पूर्वी नवलपरासी — नेकपा एमालेको महाधिवेशनका लागि प्रतिनिधि छनोटमा जिल्ला नेतृत्वले एक पक्षीय निर्णय गरेको भन्दै उम्मेदवारहरूले केन्द्रीय कमिटी र निर्वाचन समितिको ध्यानाकर्षण गराएका छन् ।
जिल्ला नेतृत्वले विधानविपरीत मनपरी आफ्ना मान्छे छनोट गरेको भन्दै युवासंघका केन्द्रीय सदस्य मदन गिरी, अधिवक्ता भुपेन्द्र खनाल र एमाले गण्डकी प्रचार विभाग सदस्य विद्रोही गिरीले पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला कमिटीलाई ध्यानाकर्षणपत्र पठाएर प्रतिनिधि छनोट प्रक्रियामा असहमति जनाएका छन् ।
महाधिवेशन प्रतिनिधि बन्न पार्टी सदस्यता लिएको १० वर्ष पुग्नुपर्ने प्रावधान लत्याएर आफ्ना मान्छे छनोट गरेको र जिल्ला निर्वाचन समिति 'रबर स्टयाम्प' बन्दै आफ्ना कुरा नसुनेको उनीहरूको गुनासो छ । उनीहरूले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रिया नै अवैध भएको आरोप लगाएका छनन् ।
आफूहरूको उम्मेदवारीलाई निर्वाचन प्रक्रियामा नलगेर एकलौटी ढंगबाट सर्वसम्मत छनोट सूचीको घोषणा गरेपछि उनीहरूले विरोध जनाएका हुन् । उनीहरू भने महाधिवेशन प्रतिनिधिका उम्मेवार थिए ।
यहाँका ८ वटा पालिकामध्ये गैंडाकोट नगरपालिकामा नगर समिति चयनका लागि निर्वाचन भएको थियो । अन्य ७ वटा पालिकामा जिल्ला नेतृत्वले सर्वसम्मत प्रतिनिधि चयन भएको घोषणा गरेको थियो ।
