कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बोलाउँदै खोप लगाउँदै

‘पहिलो डोज नलगाएको भए लगाउन आउनुस् । यहाँ नाम टिपाउनुस्, खोप भित्र लगाइन्छ,’ टेन्टमा बसेका एक युवा भनिरहेका थिए, ‘चीनको भेरोसेल र जापानबाट आएको अस्ट्राजेनेका जुन लगाएको भए पनि दोस्रो डोज यहाँ लगाइन्छ ।’
मकर श्रेष्ठ

काठमाडौँ — मंगलबार मध्याह्न १ बजे भक्तपुरबाट कोटेश्वर आउने सवारीको चाप जडीबुटीसम्म थियो । ग्वार्कोतर्फ जाने मोटरसाइकल चालक भने जाम छल्न भर्खर खुलेको धुलाम्य सर्भिस ट्र्याक हुँदै अघि बढिरहेका थिए । त्यही भीडमा यो संवाददाता पनि मिसियो । 

बोलाउँदै खोप लगाउँदै

कोटेश्वर चोकको ट्राफिक प्रहरी कार्यालयअगाडि एउटा टेन्ट खडा गरिएको थियो । त्यसैमा टाँगिएको ब्यानरमा लेखिएको थियो– ‘कोभिड–१९ विरुद्धको खोप अभियान ।’ अस्पताल र वडा कार्यालयमा मात्रै सीमित खोप केन्द्र चोकमै भएको जानकारी ब्यानरले दिइरहेको थियो । टेबलमा खोप कार्ड राखेर स्वास्थ्यकर्मी र स्वयंसेवक बसेका थिए । रेडक्रसका स्वयंसेवक र जनस्वास्थ्य कार्यालय काठमाडौंबाट खटिएका प्रतिनिधि पनि केन्द्रमा सक्रिय देखिन्थे । अगाडि आएर जिज्ञासु नजरले हेर्ने सर्वसाधारणलाई उनीहरू सोधिरहेका थिए, ‘खोप लगाउने हो ?’

‘पहिलो डोज नलगाएको भए लगाउन आउनुस् । यहाँ नाम टिपाउनुस्, खोप भित्र लगाइन्छ,’ टेन्टमा बसेका एक युवा भनिरहेका थिए, ‘चीनको भेरोसेल र जापानबाट आएको अस्ट्राजेनेका जुन लगाएको भए पनि दोस्रो डोज यहाँ लगाइन्छ ।’ धूलो उड्ने सर्भिस ट्र्याकमा नाम लेखाएर खोप लगाउन ट्राफिक कार्यालयभित्र जानुपर्थ्यो । तर खोप लगाउने मानिस निकै कम देखिए । बिहीबार झापा जान लागेकी सुशीला शर्मा माइक्रोको टिकट काट्न कोटेश्वर आएका बेला खोप केन्द्र देखेपछि छिरेकी रहिछन् ।

काउन्टरतिर जाँदै गर्दा ट्राफिक कार्यालयअघि खोप कार्यक्रमको ब्यानर टाँगेको देखेपछि टिकट काट्न छाडेर खोप लगाउन पसेको उनले सुनाइन् । ‘कहिले बिरामी, कहिले नभ्याएर खोप लगाउन पाएकी थिइनँ,’ उनले भनिन्, ‘खोप लगाउन वडा कार्यालयमा भनसुन गर्नुपर्ने, धेरै समय लाइनमा बस्नुपर्ने सुनेकी थिएँ यति सजिलै खोप लगाउन पाइन्छ भन्ने सोचेकै थिइनँ ।’ उनी जस्तै टीकाथली बस्ने निर्मला श्रेष्ठले पनि सहजै खोप लगाउन पाइन् । उनले पहिलो डोज जापान सरकारले उपलब्ध गराएको अस्ट्राजेनेका लगाएकी थिइन् । यहाँ दोस्रो डोज लगाएर फर्किइन् ।

