‘दलहरू ‘कर्पोरेट’ भए, नेतृत्व चयन कर्मकाण्डी’ [भिडियो]- कुराकानी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
अन्तर्वार्ता

‘दलहरू ‘कर्पोरेट’ भए, नेतृत्व चयन कर्मकाण्डी’ [भिडियो]

कान्तिपुर संवाददाता

भूराजनीति र राष्ट्रिय अर्थ–राजनीतिमा कलम चलाउने चन्द्रदेव भट्ट राजनीतिशास्त्री हुन् । लन्डन स्कुल अफ इकोनोमिक्स र बर्मिङघम युनिभर्सिटी, बेलायतबाट अध्ययन पूरा गरेपछि नेपालमै रहेर राजनीति र भूराजनीतिबारे अध्ययनका साथै लेखनमा सक्रिय भट्टसित ईकान्तिपुरका ध्रुव सिम्खडाले  प्रमुख दलहरूका आसन्न महाधिवेशनको सन्दर्भमा उनीहरूका कार्यशैलीमाथि केन्द्रित रहेर गरेको कुराकानी: 

महाधिवेशनमा होमिइरहेका मूलधारका राजनीतिक दलहरूका क्रियाकलापलाई कसरी हेरिरहनुभएको छ ?

अहिले मूलधारका राजनीतिक दलहरूले जुन महाधिवेशन गरिरहेका छन् यो स्वाभाविक प्रक्रिया हो । दलहरूले महाधिवेशनमार्फत नीति पारित र नेतृत्व चयन गर्छन् । केही दलले समयभन्दा अलि ढिलो महाधिवेशन गर्दैछन्, केहीले अलि भिन्न परिस्थितिमा । एमालेले अलि भिन्न परिस्थितिमा महाधिवेशन गर्दैछ । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको खारेजीपछि एमालेले महाधिवेशन गर्दैछ ।

दलका महाधिवेशनहरू केका लागि गरिन्छन् ?

लोकतन्त्रमा विश्वास गर्ने दलहरूले आफ्नो महाधिवेशन गर्नु जरूरी हुन्छ । किनभने तिनलाई वैधानिकता दिने र जनअनुमोदन गर्ने भनेकै महाधिवेशनले हो ।

हाम्रा दलहरूले महाधिवेशनबाट नेतृत्वमात्र परिवर्तन गर्ने गरेका छन् कि नीति पनि समयसापेक्ष बनाउँदै आएका छन् ?

नेतृत्व पनि परिवर्तन भएको छ र केही हदसम्म नीतिमा पनि परिवर्तन भएको छ । नीतिमा परिवर्तन भएकै छैन भन्न मिल्दैन । हाम्रा दलहरूको अवस्था बुझ्न अलि पछाडि फर्कनु पर्छ कि जस्तो लाग्छ । किनकि, अहिलेका हाम्रा मूलधारका दलहरू विशेष गरेर शीतयुद्धकालीन समयतिर स्थापना भएका हुन् । सन् १९४०, ५०, ६० तिर स्थापना भएका हुन् । तिनीहरू स्थापना भएको बेलाको परिस्थिति र अहिलेको परिस्थिति फरक छ । त्यतिबेला लोकतन्त्रको आवश्यकता थियो, विकासको कुरा भइरहेको थियो, आधुनिकताको कुरा भइरहेको थियो त्यसको स्थापना खातिर तिनीहरूले क्रान्ति गरे । सक्दो योगदान दिए । सफल पनि भए । तर अहिले परिस्थिति बदलिएको छ । त्यसैले तिनीहरूले बदलिँदो परिस्थितिअनुसार आफूलाई पनि बदल्न सक्नुपर्छ । १९९० मा बहुदल आएपछि नयाँ चुनौतीहरू थपिएका छन् । उनीहरूले आफूलाई त्यसअनुरूप बदल्नुपर्ने थियो । तर त्यसमा तिनीहरू चुके ।

अहिले हाम्रा दलहरू पनि संक्रमणकालबाट गुज्रिइरहेका छन् । कस्तो नीति बनाउने, पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा नेताहरू दोधारमा छन् । यस्तो अवस्था नेपालमा मात्र पनि होइन, अन्य मुलुकका पनि मूलधारका राजनीतिक दलहरू संकटमै रहेको देखिन्छ । लोकतान्त्रिक परिपाटी सफल भएका देशका पुराना दलहरू पनि संकटबाट गुज्रिरहेका छन् । यसको एउटै कारण बदलिँदो अर्थ–राजनीतिअनुसार उनीहरूले आफूलाई परिवर्तन गर्न नसक्नु हो ।

बदलिँदो अर्थ–राजनीतिअनुसार आफूलाई परिवर्तन गर्न नसकेका कारणले मात्र उनीहरू संकटग्रस्त भएका हुन् र ? यसमा अन्य सामाजिक कारण देख्नुहुन्न ?

अर्थ–राजनीतिको साथै समाजको बदलिँदो मनोविज्ञानलाई पनि आत्मसात् गर्न सकेनन् । हिजो जुन सामाजिक बनोट र संरचना थियो त्यो सामाजिक संरचना र बनोट पछिल्लो अर्थ–राजनीतिले परिवर्तन गरिदियो । दलहरूले पनि आफ्ना क्रियाकलाप र कार्यक्रमहरू त्यहीअनुसार विकास गर्नुपर्ने हो तर मूलधारका पुराना दलहरूले समयसापेक्ष विकास गर्न नसक्दा कार्यक्रमिक दलहरू परिदृश्यमा खडा हुँदैछन् । भलै, ती दलहरू अझै पनि राष्ट्रिय राजनीतिमा स्थापित हुन सकिरहेका छैनन् । तर उनीहरूले विकाससम्बन्धी छुट्टै विचार ल्याइरहेका छन् । मूलधारका राजनीतिक दलहरूले आफूलाई समयसापेक्ष परिवर्तन गर्न सकेनन् भने त्यहाँ समस्या देखिन्छ । अहिले पश्चिमा मुलुकहरूमा राजनीतिक दलका विकल्पमा पनि बहस सुरू भएका छन् । के राजनीतिक दलबिना पनि लोकतन्त्र चल्न सक्छ त ? यस विषयमा बहस सुरू भइसकेका छन् । किनकि, राजनीति एकदमै महंगो भयो । दलहरूले ‘कर्पोरेट’ हिसाबले चुनावी अभियान सञ्चालन गर्नाले चुनाव निकै खर्चिलो हुँदै जान थालेको छ । यस्तो परिस्थितिमा हाम्रा दलहरूले कर्मकाण्डीय हिसाबले मात्र नेतृत्व परिवर्तन गरेर अबको राजनीति हाँक्न सजिलो छैन । त्यसैले नेतृत्वको साथै नीति परिवर्तन पनि अहिलेको आवश्यकता हो ।

उनीहरू त्यसतर्फ अगाडि बढेनन् भने के होला ?

शीतयुद्धको भूराजनीतिक अवस्था अहिले छैन । यसमा धेरै परिवर्तन भएको छ । अहिलेको युवाको सोच अलग छ, अर्थ–राजनीति अलग किसिमको छ, समाज अलग किसिमको छ । यसअनुसार दलहरूले आफूलाई ढाल्नुपर्ने चुनौती छ । यदि यसतर्फ सोचेनन् भने मूलधारका दलहरू अप्ठ्यारोमा पर्न सक्छन् । उनीहरूको समानान्तर आइरहेका अन्य संगठनहरूले ‘मास मोबिलाइज’ गरिरहेका छन् । हिजोका दिनमा ‘मास मोबिलाइज’ दलहरूले मात्र गर्थे, आन्दोलन उनीहरूले मात्र गर्थे, एजेन्डा उनीहरूले मात्र ‘सेट’ गर्थे । तर पछिल्ला दिनहरूमा नागरिक संगठनहरूले पनि ‘मास मोबिलाइज’ गर्न थालेका छन् । सामाजिक मुद्दाहरू लिएर उनीहरू अगाडि बढिरहका छन् । आन्दोलन गरिरहेका छन् । त्यसैले दलहरूले अस्तित्व कायम गर्नका लागि आफ्ना सोच र कार्यक्रमहरू परिवर्तन गर्न जरूरी छ ।

