पहिरोले खुर्कोट–घुर्मी सडक खण्ड अवरुद्ध

श्रावण ३१, २०७८

राजकुमार कार्की

सिन्धुली — पहिरोले मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोट–घुर्मी खण्ड आइतबारबाट अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्गको गोलन्जोर गाउँपालिका हैबार, कालीआँप, कखुरेटार, कुँडुले र च्याकुटारमा सडकमाथिबाट पहिरो खस्दा सवारीसाधन दुईतर्फी आवागमन नै रोकिएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।

कार्यालयका प्रहरी निरीक्षक बुद्धिमणी नेपालले पाँच ठाउँमा गएको पहिरोमध्ये च्याकुटार र कालीआँपको पहिरो ठूलो भएकाले पन्छाउन सकिएको छैन । हैबार र कुखुरेटारमा पनि लेदोसहितको पहिरो बग्न सुरु गरेको छ । पानी परिरहेकाले पहिरो पन्छाउन मेसिन लान नसकिएको प्रहरी निरीक्षक नेपालले जानकारी दिए । लोकमार्गको पहिरो पन्छाउन एक्सकाभेटरसहित खटिएको प्रहरीको टोली पानी परि रहेकोले पन्छाउन नसकेर फर्किएको उनले बताए ।

च्याकुटारमा घरभन्दा ठूलो ढुंगा सडकमा झरेर बसेको छ । मध्यपहाडी लोकमार्गको ६१ किलोमिटर लामो खुर्कोट–घुर्मी खण्ड अवरुद्ध हुँदा सिन्धुलीका अलावा पहाडी जिल्लाहरु खोटाङ, ओखलढुंगा, सोलुखुम्बु ओहोरदोहोर गर्ने यातायातका साधनहरु बीच बाटोमै अलपत्र परेका छन् ।

वर्षाकै कारण बीपी राजमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका–७ कानढुंग्रीमा लेदोसहित झरेको पहिरोलाई एक्सकाभेटर लगाएर बेलाबेलामा पन्छाइ अवरुद्ध हुन नदिएको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए । ४० किलोमिटर लम्बाइको सदरमुकाम सिन्धुलीमाढी–चकमके सडक पनि बाढी र पहिरोका कारण सवारी साधन आवागमन ठप्प भएको सुनौलो बीपी यातायात प्रालिले जनाएको छ । प्रालिका अध्यक्ष कान्छामान बलका अनुसार सिन्धुलीमाढी–चकमके सडकमा बीचमा विभिन्न चार ठाउँमा पहिरो गइ सडक भत्किएको छ भने भालुखोलामा बाढी आइ सवारी साधान आवतजावत ठप्प भएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ च्याकुटारमा झरेको पहिरो । 

बाढी-पहिरो

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully