‘भ्याक्स’ सन् २०२१ का लागि अक्सफोर्ड डिक्सनरीको ‘वर्ष शब्द’

कोरोना महामारीका कारण सन् २०२१ मा ‘भ्याक्स’ को प्रयोग ५७ हजार प्रतिशतले बढेको छ ।

कार्तिक १५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — अक्सफोर्ड इंग्लिस डिक्सनरीले ‘भ्याक्स’ लाई यस वर्षको ‘वर्ष शब्द’ घोषणा गरेको छ ।कोरोना महामारीका कारण यस वर्ष भ्याक्सिनसँग सम्बन्धित शब्दहरूको अत्यधिक प्रयोग भएको भन्दै अक्सफोर्ड डिक्सनरीले सन् २०२१ का लागि ‘भ्याक्स’ लाई वर्ष शब्दका रूपमा चयन गरेको हो ।

कोरोना महामारीका कारण ‘डबल–भ्याक्स्ड’, ‘अन–भ्याक्स्ड’, ‘एन्टी–भ्याक्सर’ लगायतका शब्दको प्रयोग निकै भएको थियो ।

अक्सफोर्ड डिक्सनरीको वरिष्ठ  सम्पादक फियोना म्याकफेर्सनले ‘भ्याक्स’ यस वर्ष स्वाभाविक छनोट भएको र ‘सबैभन्दा बढी प्रभावकारी’ रहेको बताइन् । उनका अनुसार भ्याक्सी, भ्याक्साथोन, भ्याक्सिनिस्ताजस्ता शब्दको प्रयोग पनि बढेको छ । भीएएक्स र भीएएक्सएक्स दुवै स्पेलिङलाई मान्यता दिइएको उल्लेख गर्दै एउटा मात्र एक्सको प्रयोगचाहिँ आम प्रचलनमा रहेको उनको भनाइ छ । 

भ्याक्सलाई यसरी परिभाषित गरिएको छ

भ्याक्स(नाम) : एउटा खोप वा टीकाकरण

भ्याक्स(क्रिया) : कुनै रोगविरुद्ध प्रतिरक्षा प्रणाली विकास गर्न खोप लगाउनु

भ्याक्सी(नाम) : खोप लगाउँदै गर्दाको वा त्यसअघि वा पछाडिको आफैले खिचेको तस्बिर, सामाजिक सञ्जालमा सेयर गरिने विशेषगरी कोरोना खोप लगाएको तस्बिर

एन्टी–भ्याक्स (विशेषण) : खोपको विरोधमा रहनु

एन्टी–भ्याक्सर (नाम) : खोप अभियानविरुद्ध लाग्ने व्यक्ति

डबल–भ्याक्स्ड (विशेषण) : खोपको दुई डोज प्राप्त गर्नु

अक्सफोर्ड डिक्सनरीका अनुसार ‘भ्याक्स’ शब्दको प्रयोग यस वर्ष ५७ हजार प्रतिशतले बढेको छ । सन् २०२० का लागि अक्सफोर्ड र कोलिन्स दुवैले ‘लकडाउन’लाई ‘वर्ष शब्द’ घोषणा गरेका थिए । 

कोरोना खोपकोरोना भाइरस

कान्तिपुर

Link copied successfully