नयाँ संक्रमितमध्ये १० प्रतिशत खोप लगाएका नै

लक्षित जनसंख्या १ करोड ९९ लाख २२ हजार १ सय ६४ मध्ये ४३.६ प्रतिशतले एक डोज र ३६.८ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् 
अतुल मिश्र

काठमाडौँ — कोभिडका नयाँ संक्रमितमध्ये करिब १० प्रतिशतले एक डोज खोप लगाएको पाइएको छ । हाल दैनिक संक्रमितमध्ये ७० प्रतिशत २० देखि ६० वर्ष उमेर समूहका छन् ।

नयाँ संक्रमितमध्ये १० प्रतिशत खोप लगाएका नै

‘दैनिक नयाँ संक्रमितमध्ये ८ देखि १० प्रतिशतसम्म खोप लगाएकाहरू छन्,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने, ‘खोप लगाएकामध्ये सामान्य स्वास्थ्य अवस्था भएकामा मृत्यु र रोगको गम्भीरता तुलनात्मक रूपमा एकदमै कम भेटिएको छ ।’

अस्पतालमा भर्ना भएका गम्भीर संक्रमितमा खोप लगाएकाको संख्या अत्यन्त कम छ । खोप लगाएर पनि अस्पताल भर्ना भएका बिरामी भने अधिकांश दीर्घरोगी र पाका उमेरका छन् । पहिलेदेखि नै कुनै गम्भीर रोग भएको अवस्थालाई दीर्घरोग (कोमर्बिडिटी) भनिन्छ । सामान्य भाषामा भन्दा रक्तचाप, मधुमेह, दम, फोक्सोको रोग, क्यान्सर, मृगौलाको रोग, एचआईभीका बिरामीलाई दीर्घरोगी मानिन्छ ।

यस्ता बिरामीमा रोग प्रतिरोधक क्षमता (इम्युनिटी) कम हुन्छ । त्यसकारण पनि दीर्घरोगीमा संक्रमण देखिँदा गम्भीर असर पुग्छ । यस्तो जोखिम बूढापाका र गर्भवती महिलामा बढी हुन्छ । मन्त्रालयका अनुसार खोप लगाएर पनि पर्याप्त रोग प्रतिरोधक क्षमता विकास नभएका कारण ज्येष्ठ नागरिकहरूको मृत्यु भएको देखिन्छ । खोप लगाएकामा देखिने अधिकांश मृत्यु र जटिलता ‘कोमर्बिडिटी’ भएकाहरूमा देखिएको औंल्याउँदै डा. पौडेलले भने, ‘त्यसैले स्वास्थ्य सुरक्षा मापदण्ड पालना कडाइसाथ पालना गर्दै उनीहरूलाई संक्रमित हुनबाट जोगाउनुपर्छ ।’

मंगलबारसम्म कुल जनसंख्याको २४.१ प्रतिशतले कोभिडविरुद्घको पूर्ण खोप लगाएका छन । यस्तै कुल जनसंख्याको २८.६ प्रतिशतले एक डोज लगाएको मन्त्रालयले जनाएको छ । खोप अभियान सुरु भएदेखि मंगलबारसम्म १ करोड ६० लाख ४ हजार १ सय २७ डोज खोप लगाइएको छ । मंगलबार एकै दिन ८० हजार ८ सय १८ जनाले खोप लगाएका छन् । सरकारद्वारा निर्धारित १८ वर्ष वा सोभन्दा माथिका खोप लगाउन योग्य लक्षित जनसंख्या १ करोड ९९ लाख २२ हजार १ सय ६४ मध्ये हालसम्म ४३.६ प्रतिशतले एक डोज र ३६.८ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् ।