यतिबेला मूलधारका सबै दलहरू आ–आफ्ना महाधिवेशनमा जुटिरहेका छन् । के गरे भने उनीहरू युगसापेक्ष बन्लान् ?

हो, यतिबेला नेपाली कांग्रेस, एमाले, माओवादी, राप्रपा सबै दलहरू महाधिवेशनमा जुटिरहेका छन् । हिजोका दिनमा यी दलहरूले परिवर्तनका लागि धेरै योगदान दिएकै हुन् । तर अब हामीले हिजो परिवर्तनका लागि धेरै योगदान गरेका थियौँ त्यसैले हाम्रो विकल्प कोही पनि हुन सक्दैन भनी सोच्नु हुँदैन । ‘मेरा बाजेले घिउ खाएका थिए मेरा हात सुँघ, सुँघ’ भनेजस्तो शैलीमा अब पार्टीको अस्तित्व बच्दैन । त्यसका लागि उनीहरूले आफूलाई समयसापेक्ष बनाउनै पर्छ ।

दलहरूले आम मानिसमा आफ्नो स्विकार्यता बढाउनका लागि नीतिगत सुधार गर्नु आवश्यक छ । रोजगारीका लागि धेरै युवाले देश छाड्नुपर्ने बाध्यता छ । गाँस, बासको सिर्जना देशभित्रै गर्नेबारे दलहरूले सोच्न र व्यवहारिक योजना ल्याउन सकेनन् भने तिनीहरूको जनतासितको सम्बन्ध साँघुरिने छ । दलहरूबीच विचारगत भिन्नताहरू हुन्छन्, त्यो स्वाभाविकै हो । तर विचारमा भिन्नता हुँदाहुँदै पनि केही कुराले दलहरूलाई एकापसमा जोड्छ । केही सवालमा दलहरूले मिलेर काम गर्नुपर्ने हुन्छ । रोजगार, विकासको सन्दर्भमा दलहरूले एकापसमा मिलेर काम गर्नुपर्ने आवश्यकता छ । तर यसमा दलहरू चुकेका छन् । दूरदराजका आम मानिसले विकासको अनुभूति गर्न पाउनुपर्ने हो तर पाइरहेका छैनन् । जनताले अनुभूत गर्ने किसिमको विकास हुनुपर्छ । दलहरूले त्यसअनुसारको नीति बनाउनु आवश्यक छ । नीतिबिनाको नेतृत्वको महत्व हुँदैन । यसबारे दलहरूले सोच्नुपर्छ ।

एमाले नीति महाधिवेशन सकेर नेतृत्व महाधिवेशनमा होमिएको छ । कांग्रेसले पनि यो महाधिवेशनबाट नेतृत्वमात्रै चयन गर्ने भन्दैछ । नीतिबिना नेतृत्व हुन्छ र ?

नेतृत्वमात्र चयन गर्दा पनि त्यसले एकप्रकारले राजनीतिक संगठनलाई जीवन प्रदान त गर्छ । वैधानिकता त दिन्छ । तर त्यसलाई सर्वस्विकार्य बनाउन त नीति नभई हुँदैन । कांग्रेस प्रजातान्त्रिक समाजवादको कुरा गर्छ । भोलिका दिनमा उसको प्रजातान्त्रिक समाजवाद कस्तो हुने ? यसबारे बहस हुनु पर्‍यो नि । शिक्षा, स्वास्थ्य, रोजगार कस्तो हुने भन्नेबारे महाधिवेशनमा छलफल हुनुपर्छ । सबै दल समाजवादको कुरा गर्छन् । तर कांग्रेसको समाजवाद अरू दलको भन्दा के कुरामा भिन्न त ? यसबारे छलफल हुन जरूरी छ । सबै दलले लोकतन्त्रको कुरा गर्छन् । तर आम नागरिकका लागि लोकतन्त्र कस्तो हुने ? यस्ता नीतिगत विषयमा छलफल अपरिहार्य हुन्छ ।

नीतिबिनाको महाधिवेशन कस्तो होला ?

