लमजुङ — तनहुँको डुम्रेदेखि लमजुङ सदरमुकाम बेसीसहर आउजाउ गर्ने एकमात्र डुम्रे–बेसीसहर सडक अवरुद्ध भएको छ ।
लमजुङ खण्डमा पर्ने बेसीसहर नगरपालिका–१ देउरालीको सडक पहिरोले आधा बगाएपछि सवारीसाधन आवतजावत हुन सकेको छैन । अविरल वर्षासँगै शुक्रबार बिहानपख गएको पहिरोका कारण लामो तथा छोटो दुरीका लागि यात्रु बोकेर हिँडेका सवारीसाधन अलपत्र परेका छन् । मोटरसाइकल, स्कुटरलाई पालैपालो गरी एकजना चढाएर जान दिइएको छ । सुरक्षा अवस्था हेरेर बटुवालाई पनि हिाड्न दिइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सई महेन्द्र रानाभाटले बताए । सडक पहिरोले लगेपछि बेसीसहरबाट काठमाडौं, पोखरा, चितवनलगायत लामो दुरीका सवारीसाधन र जिल्लाभित्र मध्यनेपाल, सुन्दरबजार र राइनास नगरपालिका साथै गोरखा, तनहुा, कास्कीलगायत छिमेकी जिल्ला आउजाउ गर्ने सवारीसाधन रोकिएका हुन् ।
सई रानाभाटका अनुसार पहिरोले करिब ४० मिटर लम्बाइ सडक लडेको छ । करिब ३ सय मिटरमा रहेको मर्स्याङ्दी नदीदेखि सडकसम्मै पहिरो चलेको र पहिरो जाने क्रम जारी रहेको उनले बताए । ‘आधा सडक बगाउनुका साथै आधा जोखिममा पारेपछि मोटरसाइकल र बटुवाबाहेकका सवारीसाधन आवतजावतमा रोक लगाइएको छ,’ उनले भने, ‘अत्यावश्यक कामकाजमा हिाडेका मोटरसाइकल र व्यक्तिलाई भने पालैपालो गरी हिँड्न दिइएको छ ।’ पहिरोले बाटो च्याप्दै ल्याएको र जोखिम बढ्दै गएको उनले बताए । उनका अनुसार सदरमुकाम बेसीसहरदेखि उक्त पहिरो ९ किलोमिटर र डुम्रेदेखि ३३ किलोमिटरको दुरीमा रहेको सडक पहिरोले बगाएको छ । यसमा करिब १ सय मिटर नयाा ट्रयाक खोल्नुपर्ने उनले बताए ।
बेसीसहर नगरपालिका–१ का अध्यक्ष बलराम श्रेष्ठले सडक खुलाउने कार्य भइरहेको बताए । उनले नयाँ ट्रयाक खोल्दा पनि जोखिम रहेकाले पानी पर्न रोकिएपछि मात्रै सडक खन्ने कार्य गर्न सुझाव दिएको बताए । डुम्रे–बेसीसहर–चामे सडक योजनाका सब–इन्जिनियर राजेश श्रेष्ठले उक्त सडकबाट सवारीसाधन हिँड्न नमिलेपछि नयाँ ट्रयाक खोल्न थालिएको बताए । यसका लागि सडक योजना कार्यालय र बेसीसहर नगरपालिकाको गरी २ वटा ब्याकुलोडर प्रयोग गरिएको छ । सडक योजनाका प्रमुख डिभिजन इन्जिनियर अमीतकुमार श्रेष्ठले पोखराबाट एक्सकाभेटर झिकाइएको र त्यसका माध्यमबाट छिटो–छिटो ट्रयाक खोलिने बताए । ‘हामी सम्भवत: आजै बाटो खुलाउँछौं’ उनले भने ।