वीर अस्पतालका डा. अच्युत कार्कीका अनुसार खोप लगाएकाहरू पनि संक्रमण भएर अस्पताल आउने गरेका छन् । धेरैजसोमा हल्का र मध्यम खालको संक्रमण देखिएको छ । एक महिनायता वीरमा संक्रमणका कारण मृत्यु हुनेमा ५० वर्षभन्दा माथि उमेर समूहका रहेको उनले बताए । पूर्ण खोप लगाएका स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ । तर, कसैमा पनि गम्भीर समस्या छैन । ‘स्वास्थ्यकर्मीहरूमा माइल्ड कोभिड संक्रमण मात्र देखिएको छ, मध्यमसमेत देखिएको छैन, जसले गर्दा कसैलाई अस्पताल भर्ना गर्नुपरेको छैन,’ डा. कार्कीले भने ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अवस्था पनि वीरकै जस्तो छ । अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाका अनुसार खोप लिएकाहरू आईसीयूसम्म पुगेर पनि निको भएर फर्किएका छन् । ‘खोप लगाएका धेरैजसोलाई सामान्यतयाः हल्कादेखि मध्यम स्तरको कोभिड संक्रमण देखिएको छ,’ उनले भने, ‘खोप लगाएका स्वास्थ्यकर्मीहरू कोभिडले सिकिस्त भएका छैनन् ।’ स्वास्थ्य सुरक्षा मापदण्ड कडाइसाथ पालना गर्दै जटिल रोग भएका र बूढापाकालाई संक्रमणबाट जोगाउनु प्रमुख चुनौती रहेको उनले बताए । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास पनि दीर्घरोगी र पाका उमेरकामा गम्भीर प्रकृतिको संक्रमण देखिएको बताउँछन् । ‘अहिले भर्ना हुनेहरूमा युवा कम छन् । अधिकांश ५० वर्ष माथिका कोमोर्बिडिटी र चिकित्सकीय समस्या भएकाहरू नै छन्,’ उनले भने ।

खोप लगाएकाहरूमा संक्रमण देखिने क्रम जारी रहे पनि मृत्यु दर भने न्यून छ । मंगलबार कोभिडले गर्दा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४ सय २७ पुगेको छ । हालसम्म कोभिडले संक्रमित भएर मृत्यु हुने ९ वर्षसम्मका बालबालिका ४९ जना अर्थात् देशभर कुल मृत्युको ०.४२ प्रतिशत छ । यस्तै, १० देखि १९ वर्षसम्मका ५५ जना अर्थात् ०.४८ प्रतिशतले ज्यान गुमाएका छन् । मंगलबारसम्म मृत्यु हुनेमा ८७.७२ प्रतिशत ४० वर्षमाथिका छन् भने ७३.५३ प्रतिशत ५० वर्षमाथिका छन् ।

कोभिडको केस फ्याटिलिटी रेट/रेसियो (सीएफआर) अर्थात् महामारीले गर्दा हुने मृत्यु अनुपातको राष्ट्रिय औसत भने १.४ प्रतिशत छ । भारतको सीएफआर भने १.३ छ । मन्त्रालयका प्रवक्त डा. पौडलका अनुसार १८ देखि ४० वर्ष उमेर समूहमा सीएफआर १.६ प्रतिशतसम्म देखिएको छ । त्यस्तै, पाँच वर्षभन्दा कम उमेरमा सीएफआर ०.५ प्रतिशत छ । ५ देखि १५ वर्ष उमेर समूहमा सीफआर ०.०१३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ६० वर्षदेखि ६५ वर्ष उमेर समूहमा सीएफआर ५ प्रतिशत छ, जुन बढ्दो उमेरसँगै धेरै देखिएको छ । ८५ वर्षमाथि उमेर समूहमा भने सीएफआर १४ प्रतिशतसम्म पुगेको छ ।

दीर्घरोगीलाई फाइजर

दीर्घरोग लागेर थलिएका १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप लगाइने भएको छ । कोभ्याक्स सुविधाअन्तर्गत कात्तिक ८ मा फाइजर बायोएनटेकको १ लाख ६ सय २० डोज खोप प्राप्त भइसकेको छ । यही खोप दीर्घरोगी बालबालिकालाई दिइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए । फाइजर खोप ५० हजारलाई लगाउने लक्ष्य रहेको उनको भनाइ छ ।

प्रकाशित : कार्तिक १७, २०७८ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?