२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

एमसीसीको टोलीले अध्यक्ष नेपाललाई भन्यो- पारित गरे नेपालको हितमा छ, नगरे अहितमा 

नेकपा (एस) को जवाफ - जनता र राष्ट्रको हितभन्दा पर गएर कुनै पनि कुरा गर्न सक्दैनौं, एमसीसीबारे आशंका र भ्रम हामीबाट मात्रै होइन अमेरिकी जिम्मेवार अधिकारीबाट पनि आएका छन्
जयसिंह महरा

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले एमसीसी सम्झौता पास गरेमा नेपालको पक्षमा रहेको र नगरेमा अहितमा हुने बताएको छ । 

एमसीसीको टोलीले अध्यक्ष नेपाललाई भन्यो- पारित गरे नेपालको हितमा छ, नगरे अहितमा 

सिंहदरबारस्थित संसद् सचिवालयमा झन्डै साढे १ घण्टा नेपालसहितका नेताहरूसँगको छलफलका क्रममा एमसीसीको टोलीले सम्झौता पास गर्नका लागि दबाब भने नदिने बताएको नेकपा (एस)का प्रवक्ता गंगालाल तुलाधरले जानकारी दिए ।

'उहाँहरूले नेपाल सरकारका प्रश्न र पठाएका उत्तरका बारेमा पनि कुरा गर्नुभयो । हामीले पनि धेरै प्रश्न गर्‍यौं । प्रश्नका उत्तर दिने काम गर्नुभयो । धेरै कुरा स्पष्ट पार्ने कोसिस गर्नुभयो,' बैठकबारे तुलाधरले भने, 'हामीले ४ वर्षदेखि थाती रहेको विषय अहिले संयुक्त सरकारमा छौं सबैसँग छलफल गर्नुस् भन्यौं ।'

एमसीसी नेपाली जनतासँग जोडिएको विषय भएकाले नेपालको हितमा रहेको सुनिश्चित रहेको खण्डमा मात्रै अगाडि बढाउन आफूहरू सहमत हुने जवाफ दिएको पनि तुलाधरले जानकारी दिए । 'यो नेपाली जनतासँग जोडिएको विषय हो । जनताको हितमा छ भन्ने कुराको सुनिश्चित होस् भनेका छौं,' उनले थपे, 'उहाँहरूले हामीबाट धेरै अपेक्षा गरेको पाइयो । एमसीसी जनताको हितमा हो, अर्को स्वार्थको लागि होइन भन्नुभयो । यो पारित गर्नुहुन्छ नेपालको हितमा छ, गर्नुहुन्न भने तपाईंहरूको अहितमा छ भन्ने कुरा गर्नुभयो ।'

सुमारको टोलीले भनेको कुरा उल्लेख गर्दै तुलाधरले थपे, 'हामी कुनै पनि हिसाबबाट दबाब दिनका लागि आएका होइनौं भन्नुभयो ।'

जवाफमा अध्यक्ष नेपालले जनता र राष्ट्रको हितमा भए नभएको कुरा सुनिश्चिता खोज्ने बताएको तुलाधरले जानकारी दिए । एमसीसीबारे नेपालबाट मात्रै नभई अमेरिकी अधिकारीबाट पनि भ्रम र आशंका उत्पन्न हुने अभिव्यक्ति आएको स्मरण गराइएको पनि उनले बताए । 'जनता र राष्ट्रको हितभन्दा पर गएर कुनै पनि कुरा गर्न सक्दैनौं । जे खालका आशंका, भ्रम उत्पन्न भएका छन् ती हामीबाट मात्रै होइन, तपाईंबाट पनि भएका छन् । अमेरिकी सरकारका जिम्मेवार अधिकारीबाट आशंका उत्पन्न हुने अभिव्यक्ति आएका छन् भन्यौं,' बैठकमा भएका कुराबारे जानकारी दिने क्रममा तुलाधरले भने ।

नेपाल राष्ट्रको अहितमा छ भन्ने लाग्यो भने त्यसको पक्षमा कुनै पनि हालतमा नजाने बताएको तुलाधरको भनाइ थियो । तत्कालीन नेकपामा एमसीसी कार्यदल गठन भएको र झलनाथ खनाल संयोजक रहेको कार्यदलले दिएका सुझाव पनि स्मरण गराइएको उनले जानकारी दिए ।

बैठकमा नेकपा (एस)को तर्फबाट अध्यक्ष नेपाल, पूर्वराजदूत प्रमेश हमाल, तुलाधर, मोहन गौतमलगायत सहभागी थिए ।

प्रकाशित : भाद्र २४, २०७८ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?