मकवानपुर — नेकपा (एमाले)को महाधिवेशनका लागि मकवानपुरबाट सर्वसम्मत रुपमा १७ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् । ९ हजार २ सय ६८ जना संगठित सदस्य रहेको एमाले मकवानपुरबाट राष्ट्रिय महाधिवेशनका लागि १ जना दलितसहित १७ जना प्रतिनिधि सर्वसम्मत चुनिएका हुन् ।
कात्तिक २७ गते हुने महाधिवेशन प्रतिनिधि छनोटका लागि निर्वाचन कार्यतालिकाअनुसार बिहीबार ७३ जनाको उमेदवारी परेको थियो । तर, एकैदिनमा सर्वसम्मत रुपमा प्रतिनिधि छनोट सकिएको निर्वाचन अधिकृत देवराज रिमालले जानकारी दिए ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट कृष्ण दाहाल, रामचन्द्र राई, बद्री लम्साल, कमल विष्ट, विरबहादुर घलान, फुर्वादोर्जे लामा, जुनेली श्रेष्ठ र सीता विष्ट छनौट भएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिका रुपमा सुवासचन्द्र ठकुरी, एकलाल श्रेष्ठ, लालबहादुर थापा हिदम लामा, महेश बर्तौला, विष्णप्रसाद ढकाल, बरिना बल, सुमित्रा काफ्ले छनौट भएका छन् । दलित कोटामा नारायण गजमेर सर्वसम्मत प्रतिनिधि बनेका छन् ।
प्रनिधिसभा क्षेत्र नम्बर १ बाट ८ जना प्रतनिधिका लागि खुलामा ३१ जना पुरुषको र २ जना महिला अनविार्य कोटामा १० जनाको उम्मेदवारी परे पनि सहमतिमा भएको थियो । प्रतिनिधिसभा क्षेत्र नम्बर ८ तर्फ आठ जना प्रतिनिधिका लागि खुलातर्फ २१ जना पुरुष र २ जना महिला कोटामा ८ जना महिलाको उम्मेदवारी परेको थियो । दलित कोटामा तीन जनाको उम्मेदवारी परेको थियो ।
