सिद्धबाबा क्षेत्रमा पहिरोले जीप बगाउँदा चार घाइते [अपडेट]

श्रावण २६, २०७८

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३, सिद्धबाबा नजिकै भीरबाट तिनाउ खोलामा जिप खस्दा चारजना घाइते भएका छन् । बा १८ च ७३३६ नम्बरको स्कर्पियो जीपलाई माथिल्लो भागबाट खसेको ढुंगासहितको पहिरोले लगेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा तिनाउ गाउँपालिका–३, झुम्साका ५५ वर्षीय बाबुराम पाण्डेय, सोही स्थानका २६ वर्षीय विनोद पाण्डेय, २१ वर्षीय अमृत पाण्डेय र नवलपरासी गैंडकोटका ३४ वर्षीय गंगाबहादुर दराई रहेका छन् । घाइते सबैको रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । उनका अनुसार दुर्घटनामा परेकाहरु दुई जना गम्भीर घाइते छन् । दुई जना सामान्य रहेका छन् ।

तिनाउको झुम्साबाट बुटवल हिँडेको स्कर्पियो जीप अप्ठेरो स्थानमा भीरबाट खसेको छ । पहिरोसँगै माथिल्लो भागबाट खसेको ढुंगाले स्कर्पियोलाई लागेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए । दोभान प्रहरी चौकीदेखि एक किलोमिटर टाढा हेड बक्स नजिकै घुम्तीबाट जीप खोलामा खसेको स्थानीय तोया लम्सालले बताए ।

दुर्घटनाग्रस्त जीप सडकबाट सय मिटर तल खसेको दोभान प्रहरी चौकीले जनाएको छ । उनका अनुसार मंगलबार बिहान १० बजेतिर दुर्घटना भएको थियो । दुर्घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरी घाइतेलाई बुटवल पठाएका थिए । प्रहरीका अनुसार दोभान प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक विष्णु कुंवरको नेतृत्वमा खटिएको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

****

सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३ सिद्धबाबा नजिकै भीरबाट तिनाउखोलामा जिप खस्दा चारजना घाइते भएका छन् । पाल्पातर्फबाट बुटवल हिँडेको जीप अप्ठेरो स्थानमा खसेको छ । टेलिफोन सम्पर्क नभएकाले घाइतेको परिचय खुलिनसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।

उनका अनुसार दुर्घटनामा परेकाहरु दुई जना गम्भीर घाइते र दुई जना सामान्य छन् । तीन जनालाई रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ । एक जनालाई उद्धार गरी पठाउने तयारी गरिएको डीएसपी त्वातीले जानकारी दिए । 

दोभान प्रहरी चौकीदेखि एक किलोमिटर टाढा हेड बक्स नजिकै घुम्तीबाट जीप खोलामा खसेको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिए । उनका अनुसार १० बजेतिर दुर्घटना भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बाढी-पहिरो

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully