एमसीसीलाई गठबन्धनले नै स्पष्ट जवाफ दिन सकेन

प्रधानमन्त्री देउवाले राजनीतिकस्तरमा छलफल भइरहेको जानकारी दिए भने माओवादी केन्द्रका अध्यक्ष दाहालले राष्ट्रिय सहमतिबाट मात्र सम्झौता अनुमोदन हुन सक्ने सन्देश दिए

भाद्र २६, २०७८

जगदीश्वर पाण्डे

काठमाडौँ — अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा सत्तारूढ गठबन्धनले नै स्पष्ट धारणा दिन सकेको छैन । एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोलीसँग गठबन्धन दलका नेताले नै अलग–अलग धारणा राखेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिकस्तरमा छलफल भइरहेको जानकारी दिएका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिबाट मात्र एमसीसी अनुमोदन हुन सक्ने सन्देश दिएका छन् ।

एमसीसी प्रतिनिधिमण्डल शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो, करिब एक घण्टा भएको भेटवार्तामा देउवाले सम्झौता अनुमोदन गराउन आफूले राजनीतिकस्तरमा छलफल जारी राखेको जानकारी दिए । भेटपछि उनले ट्वीट गरेका छन्, ‘नेपाल–अमेरिकाबीच एमसीसी सम्झौता र यसले नेपालको अर्थतन्त्रलाई रूपान्तरण गर्ने सम्भावनाका विषयमा विचार आदानप्रदान भयो ।’ 

सुमारले भने सम्झौताबारे नेपालमा गलत प्रचार भएको भन्दै चिन्ता व्यक्त गरेकी थिइन् । उनले सम्झौता संसद्बाट छिटो अनुमोदन हुने विश्वास व्यक्त गरेकी थिइन् । अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सुमारले सम्झौताले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।’

सुमारले शुक्रबार नै माओवादी अध्यक्ष दाहाललाई उनकै निवास खुमलटारमा भेटिन् । एक घण्टा चलेको भेटवार्तामा दाहालले एमसीसी सम्झौतालाई राष्ट्रिय सहमतिबाट अघि बढाउने सन्देश दिए । भेटवार्तामा उपस्थित दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार सुमारले सम्झौताका विवादित विषयमा प्रस्ट पार्ने कोसिस गरेकी थिइन् । सुमारले काठमाडौं आएलगत्तै सम्झौता नेपालको संविधानभन्दा माथि नरहेको, एमसीसी इन्डो प्यासिफिक रणनीति वा अन्य कुनै सैन्य गठबन्धनमा नरहेको प्रस्ट पार्ने कोसिस गर्दै आएकी छन् । 

एमसीसी : जति छलफल, उति अलमल

सुमारले सिंहदरबार पुगेर ऊर्जामन्त्री पम्फा भुसालसँग पनि भेटवार्ता गरेकी थिइन् । करिब ४५ मिनेट चलेको संवादमा भुसालले पनि माओवादी अध्यक्ष दाहालले जस्तै राष्ट्रिय सहमति र सत्ता गठबन्धनबीचको साझा धारणाअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए ।

त्यस्तै कांग्रेस नेता मीनेन्द्र रिजालको नेतृत्वमा रहेको ‘नेपाल–अमेरिका संसदीय मैत्री समूह’ सँग पनि एमसीसी टोलीले संवाद गरेको छ । होटल म्यारियटमा भएको छलफलमा सांसदहरू नवराज सिलवाल, पुष्पा भुसाल, प्रमिला कुमारी, विन्दा पाण्डे, शरत्सिंह भण्डारी, सत्या पहाडी तथा आमन्त्रित सदस्यका रूपमा सांसदहरू विरोध खतिवडा, गगन थापा र वर्षमान पुन उपस्थित थिए ।

झन्डै डेढ घण्टा चलेको छलफलमा सुमारले सम्झौता नेपालको गरिबी निवारण र आर्थिक समृद्धिको पक्षमा रहेको प्रस्ट पारेकी थिइन् । छलफलमा उपस्थित सांसद सिलवालले भने, ‘सुमारले यो सम्झौताले नेपालका दुई करोड जनता लाभान्वित हुने र १० हजारभन्दा बढीले रोजगार पाउने बताउनुभयो । साथै, नेपालकै अनुरोधमा अमेरिकाले अनुदान सहयोग गरेको उहाँको भनाइ थियो ।’

सांसदहरूले सुमारले राखेका धारणा एमसीसीकै मात्र हुन् कि अमेरिकी सरकारका हुन् भनेर प्रश्न गरेका थिए । जवाफमा सुमारले आफूलाई अमेरिकी राष्ट्रपतिले नियुक्त गरेको उल्लेख गर्दै यो अमेरिकी सरकारको धारणा रहेको प्रस्ट पारेकी थिइन् । सुमारले शनिबार अर्थमन्त्री जनार्दन शर्मासँग भेट गर्ने कार्यक्रम छ ।

बिहीबार काठमाडौं उत्रिएकै दिन उनले एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेटेकी थिइन् ।

एमसीसी

जगदीश्वर एक दशकभन्दा लामाे समयदेखि पत्रकारितामा क्रियाशिल पाण्डे परराष्ट्र, सुरक्षा र राजनीतिसम्बन्धी समाचार लेखनमा सक्रिय छन् ।

Link copied successfully