रुपन्देहीमा दिउँसो मात्रै देउसी भैलो खेल्न दिने तयारी

कार्तिक १५, २०७८

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देही प्रशासनले तिहारमा दिउँसो मात्रै देउसी भैलो खेल्न अनुमति दिने तयारी गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोना महामारी फैलिन सक्ने जोखिम अझै पनि कायमै रहेकाले दिउँसोमा मात्रै स्वास्थ्य मापदण्ड पालना गरेर देउसी भैलो खेल्न अनुमति दिनेगरी तयारी गरेको हो ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले केही दिनमै औपचारिक रुपमा आदेश जारी गर्ने बताए ।

‘अहिले पनि कोरोनाको जोखिम त कायम नै रहेकाले पराम्परागत रुपमा मनाइने चाडपर्व धेरै भीडभाड नगरी सामान्य रुपमा मनाउन दिने सूचना जिल्ला प्रशासनले यसअघि नै जारी गरी जानकारी गराएको उनले बताए । देउसी भैलो खेल्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु पर्नेछ,’ उनले भने, ‘ भौतिक दूरी समेत कायम गर्नुपर्नेछ ।’

दिउँसोको समयमा देउसी भैलो खेल्न दिने भएपनि रातको समयमा भने पूर्ण रुपमा प्रतिबन्ध गरिने पाण्डेले बताए ।

जिल्ला प्रशासनले कति बजेसम्म देउसी भैलो खेल्न पाउने भन्ने विषयमा १/२ दिनमा नै औपचारिक रुपमा नै निर्णय गर्ने पाण्डेले बताए । साथै प्रशासनले पटाकाजन्य बस्तु नपड्काउन सबैलाई आग्रह गरेको छ ।  

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully