भेमाथाङ पहिरोको अध्ययन हुने

हिमनदीले बगाएको गेग्रानले बाढीको रुप लिएको प्रारम्भिक अनुमान

श्रावण २२, २०७८

ऋषिराम पौड्याल

काठमाडौँ — भूगर्भविद्सहितको प्राविधिक टोली शुक्रबार मेलम्ची बाढीपहिरोको उद्गमस्थलको भौगोलिक अवस्था अध्ययन गर्न हेलम्बुको भेमाथाङ जाने भएको छ । खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् शिवकुमार बाँस्कोटा नेतृत्वको टोलीले भेमाथाङ र त्यसमाथिको हिमाली भेग (करिब ४५ सय मिटर उचाइ) पुगेर अध्ययन गर्नेछ । मेलम्चीमा पहिरो गएपछि सरकारले पहिलोपटक त्यहाँ विज्ञ टोली पठाउन लागेको हो । 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेलका अनुसार टोलीका लागि स्याटेलाइट फोन, सर्भेको इक्विपमेन्ट, ड्रोन, टेन्ट खाद्यान्नलगायतका सामग्रीको व्यवस्थापन मिलाइएको छ । शुक्रबार सानो हेलिकप्टरबाट वरिष्ठ भूगर्भविद् बाँस्कोटासँगै प्राधिकरणका अधिकारी, सर्भेयर, ड्रोन प्राविधिक र पथप्रदर्शकसमेत ६ जना भेमाथाङ पुग्दै छन् । ‘मौसमले साथ दियो भने चार दिन बसेर अध्ययन गर्ने तयारीमा छौं,’ टोली प्रमुख बाँस्कोटाले भने, ‘हिमनदीले बगाएको गेग्रानले बाढीको रूप लिएको प्रारम्भिक अनुमान गरेका छौं ।’

मेलम्ची खोलाको मुहानबाट सुरु भएको बाढीपहिरोले डेढ महिनामा तल्लो तटीय क्षेत्रको झन्डै ४० किमि क्षेत्रमा बसोबास गर्दै आएका ४ जनाको ज्यान गएको छ भने २० जना अझै बेपत्ता भएका छन् । घर, खेतीयोग्य जमिन, पक्की तथा झोलुंगे पुल, मेलम्ची खानेपानी, सार्वजनिक भवनहरूको व्यापक क्षति भएको छ । गत असार १ गते र फेरि आएको बाढीपहिरोले थप क्षति भएको हो । बेलायतको डुर्हाम विश्वविद्यालयको सहयोगमा स्याटेलाइटमार्फत भेमाथाङ क्षेत्रको तस्बिर दिनैपिच्छे खिचिरहेकाले त्यसकै आधारमा पहिरोको अध्ययन सहज हुने प्राधिकरणका सीईओ पोखरेलले बताए ।

ट्रेकिङमा गएका स्थानीय गाइडका अनुसार चैत–वैशाखसम्म भेमाथाङ हरियो चौरका रूपमा थियो । माथिल्लो भेगको दायाँबायाँबाट आएका साना खोला उक्त चौरमा बग्थे । हेलम्बुका ट्रेकिङ गाइड सोनाम लामाका अनुसार भेमाथाङ चौर निकै ठूलो भागमा फैलिएको छ । ट्रेकिङका बेला उक्त चौरमा बास बस्ने गरिन्थ्यो । ‘हामीले टेन्ट हालेर बस्ने गरेको ठाउँ गेग्रानले भरिएको छ,’ लामाले भने, ‘यस्तो होला भन्ने कल्पना हामीले गरेका थिएनौं ।’ स्याटेलाइटमार्फत खिचिएको तस्बिरका आधारमा असार १ गतेको बाढीले भेमाथाङको गेग्रान बगाएको थिएन । पहिलो बाढी गएको एक महिना १७ दिनपछि मात्र भेमाथाङको गेग्रान बग्न थालेको प्राधिकरणको रिपोर्टमा उल्लेख छ । 

प्राधिकरणको प्रारम्भिक अध्ययनका आधारमा पहिरो सुरु भएको भेमाथाङको लम्बाइ झन्डै साढे दुई किमि र चौडा करिब ७ सय मिटर रहेको अनुमान छ । जेठको अन्त्यबाट सुरु भएको वर्षात्का कारण हिमाली भेगबाट ढुंगा, माटो जम्मा भएको अनुमान गरिएको छ । सोही ढुंगा, माटो र बालुवाको थुप्रो बिस्तारै बग्दै बाढीमा परिणत भएको भूगर्भविद्हरूले अनुमान लगाएका हुन् । भेमाथाङमा रहेको स्तूपलाई दायाँ र बायाँबाट बगेको ठाडो खोला र हिमाली डाँडाबाट आएको गेग्रानले पुरेको छ । 

१० देखि १२ फिट बालुवा, ढुंगा र गेग्रानले पुरिएको स्तूपको टुप्पो मात्र देखिएको छ । दोस्रोपटक बाढी आएपछि हेलिकप्टरबाट भेमाथाङ पुगेर फर्केका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार भेमाथाङ चौरको एक छेउबाट अर्को छेउ पुग्न झन्डै ४५ मिनेट लाग्छ । ‘गेग्रानले भरिएको जमिन कडा छ । बालुवा, ढुंगा र माटो जमेको छ,’ उनले भने, ‘चौरको दक्षिण–पूर्वी भागबाट मेलम्ची हेड वर्क्सतिर (खोला बगेको भागतिरै) सुरु भएको बाढीले लगातार कटान गरिरहेको छ ।’

हेलम्बु जोड्न यान्त्रिक ब्रिज 

हेलम्बुको लाइफ लाइनका रूपमा रहेको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । हेलम्बुको तार्केघ्याङ, शेर्माथाङ, मेलम्चीघ्याङलगायतका बस्तीमा सेनाको हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिरहेको गाउँपालिका अध्यक्ष शेर्पाले बताए । उनका अनुसार यहाँ आउजाउ र ढुवानीको मुख्य समस्या छ । समाधानका लागि मेलम्ची प्रवेश मार्गको चनौटेमा यान्त्रिक पुल (केबलकार जस्तै) बनाउने तयारी थालिएको छ । यान्त्रिक पुल निर्माणका लागि ६० देखि ६५ लाख खर्च हुने अनुमान छ । 

‘पुल निर्माणका लागि अध्ययन सुरु भइसकेको छ । बाढीले बेलिब्रिज बगाउन सक्ने, निर्माणको समय र लागतका हिसाबले पनि यान्त्रिक पुल सहज हुने देखिएको छ,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने । यान्त्रिक पुल एक प्रकारको केबलकार जस्तै हो । लट्ठामा जडान गरिएको कोक्रोको 

माध्यमबाट मान्छे आउजाउ गर्न र ढुवानीका सामान ओसारपसार गर्न सकिन्छ । विद्युत्बाट सञ्चालन हुने पुल बिजुली नभएको अवस्थामा मान्छेले पनि चलाउन सक्ने उनले बताए । अहिले यस्तो पुल तनहुँको दुलेगौंडामा सञ्चालनमा छ । 

चनौटेको रातो पुल गत आइतबारको बाढीले बगाएपछि हेलम्बुसँगको यातायात पूर्णरूपमा बन्द भएको छ । चनौटेबाट मेलम्ची मुहानको अम्बाथानसम्मको सडक खण्डको सबैजसो भाग खोलामा मिसिएको छ । तत्काल सडक बनाउने सम्भावना छैन । मेलम्ची पुल बजारदेखि खानेपानी मुहानसम्मको करिब २० किमि सडक छियाछिया भएको छ । 

बाढी-पहिरो

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully