२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५
अन्तर्वार्ता

सबै अध्यक्षको मुख ताकेर बसेका छन् : पृथ्वीसुब्बा गुरुङ [भिडियो]

'गुट नभएका कारण उम्मेदवारीमा दाबी नभएको हो'
'पदाधिकारीमा ३३ प्रतिशतमहिला यसपटक गाह्रो छ'

काठमाडौँ — एमाले सचिव पृथ्वीसुब्बा गुरुङले १० औं महाधिवेशनमा उपाध्यक्ष वा महासचिवमा आकांक्षा राखेका छन् । त्यसभन्दा तल्लो पदमा नउठ्ने उनको भनाइ छ । महाधिवेशन आउन केही दिन मात्र बाँकी रहँदा पनि को कुन पदमा उठ्ने भन्ने अन्योल भइरहेका बेला गुरूङले भने आफू महासचिव भएर काम गर्न सक्ने बताए ।

सबै अध्यक्षको मुख ताकेर बसेका छन् : पृथ्वीसुब्बा गुरुङ [भिडियो]

महाधिवेशनका सन्दर्भमा गुरूङसँग कान्तिपुरका मणि दाहालबबिता शर्माले गरेको कुराकानी :

१० औं महाधिवेशनमा नेतृत्व छनोट प्रक्रिया कसरी अघि बढ्छ ?

आठौं महाधिवेशनदेखि नै हाउसबाट प्रतिस्पर्धा गरेर नेतृत्व चयन गर्ने प्रक्रियामा गइसक्यौं । त्यसअघि कम्युनिस्ट पार्टीमा अध्यक्ष मण्डल बन्थ्यो । त्यसले आयोजक कमिटीसँग परामर्श गरेर सूची प्रस्तुत गर्थ्यो, त्यसमै ताली बजाइन्थ्यो । सामान्यतया हामी प्रतिस्पर्धामा जाने हो । जनताको बहुदलीय जनवाद (जबज) ले पनि नेतृत्वको विषयलाई खोपाको भीमसेन बनाउनु हुँदैन भन्छ । नेतृत्वलाई आमजनता र कार्यकर्ताको सरोकार र चासोको विषय बनाउनुपर्छ । पार्टी चलाउने नेता–कार्यकर्ता र सदस्यबाट निर्वाचित वा अनुमोदित हुनुपर्छ । राज्य चलाउने प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, मेयर जनताबाट अनुमोदित वा निर्वाचित हुनुपर्छ । नेतृत्व चयनको विषयमा मूल सिद्धान्त हो यो ।

महाधिवेशन प्रतिनिधि छनोटमा तँछाडमछाड र गुटबन्दी नगरौं भनेका थियौं । गुटका आधारमा चुनाव हुनु गलत रहेछ । पार्टीभित्र प्रतिस्पर्धा व्यक्तिगत रूपमा गर्ने हो । गुटबन्दीका आधारमा नेता छान्दा जनवादी केन्द्रीयताको सिद्धान्त पनि रहेन । व्यक्ति गुटको अधीनस्थ बन्यो । अब गुटका आधारमा चुनाव लड्ने दिन गयो । व्यक्तिगत क्षमताका आधारमा चुनाव लड्ने हो । अहिले प्रतिस्पर्धामा खासै जोड दिएका छैनौं । अहिलेको दक्षिणपन्थी गठबन्धनले चुनौती सिर्जना गरेको छ, त्यसको प्रतिवाद गरेर सही राजनीतिक दिशा स्थापित गर्न र देशमा राजनीतिक स्थायित्वका लागि जे गर्दा सहमति र एकता हुन्छ, त्यसतर्फ जानुपर्छ । पछिल्लो समयमा भएका सबै निर्णय सर्वसम्मत गरेका छौं । महाधिवेशनमा पनि सर्वसम्मत हुनुपर्छ भनेर लागेका छौं ।

सर्वसम्मत नेतृत्व कति सम्भव देख्नुहुन्छ ?

एमालेभित्र अहिलेदेखि अध्यक्ष ओलीसँग नजिक रहेर काम गरिरहेका, १० बुँदे सहमति गरेर एमालेमै रहेका, मा‌‌ओवादी केन्द्रसँग एकता प्रक्रियाबाट आएका, अन्य राजनीतिक दलबाट पनि आएका, संस्थापनसँग काम गरेका नेता छन् । यस्तो हिसाबले महाधिवेशनबाट निर्वाचन हुनुपर्ने पाँच थरीका नेता छन् । पाँच थरीलाई व्यवस्थापन गर्नु ठट्टाको विषयमा होइन । यी सबैको प्रतिनिधित्व हुने गरी नेतृत्व छनोट गर्न प्रयास भइरहेको छ ।

उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिइसक्नुभयो नि ?

हामी सर्वसम्मतको प्रयास गर्छौं । जुन जुन पदमा थिए, सबै यथावत् राखेर बाँकी सिटमा को–को ल्याउने भन्ने भयो भने अध्यक्षमा लडिराख्नुपर्ने स्थिति नहुन सक्छ । तर त्यस्तो भएन भने पनि १५ वटा पदमा सबै भावना र सबै पक्षको प्रतिनिधित्व गराउने हो । सबै हिसाब गर्दा कुनै–कुनै मानिस नपर्न सक्छन् । अध्यक्षसँग नजिक रहेर काम गरिरहेको म वा मजस्तै अरू नेता नपर्न सक्छन् । १० बुँदे वा पूर्वमाओवादीबाट आएका साथीहरू नपर्न सक्छन् । त्यसमा चित्त नबुझ्नेहरूले प्रतिस्पर्धा गर्न पाउँछन् । उनीहरूलाई प्रतिबन्ध लगाउन मिल्दैन ।

पदाधिकारीको संख्या बढाएर व्यवस्थापन हुन सक्छ कि सक्दैन ?

यस विषयमा अध्यक्षले मुख खोल्नुभएको छैन । हामी सबैको मुखचाहिँ कोक्याएकै छ । त्यस्तो गर्न पाए हुन्थ्यो भनेर बोली नै रहेका छौं । अध्यक्षले मानिदिए अलि सजिलो हुन्थ्यो । तर धेरै ठूलो कमिटी बनाउँदा नेतृत्व सफल हुने रहेनछ । नेतृत्व जतिमाथि गयो त्यति सानो बनाउँदा राम्रो हुन्छ भनेर उहाँ (ओली) ले नौ सदस्यीय पदाधिकारी बनाउन खोज्नुभएको थियो । हाम्रै जोडबलले १५ मा पुर्‍याएका हौं । १५ बाट १९ पनि पुग्न सक्छ । तर संख्या थप्दा सन्दर्भिक र औचित्यपूर्ण हुनुपर्छ । अहिले भनेको भएका सबैलाई कायम राख्ने र नयाँ केहीलाई हाल्ने भन्ने हो । तर यो वैज्ञानिक र चुस्तदुरुस्त विकल्पचाहिँ होइन ।

महाधिवेशन आउन ४ दिन बाँकी हुँदा व्यक्तिगत दाबी देखिँदैन नि ?

गुट नभएका कारण उम्मेदवारीमा दाबी नभएको हो । गुट भएको भए म अहिले उम्मेदवारी घोषणा गरिसक्थें । मेरो गुटका नेता केपी हुन्थे । काम गर्दै जाँदा गुट फेरि जन्मिन सक्छ तर आजका दिनमा प्रत्यक्ष गुट छैन । त्यही भएर जसले घोषणा गर्छ, त्यसले एक्लैले घोषणा गर्ने हो । भोलि के हुन्छ भनेर डराएर पनि कसैले भन्न सकेका छैनन् । अध्यक्षले कसरी मिलाउनु होला भनेर सबै जना अध्यक्षको मुख ताकेर बसेका छन् । जर्नेलहरू धेरै भए भने आ–आफ्नो कमान्ड सम्हाल्छन्, एउटै जर्नेल भयो भने उसको कमान्ड पर्खेर बस्नुपर्छ । हाम्रो परिस्थिति पनि त्यही हो ।

तपाईंको दाबीचाहिँ कुन पदमा हो ?

गुटलाई निषेध गर्नुपर्छ भनेर सुरुमा कुरा उठाउने मै हुँ । त्यसकारण गुटका आधारमा घोषणा गर्ने कुरा आएन । केपी शर्मा ओलीले मुख खोल्नुभएको छैन । सचिव भएर काम गरिरहेको छु । महासचिव भएर काम गर्न सक्छु । अध्यक्षलाई तपाईंले मुख नफोरे पनि ज–जसलाई प्रक्षेपण वा कल्पना गरिराख्नुभएको छ, उहाँहरूभन्दा म कम छैन भनेको छु । त्यो मेरो मात्रै दाबा हो । महासचिवभन्दा तल्लो पदमा उठ्दिनँ भनिदिएको छु । कि उपाध्यक्षमा भन्ने हो । नत्र केन्द्रीय सदस्यमा लड्छु ।

भनेअनुसार पद पाउनु भएन भने तपाईं प्रतिस्पर्धामा जानुहुन्छ ?

जान पनि सक्छु, नजान पनि सक्छु । तत्कालीन परिस्थितिले निर्धारण गर्छ ।

पदाधिकारीका आकांक्षी सबैलाई मिलाउन सहज त देखिँदैन नि ?

अध्यक्षलाई सबै मिलाउन गाह्रो छ । सुवास नेम्वाङ हुनुहुन्छ, उहाँ सभामुख र संविधानसभा अध्यक्ष भएर काम गरेको अनुभवी नेता हुनुभयो । विचार र संगठनका क्षेत्रमा धेरै योगदान नभए पनि उहाँ राष्ट्रिय व्यक्तित्व हो । उहाँलाई कसरी व्यवस्थापन गर्ने भन्ने छ, उहाँ सचिव वा महासचिव भइराख्ने व्यक्ति होइन । उहाँका लागि उपयुक्त पद नै भएन कि भन्ने भइरहेको छ । पदाधिकारीमा मालेका संस्थापक सदस्य ईश्वर पोखरेल मात्रै हुनुहुन्छ । यो मालेको विरासत बोकेर आएको पार्टी हो । इतिहासको त्यो कालखण्डको सम्मान हुन्छ कि हुँदैन भन्ने पनि छ । आजका लागि वरिष्ठ उपाध्यक्षको योग्यता र क्षमताले के माग गर्छ भन्ने अर्को पक्ष पनि हो । त्यसैले उहाँ नै हो कि अर्को कोही हो भन्ने छ ।

तस्बिरहरू : क्रान्ति पाण्डे

माओवादीबाट बादलजीसहित नेताहरू आउनुभएको छ । बादल ठूलै नेता हुनुहुन्थ्यो । एकताबाट दायाँबायाँ गर्दिनँ भनेर एमालेमै बस्नुभयो । उहाँलाई कहाँ सम्मान गर्ने ? ओलीसँग हिजोदेखि संगठन, राजकीय क्षेत्रमा नजिकै भएर काम गरेका हामी पनि ४–५ जना छौं । अर्को महाधिवेशनबाट उठ्न नपाउने अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीले निरन्तर रूपमा कम्युनिस्ट पार्टीमा गरेको योगदानको मूल्यांकन कसरी गर्ने, बिदाइ गर्दा अन्याय हुन्छ कि भन्ने पनि छ ।

सबै प्रवृत्ति, व्यक्ति, क्षमता र योग्यताको पनि सम्मान गर्नुपर्‍यो । पार्टीको नेतृत्व चयन गर्ने भनेको अनुहार मात्रै छान्ने होइन । विधान परिमार्जन बाटो बन्द भएको छैन । तर यति चाँडो परिवर्तन गर्दा केही दिनअघि किन बुद्धि नपुर्‍याएको भन्ने प्रश्न पनि उठ्न सक्छ । नयाँहरूको आकांक्षा छ । अहिले केन्द्रीय कमिटीमा ३० जना महिला हुनुहुन्छ, अब ३३ प्रतिशत अनिवार्य भनेका छौं । त्यो भनेको २ सय २५ जनामा ७५ जना हुनुपर्छ । यो हुँदा ४५ जना महिला थपिनुहुन्छ । यो थपिँदा मौजुदा केन्द्रीय कमिटीका १५–२० जना बाहिरिन्छन् । अब नयाँ मानिस कसरी आउँछन् भन्ने प्रश्न छ ।

पदाधिकारीमा एक तिहाइ महिला आउने सम्भावना छ कि छैन ?

पदाधिकारीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व यस पटक गाह्रो छ । समावेशी हुन्छ, २–३ जना कति पर्नुहुन्छ । ११ औं महाधिवेशनमा त्यो ठाउँमा पुग्छौं । ८ औंमा ३३ प्रतिशत प्रतिनिधित्व पुर्‍याउन महिला राख्ने भन्ने थियो । त्यति बेला ८ प्रतिशत प्रतिनिधित्व थियो । ९ औंमा २० प्रतिशत पुर्‍यायौं । नेतृत्वमा ३३ प्रतिशत राख्नुपर्दा प्रतिनिधित्व र विकास पनि त्यसैअनुरूप हुनुपर्‍यो । सदस्य नबढाउने, नेतृत्व विकास नगर्ने अनि सबै कमिटीमा ३३ प्रतिशत संख्या खोजेर भएन नि π धेरै हतारो गर्नुपर्ने छैन । महिला मात्रै होइन, पुरुष पनि लुडोमा जस्तै गरी हठात् माथिल्लो पदमा आइपुग्दा राम्रो नेताका रूपमा टिक्न धेरै गाह्रो छ ।

प्रकाशित : मंसिर ६, २०७८ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?