काठमाडौँ — राप्रपा अध्यक्ष पशुपतिशमशेर जबराले बाढीबाट क्षतिग्रस्त मेलम्चीको पुनर्निर्माणका लागि सम्पूर्ण ध्यान केन्द्रीत गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
अध्यक्ष राणाले शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी मेलम्चीको पुरानो सौन्दर्य कायम राख्न, बाढीबाट विस्थापित भएकाहरूको पुनःस्थापना र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् ।
क्षतिग्रस्त मेलम्चीको सम्बन्धमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै अध्यक्ष राणाले बाढीले क्षति पुर्याएका सडकको पुनर्निर्माण, मेलम्ची र चनौटेमा पुल निर्माणको कार्य अविलम्ब गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
बाढीले जनधनको क्षति मात्रै नभइ मेलम्चीबासीको सपना समेत बगाएको बताउँदै अध्यक्ष राणाले सरकारकोतर्फबाट राहत, पुनःस्थापना र पुनर्निर्माणमा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।
प्रत्युत्तरमा प्रधानमन्त्री देउवाले मेलम्चीको विषयमा सरकार र आफू गम्भीर भएको र मेलम्ची पुनर्निर्माणमा कुनै कमी हुन नदिने प्रतिबद्धता अध्यक्ष राणा समक्ष व्यक्त गरेका छन् ।
राप्रपा अध्यक्ष राणा नेतृत्वको पार्टीको सिन्धुपाल्चोक कमिटीसहितको प्रतिनिधिमण्डलले शनिबार प्रधानमन्त्रीलाई भेट गरि ज्ञापनपत्र बुझाएको हो ।
