एमाले महाधिवेशन : पर्यटन प्रचारको अवसर

पर्यटन व्यवसायी भन्छन् : ‘कोरोनाले शिथिल बनाएका बेला देशभरका मान्छे यहाँ आउँदै छन्, यो हाम्रा लागि अवसर हो’

मंसिर ६, २०७८

रमेशकुमार पौडेल

चितवन — नेकपा एमालेले चितवनमा गर्न लागेको १० औं राष्ट्रिय महाधिवेशनले राजनीतिक क्षेत्र मात्रै नभएर आर्थिक क्षेत्र पनि तरंगित भएको छ । महाधिवेशनका लागि एमालेले तयार गरेको प्रचार सामग्रीमा एकसिंगे गैंडाले कम्युनिस्ट पार्टीको झन्डा बोकेर उभिएको चित्र छ । यसले गैरराजनीतिक व्यक्तिको पनि ध्यान तानेको छ ।

सरकारी सेवाबाट अवकाश पाएका संरक्षणकर्मी रामप्रित यादव चितवन राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकृत भएका थिए । यसअघि राजनीतिक दलले आफ्नो महत्त्वपूर्ण कार्यक्रमको प्रचार सामग्रीमा गैंडालाई प्रयोग गरेको हेक्का उनलाई छैन । ‘गैंडा वा राइनो भनेर अनेकले फोटो, नाम र चित्र प्रयोग गरेको देखिन्छ, त्यसरी प्रयोग गर्दा गैंडाको महत्त्व बढ्छ कि बढ्दैन र संरक्षणमा राम्रो प्रभाव पर्छ कि पर्दैन, त्यो महत्त्वपूर्ण हो,’ उनले भने । 

देशको ठूलो पार्टीले सकारात्मक सोच राखेर प्रचार सामग्रीमा गैंडा राखेको हो भने त्यो राम्रै हुने उनले बताए । ‘लोप हुने अवस्थामा पुगेको गैंडा चितवनको पहिचान हो । गैंडासँगै चितवनको पनि प्रचार भयो । यसैबाट गैंडाकै महत्त्व कतिले बुझ्लान् या नबुझ्लान् ? तर पोस्टरमा देखेपछि त चासो राख्लान् पनि । कम्तीमा पनि गैंडा पाइने मुख्य जिल्ला चितवन हो भनेर देशका धेरैलाई यसले चिनाउने भयो,’ उनले सुनाए । गैंडा धेरै पाइने भएका कारण चितवनमा पर्यटन फस्टाएको छ । बर्सेनि देश–विदेशका लाखौं पर्यटक चितवन निकुञ्जमा रहेको दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा हेर्न आउँछन् । निकुञ्जको आधिकारिक प्रकाशनहरूमा दुई लाख हाराहारी पर्यटक यहाँ आउने गरेको उल्लेख छ तर कोरोनाका कारणले दुई वर्षयता पर्यटक आउने क्रम ह्वात्तै घटेको थियो ।

एमाले महाधिवेशनले कोरोनाका कारण थला परेको पर्यटन क्षेत्रलाई मात्र नउकासी चितवनको अन्य पक्षलाई पनि उजागार गर्न सक्ने चितवन उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजन गौतमले बताए । ‘चितवनको प्रमुख आधार पर्यटन हो तर यहाँ बस्न पनि उत्तम छ, तरकारी खेती, कुखुरापालन, माछापालन, दुग्ध व्यवसाय र अन्य उद्योग क्षेत्रको पनि उत्तिकै सम्भावना भएको ठाउँ हो,’ उनले भने । 

देशको मुख्य दलको महाधिवेशनमा आउने प्रतिनिधिहरू आम सर्वसाधारणभन्दा अलि जागरुक हुने उनले बताए । ‘नारायणगढदेखि सौराहासम्म प्रतिनिधिहरूको ओहरदोहर चल्छ, यो ठाउँको समाज, वातावरण र आर्थिक क्षेत्रको पक्कै हेक्का राख्छन्,’ उनले भने, ‘महाधिवेशनले उनीहरूलाई चितवनको सम्भावनाको झलक देखाउन सक्छ ।’ चितवनमा यो तहको बृहत् कार्यक्रम अहिलेसम्म नभएको हुँदा यो कार्यक्रम सफल भए अन्य दल र निकायले पनि चितवन रोज्ने उनको विश्वास छ । कांग्रेस नेता गौतमले भने, ‘एमाले महाधिवेशन राम्रोसँग सफल भए अरू दलले पनि यहीं कार्यक्रम राख्लान् । ठूला जमघट हुनु, कार्यक्रम हुनु जिल्लालाई फाइदा हो ।’

एमाले महाधिवेशनको उद्घाटन कार्यक्रम मंसिर १० मा नारायणगढस्थित नारायणी नदी किनारमा हुँदै छ । उद्घाटन कार्यक्रममा पाँच लाख जनालाई सहभागी गराउने एमालेको तयारी छ । नयाँ नेतृत्व चयनका लागि पर्यटकीय क्षेत्र सौराहामा मंसिर ११ र १२ मा बन्दसत्र हुँदै छ । बन्दसत्रमा झन्डै २१ सय प्रतिनिधि सहभागी हुँदै छन् ।

