'एमालेले धेरै हन्डर खायो, घेराबन्दी तोड्न सर्वसम्मत नेतृत्व चयन गर्छ' - कुराकानी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
अन्तर्वार्ता

'एमालेले धेरै हन्डर खायो, घेराबन्दी तोड्न सर्वसम्मत नेतृत्व चयन गर्छ' 

फोटो र भिडियो: अंगद ढकाल

नेकपा एमाले स्थायी कमिटीका सदस्य विष्णु रिमाल अहिले दसौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीका सचिव छन् । एमालेले आयोजना गर्ने अधिकांश ठूला कार्यक्रमको व्यवस्थापनमा रिमालको भूमिका हुने गरेको छ ।

रिमालसँग मंसिर १० देखि १२ सम्म चितवनमा हुने महाधिवेशनको तयारी र पार्टीको नयाँ नेतृत्वको विषयमा ईकान्तिपुरका मणि दाहालले गरेको कुराकानी ।

एमाले महाधिवेशन संघारमा छ । व्यवस्थापन कसरी अघि बढेको छ ?

मूल व्यवस्थापनअन्तर्गत विभिन्न १२ वटा समिति छन् त्यसले आ-आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेका छन् । चेक लिस्ट नै बनाएर काम भइरहेको छ । अहिले धेरै सक्रिय भनेको प्रतिनिधि व्यवस्थापन कमिटी हो । त्यसको अधिकांश काम मंगलबार बेलुकीसम्म प्रतिनिधि छानेसँगै सकिन्छ । त्यसपछि कार्ड बनाउने र बन्दोबस्तीको विषय आउँछ ।

महाधिवेशन उद्घाटन स्थल र बन्द सत्र चल्ने नयाँ संरचना बनाउनु पर्ने देखिएको छ । गोदावरीमा भएको विधान महाधिवेशनबाट नीतिसँग सम्बन्धित विषयलाई टुंग्याइसेकेको कारण बन्द सत्र धेरै लामो हुँदैन । सौराहामा बन्द सत्र हुने भनेको विधि पुर्‍याउनमात्रै हो । नारायणी नदीको किनार उद्घाटनका लागि छानेका छौं त्यहाँ मञ्च बनाउनु पर्नेछ ।

त्यसका लागि मञ्च व्यवस्थापन र स्वयंसेवक परिचालन गर्ने दुइटा कमिटीको टोली बुधबारसम्म चितवन मुभ भइसक्छन् । बुधबारबाट मंच व्यवस्थापनको काम सुरु हुन्छ । उद्घाटन र बन्द सत्रको आवश्यक तयारीको काम सँगसँगै थाल्छौं । बन्द सत्रका लागि पालको नयाँ हल नयाँ बनाउनु पर्नेछ । अन्य हल पनि बनाउनुपर्छ । इ-भोटिङमा जाने भएकाले त्यसका लागि छुट्टै हल दिनुपर्ने हुन्छ ।

चुनावमा कुनै प्रकारको विवाद नआओस् भन्ने विशेष ध्यानमा राखिने छ । अन्यभन्दा निर्वाचनको विषयमा स-सानो कुरामा ध्यान दिनेछौं । कसैले निर्वाचनमा भएको कमिकमजोरीको कारण हारेँ भन्ने भयो भने पार्टीका नेताहरुबीचमा मै मनोमालिन्य बढ्छ ।

अर्को भनेको १० गते जनपरिचालन व्यवस्थापनको विषय हो । त्यसका लागि सुरेन्द्र पाण्डेको नेतृत्वमा परिचालन कमिटी बनाएका छौं । पालिका र वडा तहको अधिवेशन भर्खरै सम्पन्न भएकोले केही सजिलो हुने देखिन्छ । नयाँ नेतृत्व आएको छ । नेकपाकालमा मुर्छित कमिटीहरु बौरिएका छन् । जागेका वडा र पालिका कमिटीहरुमा आ-आफ्नो ढंगले योजनाहरु बनेका छन् । आगामी साता समीक्षात्मक बैठक गर्नेछौं ।

यो महाधिवेशन उद्देश्य जनपरिचालन र नेतृत्व छनोट हो । हामीले जनपरिचालन मेचीदेखि महाकालीसम्म भनेका छौं । व्यवहारिक रुपमा हेर्दा कोसीको पश्चिमदेखि कर्णाली पूर्वबाट आउनेको संख्या ठूलो हुन्छ । पाँच लाखको संख्या जुटाउने काममा साथीहरु लागिरहनु भएको छ। अर्को विषय भनेको आवास र खाद्य व्यवस्थापनको हो । महाधिवेशन बनिबनाउ ठाउँमा हुने भएकाले त्यति समस्या पर्दैन ।

यत्रो ठूलो कार्यक्रम व्यवस्थापन गर्न खोज्नु भएको छ । खर्च कति लाग्छ ?

३-४ वटा महाधिवेशनको खर्चको समीक्षा गरेका छौं । ८ ‍औं महाधिवेशन सवा २ करोड, काठमाडौं बाहिरको जनपरिचालन नगरिकन गरिएको नवौं महाधिवशेनमा सवा ४ करोड र कार्यकर्ता मात्रै परिचालन गरिएको विधान महाधिवेशनमा ५ करोड रुपैया खर्च भएको छ । यो सबैको अनुपात हेर्दा अहिले साढे ७ करोड रुपैयाँको बजेट बनाएका छौं । त्यसमा पनि परिचालन, खाना, आवाससहितको विषयमा कतिकति खर्च लाग्ने भन्ने बजेट तयार पारेका छौं । यो खर्च प्रत्येक सदस्यबाट उठाएर परिचालन गर्छौ । पार्टीका सबै सदस्यसँग १ सय रुपैया सहयोग मागेका छौं । संकलन उत्साहप्रद छ । फेसबुकमा राखेको पहिलो २ घण्टामै १ लाख रुपैया संकलन भएको थियो । त्यसलाई १ सयले भाग गर्ने हो भने एमालेका कति कार्यकर्ता एकपटक सहभागी भए भनेर भन्न सकिन्छ । संकलन र वितरणको काम संगसँगै गरिरहेका छौं । अहिले साढे ७ करोड खर्च हुन्छ र साथीहरुलाई स्रोतको पनि परिचालन गर्न भनेका छौं । उत्साह भएको कारणले गर्दा त्यति ठुलो समस्या हुने देखेका छैनौं । महाधिवेशनका लागि चन्दा उठाउनका लागि केही पनि छापिरहेका छैनौं ।


साढे ७ करोड रुपैयाँ महाधिवेशन मूल व्यवस्थापन कमिटीले खर्च गर्ने मात्रै हो कि स्थानीयस्तरमा जुन प्रकारले हुने खर्च पनि हो ?

त्यसमा शेयरिङ हुन्छ । केन्द्रबाट सिमित मात्रै खर्च हुन्छ । स्थानीय तहमा केही परिचालित हुन्छ । केन्द्र र स्थानीय कमिटीहरुले गर्ने खर्चको अनुपात कस्तो हुन्छ भनेर ठ्याक्कै भन्ने सक्ने अवस्था छैन । मैले भन्दा केन्द्रले गर्ने खर्च भन्ने हो । कतिपय नदेखिने खर्च धेरै हुन्छन् । विधान महाधिवेशनमा ५ करोड प्लस खर्च थियो तर त्यसमा आवासमा भएको खर्च थिएन । सबै साथीहरु आ-आफ्नै तरिकाले बस्नुभयो त्यो खर्च हिसाब गर्ने हो भने खर्च रकम बढीहाल्छ ।

एमाले पहिलो पटक मेसिनको प्रयोग गरेर नेतृत्व छनोट हुँदैछ । त्यसको व्यवस्थापन कसरी हुन्छ ?

