अन्य पार्टीमा गइसकेका कतिपयको नाम अझै पनि एमालेको पार्टी सदस्यमा सूचीकृत
ताप्लेजुङ — चार वर्षअघि स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट निर्वाचित फुङलिङ नगरपालिका–३ का वडाध्यक्ष युवराज बरालको नाम एमालेको सदस्यमा छ । बराल गत असोजमा भएको अधिवेशनमा कांग्रेसको फुङलिङ नगर सभापतिका प्रतिस्पर्धीसमेत हुन् ।
उनको सबै विवरण मिल्ने भएकाले एमालेका महाधिवेशन प्रतिनिधि छनोटमा मतदानमा सहभागी गराउनबाट रोक्न मतदान अधिकृतलाई अप्ठ्यारो हुन सक्छ । भ्रातृ संगठन अनेरास्ववियु हुँदै एमालेको संगठित सदस्य भएका उनले स्थानीय तहको निर्वाचनभन्दा एकाध वर्षअघि नै कांग्रेस प्रवेश गरेका थिए । एमाले उम्मेदवार आफ्ना सहोदर दाजु राम बराललाई पराजित गरेर वडाध्यक्ष बनेका हुन् ।
नेकपा (एकीकृत समाजवादी) का जिल्ला कमिटी सचिव मोहन न्यौपानेको नाम पनि एमालेको पार्टी सदस्यबाट हटेको छैन । महाधिवेशन प्रतिनिधि छनोटमा मतदान गर्न पाउने व्यक्तिहरूको सूचीमा उनको नाम पनि कायम छ । एमालेबाटै फुङलिङ नगरपालिका–२ मा वडाध्यक्ष जितेका न्यौपाने फुङलिङ नगरपालिकाका प्रवक्ता पनि हुन् । न्यौपाने अहिले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा जिल्ला कमिटीका अगुवा नेतामध्येमा पर्छन् ।
बराल र न्यौपाने मात्रै नभएर अर्को पार्टीमा गइसकेका कतिपयको नाम अझै पनि एमालेको पार्टी सदस्यमा छ । तिनै सदस्यले महाधिवेशन प्रतिनिधि छान्नका लागि मंगलबार मतदान गर्दै छन् । एमाले अधिवेशन आयोजक समितिका जिल्ला संयोजक बलबहादुर साम्सोहाङ नामावली अपडेट गराउने क्रममा कतिपयको नाम आए पनि उनीहरूले मतदान गर्न नपाउने बताउँछन् । ‘हामीले वडामा पठाउँदा कतिपयको नाम त जिल्लाबाट सच्याएर पठाएका छौं,’ साम्सोहाङले भने, ‘नसच्चिएको, नाम भएको तर अर्को पार्टीमा गएकाको हकमा निर्वाचन समितिले निर्णय गरेर मतदान गराउँछ,’ उनले थपे, ‘अर्को पार्टीमा गइसकेकाहरू स्वभावैले मतदान गर्न आउँदैनन्, उनीहरूलाई पनि अप्ठ्यारो हुन्छ तर म एमाले नै हुँ भन्दै आए भने त पाउने भए नि फेरि ’ आफ्नो पार्टीको को हो, को होइन भनेर बुझ्नकै लागि वडाध्यक्षलाई मतदान अधिकृत बनाइएको साम्सोहाङ बताउँछन् ।
प्रतिनिधिका लागि दुई वटा प्यानल बनाएर चुनावी मैदानमा उत्रिएकाले अर्को पार्टीमा गएका नाम भएकाहरू नआउलान् भन्ने अवस्था नरहने एमालेकै कतिपय जिल्ला नेता बताउँछन् । एक नेताले भने, ‘यो त जित र हारको खेल हो, जित्नका लागि उम्मेदवार बनेका छन् र जिताउन खोज्नेको जमात पनि छ, त्यसैले नआउलान् भन्न सकिँदैन ।’ एकीकृत समाजवादीका सचिव न्यौपाने आफू काठमाडौंमा भएकाले भोट हाल्न नआउने बताउँछन् । ‘म जिल्लामै भएको भए पनि भोट हाल्न त जाने थिइनँ, त्यो मैले छोडेको पार्टी हो,’ उनले थपे, ‘अहिले सुन्दै छु जिताउने/हराउने निर्णायक मतचाहिँ हाम्रो पार्टीका साथीहरूको हुन्छ भन्दैछन् रे ।’
बिनातयारी जबर्जस्ती ढंगले यसरी नै पार्टी चलाउन खोजेकाले आफूले छोडेको उनले बताए । एकीकृत समाजवादीमा गएकाहरू भोट हाल्न नजाने पनि उनले दाबी गरे । कांग्रेसका बराल पनि भोट हाल्न नजाने बताउँछन् । तर कांग्रेसमा प्रवेश गरेर प्रदेश/क्षेत्रीय सचिव भइसकेकाको नाम पनि एमालेको पार्टी सदस्यमा देखेको भन्दै उनले आश्चर्य जनाए । एकीकृत समाजवादीको जिम्मेवार पदमा बसिसकेका कतिपयले यसैमा मतदान गर्नका लागि म गएको होइन भनेर बसिरहेको पनि एमालेकै कार्यकर्ता बताउँछन् ।
जिल्लामा ८ हजार २ सय ४९ पार्टी सदस्य रहेको साम्सोहाङले जनाए । तिनैले मंगलबार महाधिवेशन प्रतिनिधि छनोट गर्नेछन् । कात्तिक २७ मा छान्नुपर्ने प्रतिनिधि ताप्लेजुङमा ३० मा मात्रै छान्न लागिएको हो । व्यवधान नआएमा बुधबार बेलुकासम्म परिणाम आउने जनाइएको छ । मतपत्र फुङलिङमै ल्याएर गणना गरिने भएकाले निर्वाचन सकिनासाथ मतपत्र लिएर हिँड्न भनिएको र बुधबार बिहान १० बजेसम्म सबैतिरको मतपत्र आइसक्ने साम्सोहाङले बताए ।
