प्राकृतिक विपत्तिमा परेकालाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

भाद्र ११, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपत्तिमा परेकाहरूलाई तत्काल उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्था गर्न निर्देशन दिएका छन् । अविरल वर्षाका कारण देशभर भएको क्षतिका सम्बन्धमा शुक्रबार मन्त्रालयमा भएको सरोकारवालासँगको छलफलमा मन्त्री खाँणले शनिबारसम्म पनि नियमित वर्षातको सम्भावना रहेको भन्दै सम्भावित क्षति कम गर्न पूर्वतयारी गर्न समेत निर्देशन दिए ।

‘कतिपय स्थानमा पुल बगेर सडक अवरुद्ध भएको, मुख्य राजमार्ग नै अवरुद्ध भएको, र कतिपय ठाउँमा पहिरोले राजमार्ग अवरुद्ध भएको तथा वर्षातका कारण गाउँ र बस्ती नै डुबानमा परेको अवस्था छ,’ मन्त्री खाँणले भने, ‘त्यस्ता ठाउँमा सहज परिस्थिति सिर्जना गर्न सम्बन्धित निकायसँग समन्वय गर्नुहोला ।’

गृहसचिव टेकनारायण पाण्डेले निरन्तर वर्षातको सम्भावना रहेकाले समन्वयमा काम गर्न निर्देशन दिए । ‘विपद्‌मा परेकालाई सुरक्षित स्थानमा ल्याउने, अस्थायी बसोबास निर्माण गर्ने कार्य एकीकृत रूपमा समन्वयात्मक तरिकाले अघि बढाउनुहोला,’ पाण्डेले भनेका थिए । 

मन्त्रालयका अनुसार गत जेठ ३१ गतेदेखि अहिलेसम्म बाढी–पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण ८५ जनाको मृत्यु भएको छ भने ४४ जना बेपत्ता छन् ।

बैठकमा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, नेपाली सेनाका सहायक रथी रामनाथ ढुंगाना, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक  पुष्पराम केसी, मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल, जलस्रोत तथा सिँचाइ विभाग, खानी तथा भूगर्भ विभाग, सडक विभागबाट आ–आफ्नो कार्यक्षेत्रमा पर्ने स्थानमा वर्षात्‌पछि भएको क्षतिबारे विवरण प्रस्तुत भएको थियो ।

बाढी-पहिरो

कान्तिपुर

Link copied successfully