भूकम्पले ध्वस्त भूबनोटलाई खहरे खोला र भोटेकोसीले कटान गर्दा विपद्का ठूला घटना
सिन्धुपाल्चोक — बाढीपहिरोको सम्भावित जोखिमबारे बाह्रबिसे नगरपालिकामा गरिएको भौगर्भिक अध्ययनमा नगरभित्रका १३ बस्ती उच्च जोखिममा रहेको निष्कर्ष निकालिएको छ । बाह्रबिसे–७ घुम्थाङको नागपुजे, कर्थली, जम्बु, बुकाम, सोताङलगायत बस्ती सार्नुपर्ने देखिएको हो ।
विपद्का क्षेत्रमा काम गर्दै आएको प्रतिबद्ध परियोजनाको आर्थिक सहयोगमा राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण काठमाडौंका भूगर्भविद् लेखप्रसाद भट्ट, गोविन्द पाठकसहितका प्राविधिकहरूले गत महिना बाह्रबिसेका ५० वटा गाउँबस्तीमा पुगेर भौगर्भिक अध्ययन गरेका थिए । प्रतिबद्ध परियोजनाकी जिल्ला वकालत संयोजक सीता भुजेलले उक्त बस्ती सानुपर्ने अध्ययनमा देखिएको बताइन् । ‘थप अध्ययनका लागि प्राविधिक टिमले बुझाएको प्रतिवेदनका आधारमा उच्चस्तरीय भूगर्भविद् र प्रोफेसरको समूह स्थलगत आउने योजना छ,’ उनले भनिन् । बाह्रबिसेमा अध्ययन सकेर गत असारयता उक्त टोलीले भोटेकोसी गाउँपालिका–२, ३ र ५ का जोखिमयुक्त बस्तीको अध्ययन गरिरहेको उनले बताइन् ।
भूकम्पका पराकम्पले ध्वस्त भूबनोटलाई खहरे खोला, भोटेकोसीले कटान गरिरहेको क्रमलाई बेवास्ता गरिँदा यहाँ पछिल्ला वर्ष ठूला विपद्का घटना भएका छन् । त्यसलाई न्यूनीकरण गर्न स्थानीय तहसँगको समन्वयमा प्रतिबद्ध परियोजनाबाट भौगर्भिक अध्ययन गरिएको भुजेलले बताइन् । गत वर्ष असार २५ मा भोटेकोसीको बाढीले बाह्रबिसे–५ जम्बुमा दुई जनाको मृत्यु र १७ जना बेपत्ता भएका थिए । बेपत्ता सबै अझै भेटिएका छैनन् । गत भदौ २८ मा भूकम्पपछि धाँजा फाटेको जमिनमै पहिरो खस्दा बाह्रबिसे–७ घुम्थाङको भीरखर्क नागपुजे र विक टोल गाउँको नामोनिसान मेटाइदिएको थियो । त्यहाँका १५ जनाले पहिरोमा ज्यान गुमाए, १६ जना अझै बेपत्ता छन् । एक सय परिवार घरबारविहीन भएका थिए ।
२०७१ साउन १७ मा बाह्रबिसेको जुरे पहिरोमा १ सय ४५ जनाले ज्यान गुमाएका थिए । यीबाहेक अघिल्ला बर्खामा झैं भोटेकोसी, साधीखोल्सा उर्लिएर बाह्रबिसे बजारको तटीय क्षेत्रका संरचना बर्खामा क्षति हुँदै आएका छन् । भौगर्भिक अध्ययनकै क्रममा बर्खाभर खहरे खोलाको बाढी र पहिरोको उच्च जोखिम हुने देखिएपछि एक सय परिवारलाई सुरक्षित स्थानमा सारिएको बाह्रबिसे नगरकी उपप्रमुख सुशीला पाख्रिनले बताइन् । उनीहरु दिनभर आफ्नै गाउँमा फर्किएर दैनिकी चलाए पनि राति टेन्टमै फर्कने गरेका छन् । झन्डै २७ हजार जनसंख्या भएको बाह्रबिसे नगरका नौवटै वडाका बाढीपहिरोको जोखिममा रहेका १३ स्थानमा पाँच हजार परिवार रहेको पाख्रिनले बताइन् ।
‘तत्कालका लागि मानवीय क्षति जोगाउन भौगर्भिक अध्ययन गर्दै बस्ती सारिरहेका हौं,’ पाख्रिनले भनिन् । गत असार १ मा हेलम्बु गाउँपालिकाको भेमाथाङमा पहिरो जाँदा उर्लिएको मेलम्ची बाढीले हेलम्बु र मेलम्चीलाई तहसनहस बनाएको थियो । यो घटनापछि भोटेकोसी, बलेफी, सुनकोसी गाउँपालिकाका नदी तटीय क्षेत्रका बासिन्दा त्रासमा छन् । प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बाह्रबिसेमा भौगर्भिक अध्ययन सकिए पनि अन्य पालिकामा पनि अध्ययन गरेर जोखिमयुक्त बस्तीको यकिन तथ्यांक आएपछि बसोबास व्यवस्थापनमा लाग्ने बताए ।
