एमाले महाधिवेशन प्रतिनिधि चयन : रामेछापमा १२ पदमा ६४ को उम्मेदवारी

कार्तिक २६, २०७८

टीकाप्रसाद भट्ट

रामेछाप — नेकपा एमालेको महाधिवेशनका लागि रामेछापबाट प्रतिनिधि बन्न खुलातर्फ आवश्यकभन्दा ५ गुणा धेरै उम्मेदवारी परेको छ ।

रामेछापमा खुलातर्फबाट १२ जना महाधिवेशन प्रतिनिधि छनोट हुनेमा बिहीबार निर्वाचन समितिको कार्यक्रम बमोजिम उम्मेदवारी दिने समयसीमा भित्र उक्त संख्याका लागि ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै ५ जना महिला प्रतिनिधिको कोटामा १२ जनाको उम्मेदवारी परेको छ । जिल्ला सचिव आनन्द श्रेष्ठका अनुसार महाधिवेशन प्रतिनिधिका लागि आकांक्षी धेरै भएकाले सहमतिको प्रयास हुँदैछ । सहमतिका लागि जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेलको संयोजकत्वमा ९ सदस्यीय कार्यदल बनाइएको छ ।

कार्यदलले विभिन्न चरणमा उम्मेदवारहरूसँग वार्ता गरी सहमतिको प्रयास जारी राखेको जनाएको छ । कार्यक्रम अनुसार शनिबार अपरान्हसम्म प्रतिनिधि छनोट गरिसक्नुपर्नेछ ।

महाधिवेशनमा जाने आकांक्षीहरूमध्ये कार्यदलले सबै पालिकालाई समेटने गरी प्रतिनिधि बनाउने प्रयास जारी राखेको छ । खांडादेवी र मन्थली नगरपालिकामा भने संख्या थप्न माग भएको छ । यसैबीच उत्पिडित वर्गको तर्फबाट चयन हुने २ जना प्रतिनिधि भने निर्विरोध चयन भएका छन् । निर्विरोध हुनेमा गणेश बिक र मानबहादुर बिक रहेका छन् । एमालेले जिल्लाभरका करिब १२ हजार ५ सय सदस्यहरूबाट कुल १९ जना प्रतिनिधि महाधिवेशनका लागि चयन गर्दैछ ।

एमाले महाधिवेशन

टीकाप्रसाद

Link copied successfully