सर्वसम्मत नेतृत्व चाहे पनि अहिलेसम्म ओलीले निकट नेताहरुसँग पनि आफ्नो रणनीति खुलाएका छैनन्
काठमाडौँ — नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनका लागि शनिबार एकैपटक प्रतिनिधि छनोट भएसँगै नेताहरू आगामी नेतृत्व चयनका विषयमा केन्द्रित भएका छन् । मंसिर १० देखि १२ सम्म चितवनमा हुने महाधिवेशनले २ सय २५ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्दै छ । अहिले धेरैको चासो पदाधिकारीमा को–को आउँछन् भन्नेमा छ । पदाधिकारीका आकांक्षीले आन्तरिक दौडधुप पनि सुरु गरेका छन् ।
विधानअनुसार दसौं महाधिवेशनबाट १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिव गरी १५ पदाधिकारी निर्वाचित हुनेछन् । नवौं महाधिवेशनबाट निर्वाचितमध्ये १२ पदाधिकारी अहिले एमालेमा छन् । हाल कायम रहेका सबैजसो पदाधिकारी पदोन्नति हुने वा नभए सोही पदमा दोहोरिन चाहेका छन् । ईश्वर पोखरेल भने दुई कार्यकाल महासचिव बनेका कारण सोही पदमा आउन विधानले नै रोक्छ, अन्य पदाधिकारी भने दोहोरिन सक्छन् ।
नयाँ कमिटीको पदाधिकारीमा अन्य नेता पनि आकांक्षी भएकाले एमालेभित्र नेतृत्व व्यवस्थापनको विषय जटिल बन्ने देखिन्छ । अध्यक्ष केपी शर्मा ओलीनिकट मात्रै नभएर एकीकरणको प्रक्रियाबाट आएका पूर्वमाओवादी केन्द्रका नेताहरूको चाहना र दाबी पदाधिकारीमा छ । हाल एमालेभित्र अध्यक्ष ओली पक्ष, दसबुँदे सहमति गर्ने नेताहरू र पूर्वमाओवादी गरी तीन समूह अस्तित्वमा छन् । पदाधिकारीमा तिनै समूहका नेताको भिन्दाभिन्दै रणनीतिसहितको दाबी छ । ओली एकताको सन्देश दिने गरी शक्ति सन्तुलन पनि मिलाउने र अनुकूल टिम बनाउने योजनामा छन् । ओली समूहमै रहेका नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेलसहितका नेता पनि जोडघटाउमा सक्रिय देखिएका छन् । पूर्वमाओवादी नेताहरू ओलीसँग सहकार्य गरेर धेरै पद प्राप्त गर्ने रणनीतिमा छन् भने दसबुँदे सहमति गर्ने नेताहरू सम्माजनक पद पाए सर्वसम्मतिका लागि तयार, नभए प्रतिस्पर्धामा उत्रने दाउमा छन् ।
ओली दसौं महाधिवेशनमा सर्वसम्मत अध्यक्ष बन्ने रणनीतिमा छन् तर वर्तमान उपाध्यक्ष रावल र उपमहासचिव घनश्याम भुसाल ओलीलाई चुनौती दिने मनस्थितिमा छन् । दसबुँदे सहमति कार्यान्वयनमा ओली इमान्दार नभएको यी दुईको बुझाइ छ । गृहजिल्ला अछाम पुगेर उपाध्यक्ष रावलले अध्यक्षमा उठ्ने बताएका छन् । उपमहासचिव भुसालले निकटहरूसँग रावल वा आफूमध्ये एक जना अध्यक्ष लड्ने तयारीमा रहेको सुनाएका छन् । भुसाल पनि पार्टीभित्र केही केन्द्रीय सदस्यसँग परामर्शमा छन् । जतिसुकै मत आए पनि उनी ओलीलाई सर्वसम्मत बन्न नदिने रणनीतिमा छन् ।
‘सर्वसम्मत र निर्विकल्प अध्यक्षका रूपमा ओलीलाई जिम्मेवारी दिनुहुँदैन, यसो गरियो भने पार्टीमा लोकतान्त्रिक चरित्र कमजोर हुन्छ भन्ने उहाँको बुझाइ छ,’ भुसालनिकट एक नेताले भने, ‘जतिसुकै मत आए पनि उहाँ आफ्नो समूहबाट कोही न कोहीलाई अध्यक्षमा अगाडि सार्ने तयारीमा हुनुहुन्छ ।’
एक वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, महासचिव पोखरेल, पूर्वमाओवादी नेता रामबहादुर थापा र स्थायी कमिटी सदस्य नेम्वाङले चाहना व्यक्त गरेका छन् । गोदावरीमा गत महिना भएको विधान महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्न माग गर्ने अधिकांश प्रतिनिधि महासचिव पोखरेलनिकट थिए । एमाले विधानले कुनै पनि पदाधिकारी दुई कार्यकालभन्दा बढी एउटै पदमा निर्वाचित हुन रोक लगाएका कारण महासचिव पोखरेललाई व्यवस्थापन ओलीका लागि चुनौती बनेको छ । पहिलेदेखि झिनो स्वरमा अध्यक्षमा दाबी गरेका पोखरेलले पछिल्लो समय भने ओली निर्विकल्प भएको बताउँदै आएका छन् । ओलीको सद्भाव पनि पोखरेलतर्फै रहेको नेताहरू बताउँछन् ।
सर्वसम्मत नेतृत्वमा सहमति भए रावल पनि यो पदका लागि आकांक्षी हुन् । अर्को महाधिवेशनबाट ७० वर्षे उमेर हद लाग्ने भएकाले पोखरेल र रावल अध्यक्ष नभए पनि वरिष्ठ उपाध्यक्ष बन्न चाहन्छन् । ओलीले पूर्वमाओवादी नेता थापालाई वरिष्ठ उपाध्यक्ष बनाउन नसक्ने अवस्थामा उपाध्यक्ष बनाउन सक्छन् ।
एक महासचिवमा हालका उपमहासचिव विष्णु पौडेल, नवौं महाधिवेशनमा झिनो मतले महासचिवमा पराजित सुरेन्द्र पाण्डे, लुम्बिनीका पूर्वमुख्यमन्त्री शंकर पोखरेल र गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मुख्य आकांक्षी छन् । पौडेललाई सुवास नेम्वाङसहित दसबुँदे सहमति गर्ने केही नेताको पनि समर्थन छ । एक उपमहासचिवका लागि हालका सचिव प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य मुख्य आकांक्षी छन् । तर ओलीको सद्भाव ज्ञवालीलाई रहेको नेताहरू बताउँछन् ।
७ सचिवमा रघुवीर महासेठ, किरण गुरुङ, छविलाल विश्वकर्मा, विष्णु रिमाल, खगराज अधिकारी, बिन्दा पाण्डे, लेखराज भट्ट, भानुभक्त ढकालसम्मको दाबी रहेको नेताहरू बताउँछन् । अहिले सचिवमा प्रदीप ज्ञवाली, भीम आचार्य, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र योगेश भट्टराई छन् । उपाध्यक्षको दाबी गरिरहेका टोपबहादुर रायमाझीले कम्तीमा पनि सचिव बन्ने चाहना राखेका छन् । नवौं महाधिवेशनमा ओली प्यानलबाट उठेका महासेठ र रिमाल सचिवमा पराजित भएका थिए । त्यतिबेला वामदेवनिकट किरण गुरुङ उपाध्यक्षमा पराजित भएका थिए ।
ओलीको प्रयास जटिल बन्दै
आकांक्षी धेरै हुँदा सर्वसम्मत नेतृत्व चयन गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रयास जटिल बन्दै गएको छ । असन्तुष्ट र पूर्वमाओवादीलाई मात्र होइन, ओलीलाई आफ्नै समूहभित्र धेरै आकांक्षीको व्यवस्थापन गर्नुपर्ने चुनौती आइलागेको छ ।
सर्वसम्मत नेतृत्व चाहे पनि अहिलेसम्म ओलीले आफ्नो रणनीति निकट नेताहरूसँग समेत खुलाएका छैनन् । त्यसैले पदाधिकारीको नेतृत्वबारे अनिश्चितता अझै गहिरो देखिएको छ । ‘अहिलेसम्म अध्यक्षले कसलाई के जिम्मेवारी दिनुहुन्छ भन्ने केही खोल्नुभएको छैन, अन्तिमसम्म सबै आकांक्षी हेर्ने र पार्टीभित्रको शक्ति सन्तुलन मिलाउँदै आफूअनुकूल टिम बनाउने उहाँको रणनीति देखिन्छ,’ एमालेका एक पदाधिकारीले भने, ‘तर आफ्नै समूहभित्र पनि पदाधिकारीका आकांक्षी धेरै छन्, त्यसैले टिम मिलाउन सहज छैन ।’
पार्टी विधानले केन्द्रीय कमिटीको निर्वाचनमा कम्तीमा एकतिहाइ महिलासहित नेपालको विविधता प्रतिविम्बित हुने गरी समावेशीकरण गर्ने व्यवस्था गरेको छ तर १५ सदस्यीय पदाधिकारीमा महिला राख्नैपर्ने बाध्यता छ । यस्तोमा सर्वसम्मत नेतृत्व चयन गर्दा पदाधिकारी समावेशी बनाउन सहज हुनेछ । महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी, अध्यक्षको नेतृत्वमा पदाधिकारी सदस्य रहेको केन्द्रीय सचिवालय, महासचिवको नेतृत्वमा उपमहासचिव र सचिवहरू सदस्य रहेको केन्द्रीय कार्यालय र केन्द्रीय विभागहरू गठन गर्नेछ ।