यी दलका केही न केही नीत त छन् नै । तर नीतिगत छलफलविनै महाधिवेशनहरू भए भने भविष्यमा अप्ठ्यारो पर्न सक्छ । नीतिविनाको महाधिवेशन कर्मकाण्डीमात्र हुन्छ । नेतृत्वको मात्र घनचक्करबाट दलहरूलाई मुक्त गर्ने भनेकै तिनले अबलम्बन गर्ने नीतिले हो । जनतालाई राज्यसित जोड्ने भनेकै नीतिले हो, महाधिवेशनबाट यो काम हुनुपर्छ ।

महाधिवेशन निकै तडकभडकपूर्ण भएजस्तो लाग्दैन ?

पछिल्ला दिनहरूमा पार्टीका महाधिवेशनहरूमात्र होइन राजनीति नै एकदम महंगो हुँदै आइरहेको छ । तडकभडकपूर्ण बनेको छ ।

किन राजनीति महँगो बन्दैछ ?

खासगरी दक्षिण एसियामा राजनीति बढी महँगो देखिन्छ ।

के कारणले हाम्रो राजनीति महँगो भएको हो ?

राजनीति सबैभन्दा सस्तो हुनुपर्ने हो । राजनीति जनताका लागि काम गर्ने माध्यम हो । नेता जनताका सेवक हुनुपर्ने हो । तर, पछिल्ला दिनहरूमा राजनीतिमात्रै यस्तो आकर्षणको केन्द्र हुनपुग्यो जसले शक्ति र इज्जत (पावर एण्ड प्रेस्टिज) दुवै दिन्छ । त्यसकारण सबै राजनीतितिर आकर्षित हुन लागे । दोस्रो, हामीले राजनीतिको आकार पनि बढायौं । जुन ज्यादै खर्चिलो हुन्छ । आकार बढाएर खर्च गरे अनुसारको ‘डेलिभरि’ चाहिँ हुन सकेन । राजनीतिलाई सस्तो बनाउने हो भने हामीले अन्य क्षेत्रलाई पनि आकर्षित बनाउनु पर्‍यो । दक्षिण एसियामा तुलनात्मक रूपमा हाम्रा राजनीतिक दलहरू पुरानै मानिन्छन् । र, पनि उनीहरूले अर्थतन्त्र कसरी निर्माण गर्ने भन्नेबारे खासै ध्यान दिन सकेका छैनन् । समाजलाई कसरी समृद्ध बनाउने भन्नेबारे दलहरूले व्यवहारिक रूपमा कार्य गर्न सकेको देखिँदैन । त्यसकारण उनीहरूले यसतर्फ सोच्नु आवश्यक छ ।

महँगो राजनीतिको असर कहाँ-कहाँ पर्ने देख्नु हुन्छ ?

राजनीति महंगो हुँदा चुनावहरू महंगा हुन्छन् । भविष्यमा यस्तो दिन पनि आउन सक्छ धनीमानीले मात्र चुनावमा भाग लिने, धन र पहुँच नभएकाहरू राजनीतिको मूलप्रवाहबाट बाहिरिन बाध्य हुनुपर्ने अवस्था आउँदैछ । भ्रष्टाचार किन हुन्छ ? कतै हाम्रो राजनीति महँगो हुँदै जाँदा भ्रष्टाचार पनि त्यही मात्रमा बढिरहेको त छैन ? राजनीति धेरै महँगो भएकाले दलहरूलाई ‘कर्पोरेट पावर’ ले कब्जा गर्ने खतरा बढ्दैछ । राजनीति महँगो हुँदा समाजले धेरै मूल्य चुकाउनु पर्छ । त्यसैले अमेरिका, बेलायततिर अहिले दलहरूविनाको लोकतन्त्रबारे बहस हुन थालेका छन् ।

एकथरी राजनीतिलाई नै पेसा बनाएर आएका नेता/कार्यकर्ता छन् । अर्कोथरी व्यापार, उद्योग, सिनेमा, चिकित्सा, कानुनलगायत विभिन्न पेसामा लागेकाहरूको पनि राजनीतिमा प्रवेश भएको छ । यसले पनि राजनीतिलाई महँगो बनाएको छ । राजनीति जतिजति खर्चिलो हुँदैजान्छ त्यतित्यति सेवाग्राहीले सेवाबाट बञ्चित हुँदै जानुपर्छ । यस्तो परिस्थितिमा फैलने भनेको भ्रष्टाचार नै हो ।

महाधिवेशनको एजेन्डा सस्तो राजनीति निर्माणतिर केन्द्रित हुनुपर्ने होइन ?

राजनीतिलाई कसरी सर्वसुलभ बनाउने, समयसापेक्ष बनाएर लैजाने, भ्रष्टाचारलाई न्यून गर्ने र देशलाई आर्थिक विकासमा कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे महाधिवेशनमा छलफल हुनुपर्ने हो । अहिलेको आवश्यकता हो यो । तर हाम्रा दलहरू यी विषयमा छलफल नै गरिरहेका छैनन् । महाधिवेशन र चुनावलाई सस्तो तरिकाले सञ्चालन गर्ने प्रविधिहरू पनि आइसकेका छन्, यसको प्रयोगतर्फ पनि ध्यान जानु जरूरी छ ।

हाम्रा दलहरू किन ५०/६० वर्ष अघिको चिन्तन र कार्यशैलीबाट मुक्त हुन सकिरहेका छैनन् ?

पछिल्लो समय नेता केन्द्रित राजनीतिक दलहरू भए । यसो हुनाले नयाँपुस्ताले ठाउँ पाउन सकेन । नयाँपुस्ताका नेताले पनि पुरानापुस्ताका नेताहरूलाई चुनौती दिन सकिरहेका छैनन् । सबै दलमा यस्तै अवस्था देखिन्छ । दलहरूले अन्तर–पुस्तात्मक न्याय अबलम्बन गर्नुपर्ने देखिन्छ । जसले गर्दा नेतृत्वलाई समयसापेक्ष बनाउन मद्दत गर्छ । लामो समयसम्म एउटै व्यक्ति पदमा बसिरहँदा उसले जीवनको अरू महत्वपूर्ण भागहरू पनि गुमाइरहेका हुन्छन् । राजनीतिमात्रै सबैथोक होइन नि ! एउटा निश्चित उमेर भइसकेपछि परिवार, समाजका लागि पनि आफ्ना अनुभवका साथै खुशी बाँड्न सकिन्छ नि । हाम्रो राजनीतिमा यो संस्कारको अभाव देखिन्छ ।

५/६ जना शीर्षनेताले नै २०/२५ वर्षदेखि घुमिघुमी पार्टी र सरकार दुबैतिर नेतृत्व लिइरहेका छन् । सर्वसाधारणले परिवर्तनको आभास गर्न पाएका छैनन् । यसबारे तपाईँलाई कस्तो लाग्छ ?

राजनीतिक दलमा नेतृत्व परिवर्तन महाधिवेशनबाटै हुने हो । तर हाम्रो समस्या के हो भने दलमा लागेका आशलाग्दा युवानेताहरूले पनि जिम्मेवारीवोध गर्न नसकेको हो कि जस्तो लाग्छ । उनीहरूले पनि आफूलाई समयसापेक्ष अगाडि बढाउन सकिरहेका छैनन् । उनीहरू पनि संरक्षणवादी संस्कारबाट हुर्केको देखिन्छ । अर्को, हामीकहाँ राजनीतिक दलको प्रकृति नै त्यस्तो भयो । जब दल नीतिभन्दा नेता केन्द्रित हुन्छ तब त्यहाँ सत्ता परिवर्तन भएर नयाँपुस्तालाई आउन अप्ठ्यारो हुन्छ । कसले नयाँ विचार ल्याउँछ त्यसैको आधारमा दलमा नेतृत्व परिवर्तन हुनुपर्ने हो । तर हाम्रा दलहरू नीतिभन्दा पनि नेतृत्वप्रधान भएकाले वर्षौंदेखि उही अनुहारहरू दोहोरिइरहेका छन् ।

हाम्रा दल र तिनका नेता/कार्यकर्ताहरू किन महाधिवेशनका बेलामात्र ब्युँझन्छन् ?

यो हाम्रा दलहरूलाई कमजोर बनाउने अर्को रोग हो । दलहरू महाधिवेशनका बेलामात्र जनतामाझ जाने र त्यसभन्दा अघिपछि केही कामै गर्दैनन् । जनतासमक्ष पुग्दैनन् । दलहरूभित्र आन्तरिक लोकतन्त्र नभएका कारण यो समस्या आएको हो । दलहरूमा जति आन्तरिक अभ्यास बढ्दै जान्छ त्यति नै मात्रामा उनीहरूले राम्ररी काम गर्न सक्छन् । दलहरूभित्र थुप्रै जनशक्ति त्यतिकै रूमल्लिइरहेको छ । पार्टीहरूले तिनलाई सही ठाउँमा जिम्मेवार बनाउन सकिरहेका छैनन् । पछिल्लो समय राजनीतिले नै सबैकुरा ‘डेलिभरि’ गर्न थालेपछि राजनीतिमा लागेर पदमात्र ओगट्ने प्रवृत्ति बढेको छ । यसोभएपछि नयाँ मान्छे राजनीतिमा प्रवेश गर्नै सक्दैन ।

संघीय संरचनामा गइसक्दा पनि दलका नेता/कार्यकर्ताहरूको केन्द्रिकृत मानसिकता हट्न नसकेको जस्तो लाग्दैन ?

राजनीति गर्ने धेरैजसो मान्छेहरू चाहे केन्द्रीय तहका हुन् वा वडा तहका, ती काठमाडौं केन्द्रित नै छन् । काठमाडौंमा बस्ने अनि राजनीतिचाहिँ गाउँको गर्ने । यो अहिले हाम्रो राजनीतिमा देखिएको सबैभन्दा ठूलो विकृति हो । काठमाडौंमा बस्नेले न गाउँको समस्या बुझ्न सक्छ, न उसले दललाई बलियो बनाउन सक्छ, न जनताको चाहनाअनुसार काम गर्न सक्छ—यो ठूलो रोग हो । यो केन्द्रिकृत मनस्थितिकै उपज हो । हामीले संविधानमा संघीयताका कुरा लेख्यौं, विकेन्द्रीकरणको कुरा गर्‍यौं तर राजनीतिक संस्कार/व्यवहारचाहिँ झन् केन्द्रिकृत बनाउँदै लग्यौं । झन् महंगो बनाउँदै लग्यौं ।

राजीनीति महँगो हुनुका थप कारण अरू पनि छन् कि ?

हिजो र आज राजनीतिमा लाग्ने मानिसहरूको सोच नै फरक छ । हिजोका राजनीतिकर्मीहरू सादगी जीवन बिताउँथे । समाज परिवर्तनका केही उद्देश्यसहित राजनीतिमा होमिन्थे । देश, समाज र लोकतन्त्रका लागि केही गरौं भनेर लागेका मानिसहरू कांग्रेस, एमाले, माओवादीलगायत धेरै दलहरूमा भेटिन्थे । तर पछिल्लो समय राजनीति विशुद्ध पेसाको रूपमा विकास भयो । सेवाको स्थानमा रहेको राजनीति ‘करिअर’ को रूपमा आयो । अर्को, समाज नै पुँजीवाद र भौतिकवादले जेलिएको छ । त्यसको असर दलमा पनि देखिने नै भयो । समाजका लगभग सबै मानिस ‘मनी’ र ‘मटेरियल’ (पैसा र पदार्थ) कसरी संग्रह गर्ने भनेर त्यसैको पछि लागिरहेको अवस्था छ । समाजको चरित्र नै पुँजीवादी भइसकेको छ । पुँजीवादी चरित्र भएको समाजमा सस्तो राजनीति हुन सक्दैन । त्यसकारण हामीले समाज र राजनीतिको संरचना नै परिवर्तन गरेर सादगी बनाउन सक्यौं भनेमात्र राजनीति सस्तो बनाउन सक्छौं । समाजको चरित्र पुँजीवाद र भौतिकवादतिर उन्मुख छ तर हामी सेवामुखी राजनीति खोजिरहेका छौं । यो एकापसमा मिलिरहेको छैन ।

पुँजीवाद र भौतिकवादको जञ्जालमा फसिरहेको राजनीतिलाई कसरी जनमुखी बनाउने ?

महाधिवेशनका बेला यसबारे छलफल हुनुपर्ने थियो । पुँजीवाद र भौतिकवादको घनचक्करबाट राजनीतिलाई कसरी जनमुखी बनाउने भन्नेबारे बहस हुनुपर्थ्यो । तर यसतर्फ दलहरूको ध्यान गइरहेको देखिँदैन । अर्को, राजनीतिक दलको चाहनाअनुसार समाजलाई अगाडि लैजाने हो कि समाजको चाहनाअनुसार दल चलाउने हो ? अहिले समाजको चाहनाअनुसारभन्दा पनि दलको चाहनाअनुसार समाजलाई अगाडि बढाउने प्रवृत्ति बढेको छ । अर्थात् राजनीतिक दलले जे बेच्न खोजिरहेको छ त्यो समाजले किन्न चाहिरहेको छैन । यसको असर मूलधारका राजनीतिक दलहरूमा पर्ने नै भयो । अनि यसको फाइदा कार्यक्रमिक राजनीतिक दल वा समूहहरूले लिइरहेका छन् ।

प्रकाशित : मंसिर ५, २०७८ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्

रमणीय बल्थली [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — उपत्यका आसपासको पर्यटकीय र रमणीय ठाउँमध्येमा पर्छ बल्थली । काभ्रेपलान्चोकको पनौती नगरपालिका-११ मा पर्ने बल्थली क्षेत्र रमणीय त छँदैछ, त्यहाँबाट देखिने हिमाली दृश्य पनि उत्तिकै मनमोहक छन् । गणेश हिमाल, लाङटाङ हिमाल, दोर्जे लाक्पालगायत अवलोकन गर्न सकिने भएकाले यस क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि रोजाइको गन्तव्यको रुपमा लिइन्छ ।

त्यस्तै साइकल यात्राका सौखिनहरूको रोजाइमा पर्ने उत्कृष्ट गन्तव्य बल्थली जान सबैभन्दा सजिलो रुट कोटेश्वरबाट अरनिको राजमार्ग हुँदै साँगाभञ्ज्याङ, बनेपा, पनौती, खोपासी रहेको अनुभवीहरु बताउँछन् । भक्तपुरबाट च्यामासिंह, नालाको बाटो भएर पनि बनेपा पुग्न सकिन्छ । कोटेश्वर–बनेपाको दूरी करिब २० किलोमिटर र बनेपाबाट पनौती ७ किलोमिटर रहेको छ ।


प्रकाशित : मंसिर ५, २०७८ १८:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×