महाधिवेशनको आवास समितिका संयोजक रहेका नेता कृष्णभक्त पोखरेलले मंसिर ७ बाटै स्वयंसेवकहरूलाई राख्न नारायणगढमा होटलका तीन सय बेड बुक भइसकेको बताए । त्यसैगरी उद्घाटन कार्यक्रमपछि सौराहामा मंसिर १० बाट बस्न ३५ सय बेड बुक भइसकेको उनले बताए । होटल व्यवसायीको संस्थासँग आधिकारिक सहमति नै गरेर पार्टीले कोठा बुक गरेको हो । सौराहामा बस्ने प्रतिनिधिले बासका साथै दुई दिनको साँझको खाना (डिनर) र सबै दिन बिहानको नास्ता पनि होटलमै पाउनेछन् । प्रतिनिधिका साथै स्वयंसेवक, निर्वाचन मण्डल, पार्टीका विभिन्न आयोगका पदाधिकारी र अन्य अतिथिलाई सौराहामा राखिनेछ ।

यसका लागि झन्डै दुई करोड रुपैयाँ पार्टीले भुक्तान गर्ने लिखित सहमति भएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए । सौराहामा ६५ सय जना अट्ने बेड छन् । प्रतिनिधि नभए पनि पार्टीको कार्यक्रममा आउनेहरूले व्यक्तिगत तबरमा समेत बेड बुक गरेका छन् । ‘महाधिवेशनका बेला अन्य पर्यटक राख्न सक्ने अवस्था छैन, हामीले बुकिङ लिन छाडेका छौं, होटल भरिभराउ हुने अवस्था छ,’ अध्यक्ष भट्टराईले भने ।

सौराहाका ऋषि तिवारीको होटलमा ४५ जना अट्ने बेड छन् । महाधिवेशनका बेला यी सबै भरिने भएका छन् । ‘एमालेको महाधिवेशन सौराहामा गर्ने निर्णय भएपछि यहाँ ठूला कार्यक्रम गर्न मिल्दो रहेछ भन्ने सन्देश गएको छ, हिजोआज पनि मेरो होटलमा संघसंस्था, विद्यालय, कलेज र अन्य निकायको कार्यक्रम भइरहेको छ,’ उनले भने । क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे होटलसँगै अन्य सबैखाले पर्यटन व्यवसायमा महाधिवेशनमा आउने प्रतिनिधिका कारण टेवा पुग्ने अवस्था रहेको बताए । ‘चितवनलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनाउन अभियान चलाइरहेका थियौं, कोरोनाले शिथिल बनाएका बेला देशभरका मान्छे यहाँ आउँदै छन्, यो हाम्रा लागि अवसर हो,’ उनले भने । 

सौराहाका रेस्टुरेन्टहरूमा सामान्य पर्यटकले कम्तीमा पनि औसतमा १४/१५ सय रुपैयाँ खर्च गर्ने गरेको रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताए । कम्तीमा एक जनाले सात/आठ सय रुपैयाँ रेस्टुरेन्टमा खर्च गर्छ । तीन–चार दिन करिब पाँच हजार मान्छे सौराहामा रहँदा सानाठूला सबैखाले रेस्टुरेन्टको कारोबार बढ्ने उनले देखेका छन् ।

डुंगा सफारी, जिप सफारी र हात्ती सफारी सौराहा आउने पर्यटकले गर्ने प्रमुख गतिविधि हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सौराहा जाँदा साथीहरूले हात्ती चढ्नु होला, गैंडा देख्नु होला, संयोग मिले बाघ पनि देख्नु होला भनेको भिडियो क्लिप सामाजिक सञ्जालमा फैलिएको छ । त्यसैले जंगल घुम्न जानेहरूको पनि चाप बढ्ने आशा पर्यटन व्यवसायीको छ । हात्ती सफारीमा प्रयोग हुने निजी हात्तीहरू ‘हात्ती सञ्चालक सहकारी संस्था लिमिटेड’ मार्फत सञ्चालित छन् । संस्थाका अध्यक्ष ऋषि तिवारीले महाधिवेशनमा आउने प्रतिनिधिलाई सुविधा हुने गरेर जिप, डुंगा र हात्ती सफारी चलाउने योजना बनाएको बताए । ‘सबै जोड्दा महाधिवेशन अवधिमा सौराहा क्षेत्रमा मात्रै ६/७ करोडको आर्थिक कारोबार हुने सम्भावना देखिन्छ,’ हान सौराहाका अध्यक्ष दीपक भट्टराईको आकलन छ ।

चितवनको पटिहानी, जगतपुर, मेघौली क्षेत्रमा स्तरीय होटल छन् । महाधिवेशनको रापचाप त्यता अलि परेको छैन । ‘महाधिवेशनको केन्द्र सौराहा भयो, सौराहाबाट यहाँ आउजाउ गर्न अलि समय लाग्छ, त्यसैले प्रतिनिधि राख्न र महाधिवेशनको मेसोमा आएर बस्नुपर्‍यो भनेर सोधखोज हाम्रोमा खासै भएको छैन,’ होटल व्यवसायी तथा हान पश्चिम चितवन क्षेत्रका इन्चार्ज गणेश पौडेलले भने । देशभरका प्रतिनिधि चितवन र मुख्य रूपमा सौराहा आएर बस्दा चितवनको पर्यटनमा पछिसम्म राम्रो प्रभाव पर्न सक्ने उनले देखेका छन् । ‘यसले चितवन चिनाउँछ । देशभरका मान्छे यहाँ आएपछि पर्यटनमा राम्रो प्रभाव पर्छ,’ उनले भने । 

एमाले महाधिवेशनएमाले

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully