पहिरोले पिप्‍लेका २१ घर जोखिममा

भिरालो जमिनमा सडक खनेर पहिरो रोकथाममा काम नगर्दा असुरक्षा बढेको छ

भाद्र १०, २०७८

म्याग्दी — भिरालो पाखोमा सडक खनिएपछि गएको पहिरोले रघुगंगा गाउँपालिका–३ पिप्ले गलेश्वरका २१ घर जोखिममा परेका छन् । गलेश्वर–भगवती–बेग सडक कालोपत्र गर्ने क्रममा भिरालो पाखोमा सडक खनिएको थियो । दुई किलोमिटर सडक खण्ड खनिएको सतीपहरादेखि च्युडीस्वारासम्मको क्षेत्रमा भूक्षय हुन थालेपछि बस्ती जोखिममा परेको हो ।

चुडीस्वाँरामा एक वर्षअघिसम्म गाडी गुड्ने सडक थियो । तर अहिले त्यसको कुनै नामोनिसान देखिन्न । निर्माणको एक वर्षसम्म पनि नियामक पूर्वाधार विकास कार्यालय र ठेकेदार कम्पनीले पहिरो रोकथाममा कुनै काम नगर्दा असुरक्षा बढेको हो । ‘सडकसँग जोडिएको बजार क्षेत्र भनेर गाउँको पाखोबारी बेचेर यहाँ आइयो तर सडकले जोगी बनायो,’ स्थानीय भरत मल्लले भने, ‘पानी ठूलो पर्दा दिनमै पनि डर लाग्छ । राति पारि गलेश्वरमा गएर बस्ने गरेका छौं ।’

च्युडीस्वाँरा पाखोमा पहिरो गएको यो पहिलोपटक होइन । गत वर्ष बर्खामा पहिरोले जोखिम भएपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको थियो । यसपटक पनि पहिरोले बेनी–जोमसोम सडक लगातार अवरुद्ध भइरहेको छ । यातायात सञ्चालन गर्न दिनहुँ डोजर लगाउँदा झन् पहिरो बगेर बस्ती जोखिममा परेको हो ।

पहिरोले बेनी–जोमसोम सडकको राहुघाट खोलामाथि निर्मित मोटरेबल पुल पनि जोखिममा परेको छ । सडकमा थुप्रिएको लेदोमा फसेका सवारीसाधन एक्स्काभेटरको सहायताले वारपार गराइएको छ । जिल्लाको उत्तरी भेगका दुई गाउँपालिका र मुस्ताङ जाने र फर्कने मोटरसाइकललगायत साना तथा ठूला गाडीलाई उक्त खण्ड पार गराएको ३ सयदेखि ५ सय रुपैयाँ असुल्ने गरिएको छ ।

गलेश्वर–पिप्ले–भगवती सडक नालीसहित ८ मिटर चौडा कालोपत्र तहमा स्तरवृद्धि गर्न एपेक्स–खड्का जेभी काठमाडौंले भ्याटबाहेक १८ करोड ४१ लाख ८ सय ३८ रुपैयाँमा ठेक्का लिएको थियो । ‘गलेश्वर–भगवती सडकको सुरुको २ किमि खण्डमा पहिरोले पूरै जमिन बगेको हुँदा पुनः सडक निर्माण सम्भव छैन । त्यसैले एलाइन्मेन्ट परिवर्तन गरेका छौं । समयमा निर्माण व्यवसायी परिचालन नहुँदा पनि समस्या आएको हो,’ पूर्वाधार विकास कार्यालयका इन्जिनियर सन्तोष पोख्रेलले भने, ‘तत्कालका लागि पिप्लेसम्म रघुगंगा जलविद्युत् आयोजनाले प्रयोग गरेको सडक प्रयोगमा ल्याएका छौं ।’

लगातारको वर्षापछि जिल्लाका दर्जन बढी बस्ती पहिरोको जोखिममा परेका छन् । पहिरोले बेनी नगरपालिकाको बगरफाँट, तोराखेत, बाँस्कुना, चिप्लेटी, पात्लेखेत, मालिका गाउँपालिकाको ओखरबोट, धौलागिरि गाउँपालिकाको लम्सुङ, दर, लुलाङ, रघुगंगाको बान्दुक, चौरखानी, रायखोर, दग्नाम, मंगला गाउँपालिकाको खस्रुपानी र शिखको तल्लो गाउँ पहिरोको उच्च जोखिममा छन् ।

बाढी-पहिरो

Link copied successfully