एमाले महाधिवेशनको यस्तो छ तयारी

उद्घाटन नारायणगढस्थित नारायणी नदी किनारमा, बन्दसत्र सौराहामा, प्रतिनिधिलाई मतदान प्रशिक्षण दिइने

कार्तिक २९, २०७८

रमेशकुमार पौडेल

चितवन — कोभिडको लहर घटेसँगै पर्यटकीय क्षेत्र सौराहामा चहलपहल बढेको छ । जंगल सफारीमा जाने पर्यटक बोकेर गाडी कुदाकुद गरिरहेका हुन्छन् । होटल परिसरमा मानिसको उपस्थिति बाक्लिएको छ । होटल सञ्चालक र कामदार व्यस्त छन् । 

सौराहाको होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडी अचेल निकै बेफुर्सदिला भएका छन् । पर्यटक बढेका बेला एमालेको १० औं महाधिवेशनको बन्दसत्र पनि उनकै होटलमा हुँदै छ । ‘कोभिड सुस्ताएसँगै पर्यटक बढ्दा व्यस्त भइएको छ, गोष्ठी, सेमिनार र बिहेसम्मका कार्यक्रम आउन थालेका छन् । तीन/चार गतेसम्मलाई धमाधम कार्यक्रम छन् । १० गतेपछि त एमालेको बन्दसत्र हुने भएका कारण व्यवस्थापनका लागि दौडधुप चलेकै छ,’ उनले भने । बन्दसत्रमा अन्य कार्यक्रम धेरै लामो चल्ने छैन । नेतृत्व चयनका लागि मतदान मुख्य काम हुनेछ ।

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सौराहादेखि पश्चिम नारायणगढस्थित नारायणी नदी किनारमा हुनेछ । उद्घाटन कार्यक्रममा नेता, कार्यकर्ता, समर्थक शुभचिन्तक गरेर पाँच लाखभन्दा बढीलाई सहभागी गराउने एमालेको तयारी छ । बन्दसत्र नारायणगढदेखि लगभग २० किलोमिटर पर हुने भएका कारण व्यवस्थापनका लागि केन्द्रीय नेताहरू नै तयारीमा सौराहामा खटिएका छन् ।

एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे महाधिवेशनको मूल व्यवस्थापन समितिका सहसंयोजक हुन् । केही दिनयता उनी चितवनमै छन् । आइतबार दिउँसो उनी सौराहामा बन्दसत्र स्थल सेभेन स्टार होटलमै भेटिए । जिल्लाका नेता–कार्यकर्तालाई आवश्यक निर्देशन दिँदै थिए । होटल सञ्चालक दुवाडीसँग पनि व्यवस्थापनबारे जानकारी लिइरहेका थिए । ‘५ गतेदेखि एउटा कार्यालय नै यहीं रहन्छ,’ फुर्सद भएपछि पाण्डेले भने ।

बन्दसत्रमा २१ सय हाराहारी प्रतिनिधि आउने सम्भावना रहेको उनले बताए । ‘उद्घाटन सत्र सकिएलगत्तै नारायणगढबाट सबै प्रतिनिधि यतै आउनु हुन्छ । १२ गते मतदानसम्मका लागि हामीले प्रतिनिधिलाई सौराहामा बास र खानाको व्यवस्था मिलाएका छौं । ३२ सय हाराहारीमा हामीलाई यहाँका होटलका बेड आवश्यक पर्छन् । त्यसको व्यवस्थापन लगभग भयो,’ सहसंयोजक पाण्डेले भने ।

उद्घाटपछि मंसिर ११ को बिहान ८ बजे बन्द सत्र सुरु हुने उनले बताए । ‘हाम्रो राजनीतिक प्रतिवेदन, विधान र संगठनात्मक प्रस्ताव पास भइसके । बन्दसत्र लामो जाँदैन । करिब एक घण्टा चल्ला । पार्टी अध्यक्षले बोल्नुहुन्छ । अध्यक्षमण्डल घोषणा र पारित हुन्छ । अधिवेशनको आन्तरिक व्यवस्थापनका लागि आवश्यक पर्ने विभिन्न समिति बन्नेछन्,’ पाण्डेले जानकारी दिए ।

अध्यक्षमण्डलले निर्वाचन आयोगलाई निर्वाचन प्रक्रिया सुरु गर्न निर्देशन दिने उनले बताए । विधान अधिवेशनमै निर्वाचन आयोग पनि गठन र पारित भइसकेको उनको भनाइ छ । ‘निर्वाचनबाट २२५ जना चुनिँदै छन् । यो–यो आधार र विवरणमा निर्वाचन गर भनेर अध्यक्षमण्डलले भनेपछि ११ गते मध्याह्न मनोनयन सुरु हुन्छ,’ पाण्डेले भने । मंसिर ११ को साँझ ५–६ बजेसम्म फिर्ता लिने समय तोकिन सक्ने उनले बताए । ‘त्यसपछि अन्तिम नामावली निस्कन्छ, त्यो नाम सफ्टवेयरमा राख्न ६/७ घण्टा लाग्ने रहेछ । ११ गते रातभर यो काम पूरा गरेर भोलिपल्ट बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ,’ उनले भने ।

मनोनयन प्रक्रिया चलिरहँदा ११ गते दिनभर प्रतिनिधिहरूलाई मतदान प्रक्रियाबारे प्रशिक्षण दिइने पाण्डेले बताए । यसपटक एमालेले भोटिङ मेसिनबाट मतदान गराउँदै छ । ‘दिनभरि नै ट्रेनिङ दिनुपर्ने छ । भोटिङ मेसिन पहिल्यै इन्स्टल भइसकेको हुन्छ । उहाँहरूले आएर यसरी भोट हाल्ने भनेर सिकाउनु हुन्छ । ११ गते दिनभरि त्यो हुनेछ । एकचोटि टेस्ट नगरी भोट हाल्न गाह्रो छ,’ पाण्डेले भने । मतदानका लागि होटलको दुईवटा ठूला हल उपयोग हुनेछन् । मंसिर ११ मा बिहानको बन्दसत्रका लागि बाहिर खुला ठाउँमा पन्डाल र डोम बनाएर कार्यक्रम चलाउने तयारी गरेको उनले बताए ।

एमालेएमाले महाधिवेशन

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully