हुन् । पदाधिकारी चयनका लागि चुनाव भए दसबुँदे सहमति गरेर एमालेमै बसेका नेता र पूर्वमाओवादी समूहलाई संकटमा पार्नेछ ।

महाधिवेशन प्रतिनिधि चयनमा सर्वसम्मतिका लागि निर्देशनात्मक आग्रह गरेका ओलीले मंगलबार स्थायी कमिटी बैठक केहीबेर रोकेर सम्पादक तथा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्ने क्रममा सहमतिका लागि आग्रहसमेत नगर्ने बताए । ‘साथीहरू बिनाकरकाप सहमतिमा जानुहुन्छ भने सबै ठाउँमा सहमति गरे हुन्छ । तर लोकतान्त्रिक अभ्यासलाई मेरो कारणले कुनै प्रकारको दबाब पुग्ने काम गर्दिनँ । मैले आग्रहमात्र गर्दा पनि दबाब पुग्न सक्छ, त्यसकारण घुमाइफिराइ कुनै पनि हिसाबले सहमतिका लागि दबाब दिँदिनँ,’ उनले भने, ‘साथीहरूले आफ्नो अधिकारको उपभोग उच्चस्तरमा गरुन् ।’ तर उनी अझै निर्विरोध र शक्तिशाली अध्यक्ष बन्ने मनस्थितिमा रहेको निकटस्थ नेताहरू बताउँछन् ।

ओलीले देशैभर महाधिवेशन प्रतिनिधि छान्ने दिन कात्तिक २७ गते बिहान सम्बोधन गर्ने क्रममा भने सर्वसम्मतिलाई जोड दिएका थिए । ‘लोकतान्त्रिक अभ्यास भनेको जिम्मेवारी बोध र अनुशासनसहितको अभ्यास हो र प्रतिस्पर्धामात्रै होइन, समझदारी, अझ उन्नतस्तरको समझदारी र सहमति लोकतन्त्रको उच्चस्तरीय अभ्यास हो,’ उनले भनेका थिए, ‘दलभित्र आपसी समझदारी सुदृढ एकताको आधार हो, तसर्थ, म सम्पूर्ण पार्टी सदस्यलाई उच्च समझदारीका साथ आसन्न दसौं राष्ट्रिय महाधिवेशनका लागि आ–आफ्ना प्रतिनिधि छनोट गर्न हार्दिक आह्वान गर्छु ।’ ओलीको यही सन्देशअनुसार अधिकांश प्रतिनिधि सर्वसम्मत भए । त्यसअगाडि विशिष्ट परिस्थतिमा पार्टी एकताको सन्देश दिन भन्दै अधिकांश वडा र पालिकामा पनि एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको थियो ।

मंगलबारको कार्यक्रममा ओलीअघि बोलेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने देशभरबाट ९५ प्रतिशत महाधिवेशन प्रतिनिधि सर्वसम्मतिले चयन भएको र त्यसको संकेत राष्ट्रिय महाधिवेशनमा पनि नेतृत्व चयन सर्वसम्मतिको दिशामा जाने बताएका थिए । ‘स्वयं अध्यक्ष कमरेडले त्यसमा पहल र परामर्श लिइरहनुभएको छ,’ भट्टराईले भनेका थिए । अध्यक्षमा लड्ने औपचारिक घोषणा गरेका उपाध्यक्ष भीम रावल पछि हटेनन् भने ओलीले चुनाव नै सामना गर्नुपर्नेछ । सबै पदमा चुनावी मैदान खुला भए भने ओलीसँग टक्कर लिने नेताहरूलाई पदाधिकारीमा आउन मुस्किल पर्नेछ किनभने महाधिवेशन प्रतिनिधि चयनमा ओलीको वर्चस्व छ ।

रावलले भने आइतबार पत्रकार सम्मेलन गरेर ओलीलाई विगत स्मरण गराउँदै आफू अध्यक्षमा उठ्ने घोषणा गरेका थिए । ‘उहाँ स्वयंले केही समय पहिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा प्रतिस्पर्धा नगर्ने घोषणा गर्नुभएको हो । उहाँको यस्तो कार्य र घोषणाको सम्मानका लागि पनि उमेर र अनुभवलगायत सबै दृष्टिबाट परिपक्व भइसकेकाले मैले केन्द्रीय कमिटीको अध्यक्ष पदका लागि अग्रसर हुनु उचित सम्झेको छु,’ रावलले भनेका थिए । ओलीले रावललाई पनि जवाफ दिएका छन्, ‘कसैले मेरो इच्छा सोध्छ भने मिलेर जानु सबभन्दा राम्रो हो । सहमतिका साथ साथीहरू जानुभयो, ठीक छ । अध्यक्षमा लड्नुहुन्छ, लड्नु हुन्छ । लड्नु हुन्न, सहमति हुन्छ, सबभन्दा राम्रो ।’ ओलीको अभिव्यक्तिले सबै पक्षलाई समेटेर सर्वसम्मत नेतृत्व तयार गर्न सुझाउँदै आएका नेताहरूलाई झस्काएको छ ।

पदाधिकारीमा मात्र होइन, केन्द्रीय सदस्यका लागि पनि आकांक्षीको ठूलो पंक्ति छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले १ हजार जनासम्म केन्द्रीय सदस्यका उम्मेदवार हुने अनुमान गर्दै त्यहीअनुसारको निर्वाचन तयारी गरेको छ । महाधिवेशनबाट १५ पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुनेछ । ओलीलाई आफ्नै समूहका नेतालाई केन्द्रीय कमिटीमा व्यवस्थापन गर्न पनि जटिल छ । केही दिनयता बालकोट पुगेर ओलीलाई व्यक्तिगत र सामूहिक रूपमा भेट्ने नेताहरूले आन्तरिक शक्ति सन्तुलनलाई ध्यान दिँदै सर्वसम्मत गर्न, आवश्यक परे पदाधिकारीका आकांक्षीको व्यवस्थापनका लागि विधान संशोधनको विकल्पमा जान र तल्ला अधिवेशनमा जस्तै एकताको सन्देश दिन सुझाव दिने गरेका छन् । मंगलबार भएको एमाले स्थायी कमिटीको अन्तिम बैठकमा नेता सुवास नेम्वाङले पनि सबैलाई मिलाएर सर्वसम्मतिबाट नेतृत्व टुंग्याउनुपर्नेमा जोड दिएका थिए ।

एमालेले पदाधिकारीका आकांक्षीलाई व्यवस्थापनका लागि विधान संशोधन गर्न सक्छ । विधान महाधिवेशनभन्दा नेतृत्व छनोट गर्ने महाधिवेशन नै सर्वोच्च हो । असोज १५–१७ सम्म भएको विधान अधिवेशनबाट पारित एमालेको राजनीतिक प्रतिवेदनले पार्टी सदस्यलाई नीति र नेतृत्व चयनमा निर्णायक मानेको छ । ‘समाजमा लोकतन्त्रका लागि लड्ने र त्यसको अगुवाइ गर्ने कम्युनिस्ट पार्टीले आफ्नो आन्तरिक जीवनमा पनि उन्नतस्तरको लोकतन्त्र अवलम्बन गर्नुपर्छ । त्यसैले हाम्रो पार्टीलाई आन्तरिक लोकतन्त्र उन्नत भएको पार्टीका रूपमा स्थापित गर्नुपर्छ,’ प्रतिवेदनमा छ, ‘नीति, विधि र नेतृत्व निर्माणमा पार्टी सदस्यको निर्णायक भूमिका र सार्वभौमसत्तालाई प्रत्याभूत गरिनुपर्छ ।’

११ सदस्यीय अध्यक्ष मण्डल गठन

एमालेले १० औं राष्ट्रिय महाधिवेशन सञ्चालनका लागि केपी शर्मा ओलीसहितको ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेको अध्यक्ष मण्डल गठन गरेको हो । महाधिवेशन बन्दसत्र सुरु भएसँगै केन्द्रीय कमिटी विघटन हुन्छ । त्यसलगत्तै महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी अध्यक्ष मण्डलको हुन्छ ।

यस्तै सात सदस्यीय माइन्युट कमिटी गठन गरिएको छ । भट्टराईका अनुसार पृथ्वीसुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली, ज्वालाकुमारी साह रहेको माइन्युट कमिटी पनि गठन गरिएको हो । एमालेले महाधिवेशन प्रतिनिधिको संख्या बढाएको छ । सचिव भट्टराईका अनुसार अब महाधिवेशनमा २ हजार ३ सय २७ जना प्रतिनिधि हुनेछन् । यसअघि १ हजार ९ सय ९९ जना महाधिवेशनमा प्रतिनिधि हुने बताइएको थियो ।

भट्टराईका अनुसार हालसम्म केन्द्रीय कमिटी र केन्द्रीय निकायबाट हुने पदेन प्रतिनिधि २ सय ३८ र निर्वाचित प्रतिनिधि १ हजार ८ सय ८९ जना छन् । महोत्तरी, रौतहट, प्रदेश २ मजदुर प्रतिनिधि र भूतपूर्व सैनिक गरी ६७ जना प्रतिनिधि चयन हुन बाँकी छ । यसबाहेक कुल सदस्यको ५ प्रतिशत अर्थात् १ सय ३ जना मनोनीत प्रतिनिधि हुनेछन् । हालसम्म ६२ महिलासहित १ सय ९५ जना दलित र ५ सय ७६ जना महिला प्रतिनिधि महाधिवेशनमा सहभागी हुने निश्चित भएको छ । भट्टराईका अनुसार मंसिर १० गते महाधिवेशन उद्घाटन भएपछि साँझ केन्द्रीय कमिटी बैठक बस्नेछ । उनका अनुसार ११ गते उम्मेदवारी दर्ता र फिर्ताका प्रक्रिया हुनेछ भने १२ गते बिहान ८ बजेदेखि मतदान हुनेछ ।

प्रकाशित : मंसिर ८, २०७८ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?