केन्द्रमा अब कम्तीमा ७५ महिला  

मंसिर ७, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — संविधान जारी भएपछि पहिलो पटक हुन लागेको एमालेको १०‍औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा एक तिहाइ महिला निर्वाचित हुनेछन् । जसअनुसार २ सय २५ सदस्यीय दसौं केन्द्रीय कमिटीमा कम्तीमा ७५ जना महिलाको प्रतिनिधित्व हुनेछ । एमालेको मौजुदा केन्द्रीय कमिटीमा महिलाको संख्या ३० जना मात्रै रहेको छ ।

अहिले एमालेको केन्द्रीय कमिटीमा १ सय ९६ सदस्यीय छ । पदाधिकारी समावेशी बनाउनका लागि महिलालाई आरक्षणको व्यवस्था गरेको छैन । एमालेले गत कात्तिक १२ गते भएको केन्द्रीय कमिटीको बैठकबाट विभिन्न क्लष्टरहरु छुट्टाएको थियो । भूगोल, समावेशी र खुला गरि ३ समूहमा विभाजन गरेको गरेको थियो । भूगोलतर्फ ४६ जनामा १६ जना, समावेशी ६६ जनामा २१ जना महिला र खुलातर्फ ९८ मध्ये ३३ जना महिला केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन् ।  

एमालेले भूगोलतर्फ ४६ जना निर्वाचित हुँदा १६ जना महिला निर्वाचित हुने व्यवस्था गरेको छ । भूगोलभित्र प्रदेश, उपत्यका विशेष र सम्पर्क कमिटी भनेर तीनवटा समूहमा विभाजन गरेको छ । जसमा भूगोलबाट २ जनाका दरले ७ प्रदेशबाट १४ जना महिला निर्वाचित हुने छन् । त्यसैगरी सम्पर्क मञ्च तथा उपत्यकामा विशेषबाट १-१ जना महिला निर्वाचित हुनेछन् । ७ प्रदेशबाट खुलातर्फ जनही ४ जनाको दरले २८ जना र सम्पर्क मञ्च तथा उपत्यका विशेषबाट १-१ जना गरि ३० जना निर्वाचित हुनेछन् । 

प्रत्येक प्रदेशबाट ४ जना खुला र २ महिला, सम्पर्क मञ्च तथा उपत्यका विशेषबाट एक–एक खुला र महिला निर्वाचित भएका छन् । जसअनुसार प्रदेशबाट ४२ जना र उपत्यका तथा सम्पर्क मञ्चबाट ४ जना गरी ४६ केन्द्रीय सदस्य निर्वाचित हुन्छन् ।

समावेशीतर्फ ६६ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था एमालेले गरेको छ । जसमा जनजातितर्फबाट ७ जना, मधेशीतर्फ ५ जना,  थारुतर्फ २ जना, दलिततर्फ ३ जना मुस्लिमतर्फ १, श्रमिकबाट २ जना पिछडिएको क्षेत्रबाट १ महिला महिला गरी २१ जना महिला निर्वाचित हुनेछन् । 

त्यसैगरी खुलातर्फ ९८ जना मध्ये ३३ सदस्य महिला निर्वाचित हुनेछन् । संविधानले पार्टीका केन्द्रीय समितिहरु समावेशी बनाउनु पर्ने व्यवस्था गरेको छ । त्यसैअनुसार बनेको राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले पनि कुनै पनि कमिटीमा एक तिहाई महिला हुनुपर्ने वाध्यकारी व्यवस्था गरेको छ । तर यसअघि भएको महाधिवेशनहरुमा नगन्य महिला नेताहरुले मात्रै खुलातर्फ प्रतिस्पर्धा गर्ने गरेका थिए । नवौं महाधिवेशनमा विन्दा पाण्डेले पनि खुलातर्फ प्रतिस्पर्धा गरेकी थिइन् । 

तर यसपटक भने एमालेका महिला नेताहरुले पदाधिकारी दाबी गर्ने तयारी रहेका छन् । नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ केन्द्रीय कमिटीमा एक तिहाई महिलाको लागू हुने भएपनि पदाधिकारीमा गाह्रो रहेको बताउँछन् । 

'पदाधिकारीमा ३३ प्रतिशत महिलाको प्रतिनिधत्व यसपटक गाह्रो छ । समावेशी हुन्छ, २-३ जना कति हुनुहुन्छ । तर ट्याक्कै ५ जना हुने कुरा गाह्रो छ' गुरुङले भने 'अर्को पटक भने त्यो मिलाउन सक्छौं । ११ औं महाधिवेशनमा यो ठाउँमा पुग्छौं ।'

गुरुङका अनुसार ८ औं महाधिवेशनमै एमालेले ३३ प्रतिशत महिला प्रतिनिधित्व पुर्याछउन खोज्दा नपुगेको बताए । ' आठौंमा प्रतिनिधि नपाउला जस्तो भयो । त्यस समयमा ८ प्रतिशतको प्रतिनिधित्व थियो' उनले भने 'अहिले धेरै पार्टी सदस्य बढाएका छौं, नवौं महाधिवेशनमा आउदासम्म २० प्रतिशत महिला प्रतिनिधित्व पुग्यो' उनले भने 'अहिले अनेमसंघलाई काम नै त्यही भनेका छौं । महिला ३३ प्रतिशत राख्नै पर्नेभयो , नेतृत्वमा ३३ प्रतिशत राख्नु पर्दा प्रतिनिधित्व र विकास पनि त्यसैअनुरुप हुनुपर्यो ।' 

एमाले महाधिवेशनएमाले

कान्तिपुर

Link copied successfully