उनीहरू जस्तै खोप लगाउन लामो दूरीका सवारीका मजदुरहरू पनि आइपुगेका थिए । ‘यसअघिको खोप लगाउने समयमा हामी गाडी चलाइरहेका हुन्थ्यौं । खोप लगाउनै पाएका थिएनौं,’ बल्खु–हेटौंडा सुमो चलाउने रामबहादुर ब्लोनले भने, ‘हामी आराम गर्ने र यात्रु खोज्ने काउन्टरमै खोप लगाउन पाउँदा खुसी लाग्यो ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिहारमा गाउँ जाने सर्वसाधारणलाई लक्षित गरेर मंगलबार र बुधबार चोकचोकमा खोप कार्यक्रम चलाएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेका अनुसार कोटेश्वर, बल्खु, कलंकी र नयाँ बसपार्कमा खोप केन्द्र राखिएको छ । ‘अस्पतालको केन्द्रमा पनि नियमित खोप लगाइरहेका छौं । सर्वसाधारणको भीडभाड हुने र चार नाकामा पनि खोप कार्यक्रम चलिरहेको छ,’ उनले भने । काठमाडौंमा प्रसूतिगृह, वीर, निजामती, त्रिवि शिक्षण र आर्मी अस्पतालमा नियमित खोप कार्यक्रम चलिरहेको छ ।

यसअघि खोप कार्यक्रममा सहभागी हुन नसकेका व्यक्तिलाई लक्षित गरेर नाकामा केन्द्र राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । ‘नाकाका केन्द्रबाट पहिलो र दोस्रो दुवै डोज लगाउन पाइने व्यवस्था गरेका छौं,’ उनले भने, ‘तिहार र छठ मनाउन गाउँ जाने यात्रुलाई लक्षित गरेर केन्द्र राखेका हौं ।’

मन्त्रालयले काठमाडौंबाहिर जान चाहनेलाई खोप लगाउन आग्रह गर्दै सूचनासमेत जारी गरेको छ । ‘तिहार मनाउनका लागि काठमाडौं बाहिर गइरहनुभएका यात्रुका लागि कात्तिक १६ र १७ गते कोभिडविरुद्धको खोप दिइँदै छ । नाम र उमेर खुल्ने परिचयपत्र लिएर खोप लगाउन जानु हुन सबैमा अनुरोध छ,’ सूचनामा भनिएको छ । भेरोसेल र एस्ट्राजेनेका बिहान साढे ७ देखि बेलुका ४ बजेसम्म दिइने मन्त्रालयले जनाएको छ । जनस्वास्थ्य कार्यालय प्रमुख काफ्लेले चारवटा नाकाका खोप केन्द्रमा मात्रै मंगलबार २ हजार ९ सय ९२ जनाले खोप लगाएको बताए । काठमाडौं जिल्लामा ४ हजार २ सय ५९ ले खोप लगाए ।

जनस्वास्थ्य विज्ञ डा. शरद वन्तले छुटेको समूहलाई लक्षित गरी खोप लगाउनु राम्रो भए पनि खोप लगाउनेको विवरण व्यवस्थित रूपमा अध्यावधिक गर्नुपर्नेमा जोड दिए । ‘यसरी खोप लगाएर गाउँमा पठाउँदा तत्काल सुरक्षित हुन्छ भन्ने भ्रममा पर्नु हुँदैन किनभने खोप लगाएपछि शरीरमा एन्टिबडी तयार हुन समय लाग्छ,’ उनले भने, ‘चोकचोकमा खोप केन्द्र राख्दा लक्षित वर्ग आएमा यसलाई निरन्तरता दिन आवश्यक छ ।’

काठमाडौंमा १५ लाख लक्षित जनसंख्यामध्ये १२ लाख ११ हजार ५ सय ९८ जनाले दोस्रो डोज लगाइसकेका छन् । त्यस्तै, भक्तपुरको लक्षित २ लाख ४६ हजार ८ सय ५१ मध्ये १ लाख ८७ हजार ३ सय ४३ जनाले र ललितपुरमा ३ लाख ८२ हजार ८ सय ६० लक्षित जनसंख्यामध्ये २ लाख ८९ हजार ६ सय ९३ जनाले पूर्ण खोप लगाइसकेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ ।

काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, रसुवा, रामेछाप, मनाङ, मुस्ताङ, कास्की, लमजुङ, दार्चुला, संखुवासभामा लक्षित जनसंख्याको ५० प्रतिशतभन्दा बढीले पूर्ण खोप लगाइसकेका छन् । सरकारले चैतसम्म लक्षित सबै नेपालीलाई खोप लगाइसक्ने घोषणा गरेको छ ।

प्रकाशित : कार्तिक १७, २०७८ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?