नवौं महाधिवेशनमा पनि मेसिनको प्रयोग गर्न खोजेका थियौं । तर प्रयोग हुन सकेन । प्राविधिक समस्या भएको कारणले नभएको होइन । त्यो पर्फेक्ट थियो । जसले हामीलाई उपलब्ध गराउने भनेका थिए उनीहरुले ९२-९३ चुनाव गराई सकेका छन् र कहिँ पनि गुनासो आएको छैन । ५ हजारभन्दा बढी मतदाता हुने राप्रपाको दुई वटा महाधिवेशन उनीहरुले गराइसकेका छन् । नवौं महाधिवेशन भन्दा यता त्यो मेसिन अझै सोफेस्टिकेटेड बनेको छ। इभोटिङ अनलाइन हुन्थ्यो भने त्यसमा ह्याकिङ हुने भन्ने डर हुन्थ्यो । प्रत्येक मेसिन आइसोलेटेड हुन्छन् । स्थायी समितिमा त्यसलाई डेमो नै गर्यौं् । त्यसले प्राविधिक समस्या केही देखिएको छैन । नवौं महाधिवेशनमा गुटबन्दी थियो त्यसैको कारणले गर्दा प्रयोग गर्न समस्या भएको थियो । अहिले त्यो समस्याबाट पनि मुक्त छौं । अहिले सबै नेताहरु प्राविधिक रुपमा यो कति संभव छ, यो गर्दा हामीलाई लाभ छ कि छैन ? त्यो हिसाबमा हुनुहुन्छ र निपूर्ण रुपमा परिणाम दिन सहयोग गर्छ कि गर्दैन भन्ने मात्रै चिन्ता रहेको छ । त्यसलाई जाँच गरेर पनि हेर्नुभयो त्यसपछि सबै नेताहरु सहमत हुनुहुन्छ ।

भोटको अडिटको कसरी हुन्छ ?

त्यसमा समानान्तर रुपमा चिपको प्रयोग पनि हुन्छ र मतदान गरेको प्रिन्ट कागज पनि आउँछ । कागजैबाट पनि भोट गन्न सकिन्छ । त्यसले प्रिन्ट पनि निकाल्छ । अमेरिकामा प्रयोग हुने तहको भेटिङ मेसिन होइन तर यसले राम्रोसँग काम गर्छ । भारतमा जस्तै सबै मेसिन फरक फरक हुन्छन् गणनाको समयमा नेटवर्किङ गरेपछि जोडिन्छ त्यही तरिकाको प्रयोग गर्दैछौं । यसमा प्राविधिक रुपमा कुनै समस्या छैन । नेताहरुले उठाएको कुरा भनेको मतदान गर्न एक दिन लाग्छ के मजा भयो भन्ने छ ? त्यस्तो हो भने काउन्टलाई कति दिन लाग्छ ? नवौं महाधिवेशनमा गणनाका लागि १० दिन जति लागेको थियो । गणना गर्न १० दिनमा लाग्ने खर्चले एक दिन मतदान गरेर परिणाम निकाल्दा त्यही फाइदा हुन्छ भन्ने भयो । मतदानका लागि १ सय वटा मेसिनको प्रयोग हुन्छ ।

एक जना प्रतिनिधिलाई मतदान गर्न कति समय लाग्छ ?

यो विषय कति जना उम्मेदवार हुन्छन् भन्नेले पनि फरक पार्छ । अहिले जति पद छ, त्यसको दोब्बर उम्मेदवार होलान् भन्ने अनुमान हो । हाम्रो पदको संख्या केन्द्रीय कमिटीमा २ सय २५ र आयोगहरुमा ३० जना हो । २ सय ५५ पदमा भोट हाल्ने हो । त्यसको दोब्बर हुँदा पनि ५ सयभन्दा बढी नहुनुपर्ने हो । त्यसको अढाई भयो भने ६ वा ७ सय पुग्ला । पदाधिकारीमा मतदान गर्नका लागि त्यति धेरै समय लाग्दैन । सदस्यहरुमा समावेशीको क्लष्टरमा समस्या हुँदैन । खुलामा अलि समय लाग्न सक्छ । खुलामा अलिबढी संख्या हुन्छ, त्यसमा प्रतिस्पर्धा पनि बढी हुन्छ । त्यसैले छान्नका लागि गाह्रो होला । त्यसले समय लाग्ने हो । अन्यमा खासै समस्या हुँदैन । उम्मेदवारको अनुहार आउँछ त्यसमा छोए पुग्छ । त्यसमा यति जनालाई भोट हाल्न बाँकी छ भनेर मेसिनले भनिदिन्छ, पहिलो मत हालेको मानिसलाई चित्त बुझेन भने यसलाई काट्छु भन्दा त्यो पनि पाइन्छ । ब्याक गर्न र अघि बढाउन पनि पाइन्छ । नो भोटिङको पनि अधिकार छ । सबैलाई भोट हालेपछि अघि बढ्ने भन्ने होइन । भोट हाल्दिन भन्न पनि पाइन्छ । पदको संख्या भन्दा बढीलाई भोट दिन पाइदैन तर कमलाई दिन भने पाइन्छ त्यस प्रकारले व्यवस्थापन गरिएको छ ।

सबै प्रतिनिधि प्रविधिमैत्री नहुन सक्छन उनीहरुको लागि के व्यवस्था छ ?

१० गते महाधिवेशनको उद्घाटन हुन्छ । त्यसैदिन बेलुकीतिर केन्द्रीय कमिटीको बैठक बस्ला । स्थायी कमिटीको बैठक बस्छ नै । भोलिपल्ट बन्द सत्र ८ बजेबाट सुरु हुन्छ । त्यो बढीमा तीन घण्टा जान्छ होला । किनभने धेरै कुरा पास गर्नुपर्ने छैन । उम्मेदवारी दर्ता १ बजेसम्म सकिन्छ । अन्तिम नामावली बेलुकी ६ बजेसम्म टुङ्ग्याउनु पर्ने हुन्छ । बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म निर्वाचन आयोगले उपलब्ध गराएको नामलाई सिस्टममा ढाल्ने काम हुन्छ । त्यसबीचमा हामीले एक सय वटै मेसिनमा त्यसमा डेमो गरिरहेका हु्न्छौं । मनोनयन सुरु भएपछि प्रतिनिधिहरुको काम भोट माग्ने, डेमो मतदानमा सहभागी हुने मात्रै हो । प्रत्येक प्रतिनिधिले अभ्यास गर्नुहुन्छ । एकपटक अभ्यास नगरिकन कसैलाई भोट हाल्न जान दिँदैनौं । जति जान्नेले पनि एकपटक अभ्यास गरोस् भन्ने हो । त्यस्तो गर्दा मात्रै मतदान चाँडो हुन्छ ।

एक प्रतिनिधिलाई मतदानका लागि कति समय लाग्ला भन्ने अनुमान छ ?

२० वा २५ मिनेट लाग्छ होला । त्यसैले मतदानका लागि १ सय मेसिन राखेको हो । त्यसले गर्दा बिहान ८ बजेबाट मतदान गर्न सुरु गर्यौ१ भने बेलुकी ५-६ बजेसम्ममा मतदान सकिन्छ । मतदान सकिएको २ घण्टाभित्रमा परिणाम आउँछ ।

महाधिवेशनको अन्य विषयहरु पनि छन् । एमालेको दसौं महाधिवेशन निकै सन्नाटा देखिन्छ । यस्तो अवस्था किन आयो ?

एमालेमा किचकिच हुँदा अरुलाई रमाइलो लाग्ने हो । अन्य दलमा त्यो कुरा उठ्दैन । कांग्रेसका कहिले वैचारिक बहस हुन्छ ? कांग्रेसमा ७८ वर्षको युवाले चुनाव लड्दा बुढो उठ्यो भनेर कसले भन्या छ र ? शेरबहादुर दाई सधैभर चुनाव लड्दा यो मानिस किन सधैंभर दोहोर्योछ भनेर कसले भन्छ र ?

३० वर्षदेखि प्रचण्ड अध्यक्ष हुनुहुन्छ तर किन दोहोर्याएको कसले भन्छ र ? एकीकृत समाजवादीको माधवकुमार नेपाल अध्यक्ष हुँदा कसले प्रश्न गर्छ र ? यो प्रश्न सबै उठ्ने एमालेलाई हो । एमालेभित्र पनि विशेषगरी केपी शर्मा ओली प्रति लक्षित हुने हो । यो मनोविज्ञानलाई हामीले ख्याल गर्नुपर्छ । विचारको सन्दर्भमा जति बहस गर्नुपर्ने हो त्यो भइसकेको छ ।

नवौं महाधिवेशनमा पारित गरेको दस्तावेजमा उत्पातै परिवर्तन गर्नुपर्ने अवस्था आएको छैन । अहिले आएको चुनौतीलाई व्याख्या गर्नु पर्ने हो । त्यस समयमा मात्रै भएर अहिले पनि हामीले भनो समाजवादको आधार निर्माण गर्ने भनेका छौं ।

कसरी भन्नेमा अहिलेको अनुभवहरुले मद्दत गर्नसक्छ । मुलत विचारको विषयमा एमालेभित्र धेरै बहस छैन । समाजवाद निर्माण कसरी भन्नेमा बहस भने छ । त्यो बहस निरन्तर रुपमा चलेर जान पनि सक्छ । त्यो महाधिवेशनले पारित गर्नुपर्ने विषय नै होइन । हिड्ने बाटो भएपछि त्यसलाई तलमाथि पर्ने विषय रहँदैरहेन ।

रौनक त गोदावरीमा छँदै थियो नि ! सञ्चार माध्यमहरुले हाम्रो कार्यक्रमलाई 'ग्रेट हल अफ द पिपुल्स'सँग तुलना गरेर समाचार आएकै हो । त्यसैले रौनक आ- आफ्नो समयको हुन्छ । एमाले सकियो भनेको समयमा जुरुक्क उठेको देखियो नि ! त्यो नै रौनक हो ।

चितवनमा जनता आउँछन् त्यसमा रौनक देखिन्छ । त्यसपछि एमाले एकीकृत नेतृत्व चुन्छ त्यसले अर्को रौनक दिन्छ । त्यसपछि आउने चुनावमा आफूले जित्ने गरी जान्छ । पार्टीले विषय दिने हो । दिएको विषयमा अलमलिएर बस्दैन । नीति र नेतृत्व छनोटको विषयलाई हामीले फरक फरक महाधिवेशन गर्दा अलि नौलो पनि भएको हो ।

नेतृत्वको छनौट कसरी हुन्छ ? प्रतिस्पर्धाबाट हुन्छ कि सर्वसम्मत रुपमा हुन्छ ?

एमालेले धेरै हण्डर ठक्कर खाएर आएको छ त्यसैले नेतृत्व सर्वसम्मत गर्दा राम्रो हुन्छ । अहिले प्रतिस्पर्धा जाने साथीहरुमा पनि उत्पात त्यस्तो केही पनि छैन । अहिले उमेर सम्बन्धी प्रावधान कायम रहँदा बिदा हुने ७० वर्षको एउटा पङ्ती छ । वरिष्ठ नेताहरुले त्यो पङ्तीमा किन प्रतिस्पर्धा गर्नुपर्योा र । सम्मानजनक बहिर्गमन हुन्छ । त्यसपछि आउने भनेको हाम्रो उमेर समूहको हो ।

यो पनि एउटै एउटै प्रकृतिको काम गरेर बसेका छौं । केही स्थायी कमिटीमा रह्यौ होला केही केन्द्रीय कमिटीमा भयौं । त्यसले काममा केही तलमाथि पारेको छैन एउटै तरिका र लयमा हिडिएको छ । समझदारी बनाएर जाँदा सबैभन्दा राम्रो हुन्छ । साथीहरुले प्रतिस्पर्धा नै गर्न चाहानुभयो भने मेसिनको व्यवस्था गरिसकेका छौं । तर यसपटक प्यानल बनाउन भने दिइदैन । प्यानलसहित चुनाव लड्ने विषयले साह्रै नमिठो अनुभव दियो । चुनावमा हारजित भएपछि त्यसलाई बिर्सिदिए तलमाथि पर्दैनथ्यो तर त्यो स्थायी प्रकृतिको अर्को पार्टी बनाउने रहेछ ।

प्यानलसहितको चुनावी प्रतिस्पर्धाले पार्टी विभाजनको कृतिम आधार दियो । नवौं महाधिवेशनपछि पार्टी फुट्नुपर्ने कारणमा प्यानलसहितको प्रतिस्पर्धाले काम गर्यो भन्ने निष्कर्ष हो । विधान महाधिवेशनमा केही प्रश्न बाँकी नै थिए स्थायी कमिटीमा पनि कुरा उठेको थियो तर यसरी जाउँ भनेर उच्च समझदारी भयो । अहिले पनि समझदारीमा नेतृत्व छनौट गर्नुपर्ने हुन्छ । कोही ७० वर्षतिर दौडिरहेको नेताले यसपटक म बन्छु भन्यो भने ५५ वर्षका साथीले छाडिदिएर उच्च समझदारी पनि देखाउन सकिन्छ ।

अहिले समझदारी गरेर जाने विषय आएको छ तर अहिले भएका सदस्य र नयाँ आकांक्षीहरुको संख्या हेर्दा सहमति हुने संभावना देखिँदैन । पदाधिकारी बढाएर पनि सहमति गर्न कोसिस हुन्छ ?

असोजमा भएको विधान महाधिवेशनले पारित गरेको विधानलाई अहिलेको महाधिवेशनले संशोधन गर्छ जस्तो लाग्दैन । नत्र विधान महाधिवेशनको आवश्यक पनि हुने थिएन । चुनावको हिसाबले गर्दा विचारको विषयमा कुनै प्रकारको सम्झौता नहोस र ठिक ढंगले पार्टी चलोस् भन्ने दुईटा महाधिवेशन गर्नुपरेको हो । २ महिना नबित्दै विधान संशोधनको तहमा पुग्छ जस्तो लाग्दैन । त्यस्तो भएन भने जे पद छ त्यसमै सम्झौता गर्ने हो ।

नवौं महाधिवेशनबाट निर्वाचित १२ जना पदाधिकारी छन् र बाहिरका अन्य आकाक्षीहरु पनि निकै छन् । यस विषयलाई कसरी सम्बोधन हुन्छ ?

यस विषयमा छलफल नै भएको छैन । क-कसले कसरी आकांक्षा राख्नु भएको छ र नयाँ साथीहरु कसरी आउन चाहनु भएको छ, त्यो केही पनि छलफल नै भएको छैन । त्यो विषयमा सामुहिक रुपमा नै छलफल हुन्छ । कमिटीगत रुपमा छलफल हुनसक्छ । टिममै बसेर पनि छलफल होला । त्यसपछि समझदारी बनिहाल्छ । समझदारी बन्न नसक्ने अवस्थामा अहिले देख्दिन ।

अहिले एमाले विचार, नेतृत्व र व्यवहारमा पनि एकतावद्ध भएर अघि जान चाहान्छ । एमालेले आफू चौतर्फी घेरामा रहेको र तलमाथि गरे भने यो घेराबाट बाहिर निस्कन सकिँदैन भन्ने महसुस गरेको छ । त्यो भन्दा बढी होला जस्तो लाग्दैन । सञ्चार माध्यमहरुमा एमालेमा पदाधिकारी कसरी व्यवस्थापन हुन्छ भनेर पढिरहेको छु । अन्य साथीहरुको जिज्ञासा भएर नै पत्रकारले समाचार लेख्नु भएको होला । एमालेभित्र यो विषयमा ठूलो कुरा हो जस्तो लाग्दैन । शंकर पोखरेल आठौं महाधिवेशन पहिलो सचिव हुनुहुन्थ्यो उप-महासचिवमा हार्नुभयो तर पनि उहाँको भूमिका घटेन मुख्यमन्त्री बन्नुभयो । अहिले पनि केन्द्रीय भूमिकामै हुनुहुन्छ । अरुको पनि त्यही नै हो ।

सर्वसम्मती कुरा गर्नुभयो तर यसपटक बढी केन्द्रीयता भयो भन्ने गुनासो पनि आएको छ । केन्द्रीयता लाग्ने कोसिस भयो भन्ने विषय पनि आएको छ ?

कहिले प्रजातन्त्रको नाममा एकदमै अराजकता पनि एमालेभित्र देखिएको छ । कहिले अनुशासनको नाममा धेरै कडिकडाउ गरिएको विगतमा उदाहरण छ । त्यसमा हामीले सन्तुलन नै कायम गरेका छौं । अहिले कसैलाई पनि तँ उठ्नै पाउँदैनन् भनेको भए अहिले उठाउनु भएको जिज्ञासा सही पनि हुन्छ । हामीले ५६ लाख ५० हजार तिरेर भोटिङ मेसिन भाडामा लिने थिएनौं होला नि त्यो जबरजस्ती नहोस भनेर गरेको हो । अध्यक्षले यसरी जाउँ सर्वसम्मत गरौं भनेर भन्नुभयो तर साथीहरुले चित्त बुझाउनु भएन निर्वाचन रोकिंदैन । प्रत्येक सदस्य सार्वभौम हो ।

अहिले अधिकांश ठाउँमा प्रतिनिधि सर्वसम्मत भएको छ कतिपय ठाउँमा मज्जासँग चुनाव पनि भएको छ । हारजीत भएको छ । सर्वसम्मतको पक्ष ठुलो भएकाले हारजितको विषयमा समाचार नबनेको हो । कुनै ठाउँमा साथीहरुले चित्तै बुझाउनु भएन भने त्यो चुनाव हुने कुरालाई स्वाभाविक मान्नुपर्छ । एमाले भनेको माओवादी र कांग्रेस जस्तो होइन । कांग्रेसले मास पार्टी भन्छ क्याडरको वास्तै गर्दैन, माओवादी सैन्य प्रकृतिको क्याडरबाट आयो त्यसपछि परिमार्जननै भएको छैन । यो दुवैको बीचमा एमाले क्याडेरबेस मास पार्टी हो घोषित रुपमा भनेको छ । मासलाई पनि आत्मसात् गर्छ र क्याडर पार्टीमा हुनुपर्ने गुणलाई पनि त्यसले गुमाउँदैन । त्यो दुवैको सन्तुलन भनेको सकेसम्म उच्च तहको समझदारी भएपछि सर्वसम्मत नेतृत्व तय गर्ने, त्यो भएन भने स्वच्छ प्रतिस्पर्धा गराउने । एकले अर्कोमाथि कटुता पनि नगर्ने चुनाव हारेपछि पनि यही पार्टीमा बसेर मिलेर काम गर्ने मनोविज्ञान विकास गर्नुपर्ने छ ।

तर एमालेको विधान महाधिवेशन हेर्दा क्याडरबेस्डबाट मासबेस्डमा पुगेको देखिन्थ्यो नि ?

नेकपा हुँदा ३ वर्ष हाम्रो पार्टी नै थिएन । नेकपा बनेपछि रहेको कमिटी भनेको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी मात्रै थिए । त्यस बाहेकका कमिटी नै चलेको थिएन । कमिटी नै नचलेको अवस्थामा को कहाँ छन् हेर्नुपर्ने थियो । त्यसैले प्रतिनिधित्वको आकार अलि फराकिलो बनाएको हो । सानो समूहको प्रतिनिधित्व हुँदा क्याडर बेस्ड जस्तो लाग्थ्यो । चितवनमा मास ठूलो हुन्छ र प्रतिनिधिको संख्या सानो हुन्छ ।

प्रकाशित : मंसिर १, २०७८ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस म्याग्दीको सभापतिमा गर्बुजा निर्विरोध निर्वाचित

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस म्याग्दीको सभापतिमा खमवीर गर्बुजा निर्विरोध निर्वाचित भएका छन् । बुधबार भएको जिल्ला अधिवेशनले गर्बुजालाई निर्विरोध सभापतिमा चयन गरेको हो ।

सभापति पदमा गर्बुजाको मात्रै उम्मेदवारी परेका कारण गर्बुजा निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत निरञ्जन राजभण्डारीले जानकारी दिए । उनी यसअघि पनि जिल्ला सभापति नै थिए । ‘सभापतिमा उहाँको मात्रै उम्मेदवारी दर्ता भयो । कसैको दाबी/विरोध परेन,’ उनले इकान्तिपुरसँग भने, ‘त्यसैले उहाँ नै सर्वसम्मत सभापति बन्नुभएको छ ।’

गर्बुजा सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । अन्य पदहरुमा भने एकभन्दा बढीको उम्मेदवारी परेको छ । ‘उम्मेदवारी फिर्ता लिने समय बिहीबार बिहान ८ बजेसम्म छ । सहमतिको प्रयास गर्छौ भन्नुभएको छ, सहमति भएन भने निर्वाचन प्रक्रिया अघि बढाउछौँ,’ निर्वाचन अधिकृत राजभण्डारीले भने ।

प्रकाशित : मंसिर १, २०७८ १९:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×