प्रतिनिधि चयनमा पार्टीको विधि, पद्धति र निर्णय विपरीतका क्रियाकलाप भए : उपाध्यक्ष रावल

'दसाैं राष्ट्रिय महाधिवेशन स्वच्छ र निष्पक्ष किसिमले हुनुपर्छ भन्ने सबैको चाहना र पार्टीको आवश्यकता हो । तर यस्तो चाहना र आवश्यकताविपरीत कतिपय स्थानमा पार्टी सदस्यता वितरण, नवीकरण तथा प्रतिनिधि चयनमा पार्टीको विधि, पद्धति र निर्णय विपरीतका क्रियाकलाप भएका छन् ।'

मंसिर १, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — महाधिवेशनका लागि प्रतिनिधि चयनका क्रममा पार्टीको विधि, पद्धति र निर्णय विपरीतका क्रियाकलाप भएको भन्दै एमाले उपाध्यक्ष भीम रावलले ती गलत निर्णय सच्याउनुपर्ने माग गरेका छन् । 

उपाध्यक्ष रावलले बुधबार विज्ञप्ति जारी गरेर कैलालीलगायत विभिन्न जिल्लामा महाधिवेशन प्रतिनिधि चयन स्वच्छ रूपमा नभएको भन्दै असन्तुष्टि जनाएका हुन् । 'कैलाली लगायतका कतिपय जिल्लामा सदस्यता वितरण, नवीकरण र प्रतिनिधि चयनमा भइरहेको बेथितिबारे मैले पार्टीका बैठकहरूमा कुरा उठाउनुका साथै  पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखलाई जानकारी गराई त्यस्ता क्रियाकलाप रोकी विधि र पद्धतिसम्मत किसिमले काम गर्न निर्देशन हुन मैले मात्र होइन अरुबाट पनि माग गरिएको थियो । तर त्यस्ता गतिविधि रोकिएको  देखिएन,' उनले भनेका छन्, 'बिडम्बना, प्रतिनिधि चयनको कुनै विधिवत् प्रक्रियाबिना धनगढीबाट कथित प्रतिनिधिको नाम घोषणा गरिएको छ । यसका विरुद्ध उक्त क्षेत्रका १२०० बढी पार्टी सदस्यहरुले हस्ताक्षर गरी पार्टीमा उजुरी गरेका छन् ।'

अध्यक्ष केपी शर्मा ओलीले ती गलत निर्णय सच्याउनुपर्ने रावलको माग छ । 'यसको पार्टी अध्यक्ष र संगठन विभागबाट सुनुवाई होस् र पार्टीको निर्णय–निर्देशन विपरीत कथित प्रतिनिधि चयन रद्द गरी विधिसम्मत् किसिमले प्रतिनिधिको चयन गरियोस्,' रावलको विज्ञप्तिमा उल्लेख छ । 

एमाले उपाध्यक्ष रावलको विज्ञप्ति:

प्रेस वक्तव्य

मिति : २०७८।०८।०१

पार्टीमा उत्पन्न अन्तरविरोध र समस्याहरूको समाधान गर्न तथा पार्टीलाई विधि र पद्धतिसम्मत किसिमले चलाउँदै एकताबद्धरुपमा अगाडि बढ्नको लागि १० बुँदे सहमति भई त्यसको कार्यान्वयनको लागि अन्तरपार्टी निर्देशन- १२ जारी भएको थियो । यही भावनाका साथ विधि र पद्धतिको पूर्ण पालना गरी दसाैं राष्ट्रिय महाधिवेशन स्वच्छ र निष्पक्ष किसिमले हुनुपर्छ भन्ने सबैको चाहना र पार्टीको आवश्यकता हो । तर यस्तो चाहना र आवश्यकता विपरीत कतिपय स्थानमा पार्टी सदस्यता वितरण, नविकरण तथा प्रतिनिधि चयनमा पार्टीको विधि, पद्धति र निर्णय विपरीतका क्रियाकलाप भएका छन् ।

कैलाली लगायतका कतिपय जिल्लामा सदस्यता वितरण, नवीकरण र प्रतिनिधि चयनमा भइरहेको बेथितिबारे मैले पार्टीका बैठकहरूमा कुरा उठाउनुका साथै  पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखलाई जानकारी गराई त्यस्ता क्रियाकलाप रोकी विधि र पद्धतिसम्मत किसिमले काम गर्न निर्देशन हुन मैले मात्र होइन अरुबाट पनि माग गरिएको थियो । तर त्यस्ता गतिविधि रोकिएको  देखिएन । यसको ज्वलन्त उदाहरण कैलाली जिल्लाको निर्वाचन क्षेत्र नम्बर २, लम्की चुहा नगरपालिकामा प्रतिनिधि चयनमा भएको चरम स्वेच्छाचारी कार्यलाई लिन सकिन्छ । समयमै त्यहाँको वस्तुतथ्यबारे पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखलाई लिखित र मौखिकरुपमा जानकारी गराउँदै विधिसम्मत् प्रतिनिधि चयनको काम हुन आग्रह गरिएको थियो ।  बिडम्बना, प्रतिनिधि चयनको कुनै विधिवत् प्रक्रिया बिना धनगढीबाट कथित प्रतिनिधिको नाम घोषणा गरिएको छ । यसका विरुद्ध उक्त क्षेत्रका १२०० बढी पार्टी सदस्यहरुले हस्ताक्षर गरी पार्टीमा उजुरी गरेका छन् । यसको पार्टी अध्यक्ष र संगठन विभागबाट सुनुवाई होस् र पार्टीको निर्णय-निर्देशन विपरीत कथित प्रतिनिधि चयन रद्द गरी विधिसम्मत् किसिमले प्रतिनिधिको चयन गरियोस् ।

२०७७ साल चैत मसान्तसम्म सदस्यता प्राप्त गरेका व्यक्तिहरूले मात्र प्रतिनिधि चुन्न र चुनिन पाउने, निर्वाचन कमिटीको गठन गरी निर्धारित प्रणाली अनुसार विधिवत् प्रतिनिधिको चयन गर्नुपर्ने स्पष्ट पार्टी निर्देशन विपरीत उम्मेदवारीको दरखास्त दिननदिने, सहमति नै नभई, निर्वाचन नै नगरी बलजफ्ती प्रतिनिधिको नाम घोषणा गरिनु अवैध हो । यस्तो क्रियाकलापप्रति असन्तुष्टि र विरोध प्रकट हुने क्रममा विभिन्न ठाउँबाट पार्टीमा लिखित र मौखिक उजुरी पर्नुका साथै जिल्ला कमिटीका सदस्यले पदबाट राजीनामा दिनेसम्मको स्थिति देखिएकोे छ ।

पार्टीले फुटको सामना गरिरहेको बेला उक्त प्रकारका क्रियाकलाप हुनु अत्यन्त दुःखको कुरा हो र यसले पार्टीलाई गम्भीर क्षति पुर्‍याउँछ । अतः उक्त प्रकारका पार्टी निर्णय र विधि–पद्धति विपरीतका कार्यलाई बदर गरी दसौं महाधिवेशनको स्वच्छता, निष्पक्षता, गरिमा र विश्वसनीयताको रक्षा गर्न उच्च नेतृत्व एवम् सम्बन्धित सबैमा हार्दिक आग्रह गर्दछु ।                                                                         

                                                                                             भीम रावल

                                                                                              उपाध्यक्ष, केन्द्रीय कमिटी

                                                                                               नेकपा (एमाले)   

एमाले महाधिवेशनएमाले

कान्तिपुर

Link copied successfully