जेठयता बाढीपहिरोका कारण सयभन्दा बढी परिवार विस्थापित भइसकेका छन्
दोलखा — बाढीपहिरोका कारण जेठ अन्तिम सातायता घरबारविहीन बनेका लापिलाङ–५ रानीवनका पीडितहरू अझै टहरा र गोठमा बसिरहेका छन् । विस्थापित हुनेको संख्या कम्तीमा सय छ । बाढीपहिरो अझै थामिएको छैन ।
बाढीसँगैको पहिरोले सयौं रोपनी धान खेत र बारी बगाएको वडाध्यक्ष सुवास थामीले बताए । ‘रानीवनका ४० घर पहिरोको उच्च जोखिममा छन्,’ उनले भने, ‘पहिरोका कारण घरहरू चर्किएका छन् । ती घरका सबैजना अन्यन्त्र बसिरहेका छन् ।’ निरन्तर पहिरो गइरहेकाले अझै कति परिवार घरबारविहीन हुने हुन् भन्न नसकिने उनले बताए । घट्टेखोलाको कटानले रानीवन बस्ती नै जोखिममा परेको हो । स्थानीयहरू दिनभर पहिरो हेरेर बस्छन् भने रात परेपछि गाउँ छाडेर जंगलतर्फ जाने गर्छन् । विस्थापितहरू जंगल, विद्यालय र सामुदायिक भवनमा रात काटिरहेका छन् ।
शुक्रबार प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा पुगेकी वाग्मती प्रदेशकी सामाजिक विकासमन्त्री सरस्वती बस्नेत र आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले पीडितलाई घर बनाउन प्रदेश सरकारले ४ लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने आश्वासन दिएका छन् । अस्थायी बसोबासका लागि प्रतिपरिवार २५ हजार रुपैयाँ तत्काल दिने पनि उनीहरूको आश्वासन छ । तर गत वर्ष पनि यस्तै आश्वासन पाएका पीडितहरूले भने हालसम्म राहत रकम पाएका छैनन् । गत वर्ष पहिरोले घर पुरेपछि धनमान थामीको परिवार जंगलमा गोठ बनाएर बसेको छ । ‘वर्ष दिनदेखि जंगलमा छौं । पोहोरै घर बनाउन पैसा दिन्छु भन्थे दिएनन्,’ उनले भने । थामीसहित ९ घर गत वर्षको पहिरोले पुरेको थियो । २४ परिवार विस्थापित भएका थिए ।
पहिरोले घर बगाएका सबै पीडितको बास वर्ष दिनदेखि चित्रा भकारीस्थित जंगलमा रहेको अर्का पीडित लालकुमार थामीले बताए । ‘पहिरोले घर लगेपछि जंगलमा कष्टकर रात काटिरहेका छौं,’ उनले भने, ‘गोठ चुहिएर रातभरि सुत्न सकिँदैन ।’ यसपटक बाढीपहिरोले विध्वंस मच्चाएको २ महिना पुग्न लाग्दा सरकारी टोली निरीक्षणमा पुगेकामा आफूहरू खिन्न बनेको उत्तमकुमारी थामीले बताइन् । ‘अर्काको बारीमा गोठ बनाएर बसेका छौं,’ उनले भनिन्, ‘यत्रो दिनसम्म कोही आएनन् ।’
एक महिनाअघिसम्म २२ घर उच्च जोखिममा थिए । साउनयता थप ४० घर पहिरोले चर्किएका छन् । पहिरो रोकथाम र बस्ती स्थानान्तरणमा चासो नदिएका कारण गाउँमा ठूलो क्षति भइरहेको स्थानीय बताउँछन् । लापिलाङ उपाध्यक्ष कालिका पाठकले भनिन्, ‘पहिरो निरन्तर चलिरहेकाले धेरै परिवारले घर छाडेका छन् । तत्काल सयभन्दा बढी परिवारलाई अस्थायी बसोबासको खाँचो छ ।’ वडाले पीडितहरूबारे तथ्यांक संकलन गरिरहेको र त्यसका आधारमा पहिलो चरणमा खाद्यान्न वितरण गर्ने योजना रहेको उनले बताइन् । ‘त्यसपछि पीडितलाई अस्थायी आवासका लागि तत्काल २५ हजार रुपैयाँका दरले निकासा दिन्छौं,’ उनले भनिन् ।
