काठमाडौँ — गृहजिल्ला अछाम पुगेका उपाध्यक्ष भीम रावलले मंगलबार नेकपा (एमाले)को आसन्न दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष उठ्ने संकेत गरेका छन् । नेता तथा कार्यकर्ताहरूले अध्यक्षमा उठ्नुपर्छ सल्लाह दिएको भन्दै उनीहरूको भावना कदर गर्ने रावलले बताएका थिए ।
तर काठमाडौं फर्केपछि यस विषयमा औपचारिक निर्णय र घोषणाको तयारी भएको बताएका छन् ।
१० बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै असन्तुष्ट रहेका रावलको उम्मेदवार बन्ने चाहनाले मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा केपी शर्मा ओलीको निर्विकल्प अध्यक्ष बन्ने चाहनामा लगामा लाग्ने अवस्था छ ।
ओली निकटका नेताहरूले ओली निर्विकल्प भएको भन्दै अहिले प्रतिस्पर्धा गर्नुको खासै अर्थ नभएको दाबी गर्दै आएका छन् । उनीहरूले देशको राजनीति ओली समर्थक र विरोधीमा ध्रुविकरण भएको अवस्थामा अध्यक्षमा दोहोर्याउनु पर्ने बताउँदै आएका छन् । ओली निकट नेताहरूले पार्टी विभाजन भएको अवस्थामा एक कार्यकाल पार्टी र एक चुनाव ओलीकै नेतृत्वमा लड्ने बताउँदै आएका छन् । आठ वर्षअघिको नवौं महाधिवेशनपछि जिम्मेवारी सम्हाल्दै ओलीले एक कार्यकाल मात्रै नेतृत्व गर्ने बताएका थिए । तर पछिल्लो समयमा एक कार्यकाल पार्टी सञ्चालन गर्न चाहेको बताएका छन् ।
ओलीविरुद्ध एमाले उपमहासचिव घनश्याम भूसाल पनि प्रतिस्पर्धा गर्ने मनिस्थिति अनुसार अनौपचारिक तयारी गरिरहेका थिए । ओली पक्षसँग दस बुँदे सहमति भएसँगै एमालेमै रहेका रावलको संकेतपछि उपमहासचिव भूसालको उम्मेदवारको विषय अन्यौलमा परेको छ । दस बुँदे सहमति गर्ने दुवै नेता रावल र भूसाल दुवैबीच महाधिवेशनको नेतृत्वको विषयमा कुनै निर्णय गर्दा सहमतिका साथ औपचारिक घोषणा गर्ने सहमति भएको थियो । भूसालले भने पार्टीमा ‘जसको नीति उसैको नेतृत्व गर्नुपर्ने’ भन्दै शीर्ष पदमा दाबी गर्ने तयारीमा थिए । नवौं महाधिवेशनमा एमालेले लिएको नीति भूसालले आठौं महाधिवेशनमा प्रस्तुत गरेको पुरक राजनीतिक प्रस्तावमा आधारित थियो ।
एमालेको विभाजनबाट पार्टीभित्र चुनौति दिँदै आएका माधवकुमार नेपालसहितका नेताहरू बाहिरिएपछि पार्टीभित्र झनै शक्तिशाली बनेका ओलीले आन्तरिक प्रतिस्पर्धा सहजै जित्ने अनुमान गरिदै आएको छ । २०७० सालको दोस्रो संविधानसभाको एमाले संसदीय दल नेता बनेपछि ओली पार्टीभित्र अहिले सबैभन्दा मजबुत अवस्थामा पुगेका छन् । नवौं महाधिवेशनमा भने ओलीले तीव्र प्रतिस्पर्धामा नेपाललाई करिब ५० मतको अन्तरले मात्रै पराजित गरेका थिए ।
तर रावलले महाधिवेशनमा कस्तो परिणाम आउँछ भन्ने विषयमा खासै चासो र अर्थ नहुने बताएका छन् । उनले सातौं महाधिवेशनमा ओली माधवकुमार नेपालसँग पराजित भएको उदाहरण दिने गरेका छन् । सातौं महाधिवेशनमा ओली निकै कमजोर रहेका थिए । बुटबलमा भएको आठौंमा माधवकुमार नेपालको साथ लिएर अध्यक्षमा कडा टक्कर दिएका थिए भने नवौं महाधिवेशनमा खनालको साथ पाएका नेपाललाई पराजित गरेका थिए ।
तर अर्को महाधिवेशनमा रावलले कार्यकारी पदमा प्रतिस्पर्धा गर्न भने पाउने छैनन् । ओली इतरको वैकल्पिक नेता बनेर शक्ति आर्जन गरेर ११ औं महाधिवेशनमा प्रतिस्पर्धाको अवस्थामा पनि उमेरको कारणले प्राप्त गर्न सक्ने छैनन् ।
गत असोजमा गोदावरीमा भएको एमालेको पहिलो विधान महाधिवेशनले कार्यकारी पदमा उम्मेदवार हुनका लागि ७० वर्ष उमेर हदलाई निरन्तरता दिने निर्णय गरेको छ । ११ औं महाधिवेशनले पनि यही व्यवस्थालाई कायम राखे रावलले अर्को महाधिवेशनमा कार्यकारी पदमा उठ्नका लागि विधानले नै रोक्ने छ ।
गत भदौमा मात्रै रावलले ६६ बर्ष पुगेका थिए । अब अर्को महाधिवेशन हुँदा उनको उमेर ७० नाघिसकेको हुनेछ । एमाले महाधिवेशन ५–५ वर्षमा हुने गर्छ । महाधिवेशनले ओली अनुकुल हुने गरी ७० वर्षे व्यवस्थामा गरेको व्याख्यामा असन्तुष्टी व्यक्त गरेका थिए । इकान्तिपुरसँगको अन्तर्वातामा रावलले ७० वर्ष पुग्ने वित्तिकै कार्यकारी पद छाड्नु पर्ने बताएकाथिए । तर महाधिवेशनले भने ७० वर्षअघि कार्यकारी पदमा निर्वाचित भएको व्यक्तिले पुरै कार्यकाल नेतृत्व गर्न पाउने गरी व्याख्या गरेको छ । त्यस्तो अवस्थामा ओलीले आगामी महिना हुने महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि कार्यकाल भने फागुनसम्म हुन्थ्यो । आगामी फागुन ११ मा ओली ७१ वर्ष लाग्ने छन् ।
रावल गत महाधिवेशनमा रावल पाँच उपाध्यक्षमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका थिए । उनी बुटबलमा भएको आठौंमा भने उपाध्यक्षमा पराजित भएका थिए ।
रावल पार्टीको आन्तरिक विवादमा लामो समयदेखि ओलीभन्दा फरक कित्तामा रहँदै आएका नेता हुन् । नवौं महाधिवेशनमा पनि रावलले नेपाल समूहबाट प्रतिस्पर्धा गरेका थिए । ओलीको पहिलो कार्यकालमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री बनेका रावल नेकपा र त्यसपछि एमालेभित्र देखिएको विवादमा ओली विरोधी क्याम्पका प्रमुख पात्र मध्येका एक थिए । ओली र नेपालबीच विवाद समाधानका गर्नका लागि गठन गरिएको दस सदस्यीय कार्यदलमा नेपाल समूहकोतर्फबाट संयोजक रहेका थिए । एमालेभित्र कार्यदलमा भएको १० बुँदे सहमतिमा रावलले सहमति गरेपनि माधवकुमार नेपालले त्यसलाई अस्वीकार गरे ।
