‘भूकम्पपछि केही तंग्रिँदै गरेको यस क्षेत्रलाई बाढीपहिरोले धेरै पछाडि धकेलिदिएको छ’
सिन्धुपाल्चोक — कोरोना संक्रमणकै बीच बाढीपहिरोसमेत थपिएपछि सिन्धुपाल्चोकमा पर्यटकीय चहलपहल ठप्प बनेको छ । केही वर्षयता स्थानीय तहहरू विभिन्न पर्यटकीयस्थलको पुनर्निर्माण र त्यहाँसम्म पुग्ने सडक यातायात सेवा सहज बनाउने प्रयासमा थिए । तर यो बर्खामा बाढीपहिरोले बनेका विभिन्न संरचना र सडकसमेत क्षतविक्षत पारेको छ ।
पर्यटन मन्त्रालयको मुलुकका सय गन्तव्यस्थलमा परेका भोटेकोसी र सुनकोसी नदीमा र्याफ्टिङ र बन्जी जम्प न्यून आन्तरिक पर्यटककै भरमा जेनतेन चलिरहेका छन् । भूकम्पपछि तंग्रिँदै गरेका हेलम्बु र पाँचपोखरी क्षेत्र असार १ मा भेमाथाङबाट सोहोरिएर खसेको पहिरो मिसिएको मेलम्ची बाढीले पूर्वाधारविहीन बनेको छ । ‘कोरोनामाथि बाढीपहिरोको विध्वंसले जिल्लाको पर्यटनलाई पूरै शून्यमा झारिदिएको छ । यसले सम्पूर्ण पर्यटन व्यवसायी मारमा परेका छन्,’ जिल्लाका पुराना पर्यटन व्यवसायी महेन्द्रसिंह थापाले भने, ‘राजधानीबाट नजिकै रहेका चर्चित पर्यटकीय गन्तव्य प्रायः ध्वस्त बनेका छन् ।’
हेलम्बु गाउँपालिकामा तार्केघ्याङ, गुरु रिन्पोछे गुफा, मेलम्चीघ्याङ, महादेव पाइला, मिलारेपा, चिरी गुम्बालगायत अनेक प्राचीन सम्पदा र तीर्थस्थल छन् । जहाँ बर्सेनि ३५ हजारभन्दा बढी पर्यटक पुग्थे । आमायांग्री, पाँचपोखरी, डुग रेन्जेन ड्राइगन गुफा, ठूलो ढुंगाको मनोरम दृश्यले उनीहरूलाई लोभ्याउँथे । तर मेलम्ची बाढीले हेलम्बु र पाँचपोखरीका केही वडालाई सडक, सञ्चारलगायत पूर्वाधारबाट अलग्याइदिएपछि यहाँका पर्यटकीय गन्तव्यस्थल पनि दुर्गमजस्तै बन्न पुगेका हेलम्बु–१ का अध्यक्ष मिङमार ह्योल्मोले बताए । ‘भूकम्पपछि केही तंग्रिँदै गरेको यस क्षेत्रलाई बाढीपहिरोले धेरै समय पछाडि धकेलिदिएको छ,’ उनले भने ।
भूकम्पपछि अहिलेसम्म तातोपानी क्षेत्रमा एक जना पनि विदेशी पर्यटक आएका छैनन् । गत वर्ष आन्तरिक पर्यटकसमेत न्यून मात्रै आएका तातोपानी अध्यागमन कार्यालयले जनाएको छ । तातोपानीको बाटो प्रयोग गरेर भूकम्पअघि वार्षिक ५० हजारभन्दा बढी विदेशी पर्यटक आउने, जाने गर्थे । जसमध्ये ४० हजारभन्दा बढी पर्यटक चीनका हुन्थे । तातोपानी नाका मालवाहक सवारीका लागि मात्रै चलेकाले उक्त नाका भएर भारतलगायत विभन्न मुलुकका तीर्थयात्रीले तिब्बतको कैलाश मानसरोवर भ्रमण गर्न पाएका छैनन् । बर्सेनि तातोपानी धारा नुहाउन आउने आन्तरिक पर्यटकको संख्यामा पनि भारी गिरावट आएको छ । गत वर्ष एक हजार आन्तरिक पर्यटक मात्रै तातोपानी धारा आएका तातोपानी धारा संरक्षण समितिका अगुवा अमृत खड्काले बताए । ‘नाका बन्द भएपछि चर्चित पर्यटकीयस्थलको महत्त्व ओझेलमा परेको छ,’ उनले भने ।
तातोपानी–६ दुगुनामा रहेको ऐतिहासिकस्थल दुगुनागढीमा बाढीपहिरोपछि कोही पुगेका छैनन् । दुगुनागढी हुँदै ४२ सय मिटर उचाइमा रहेको भैरवकुण्डसम्म जाने पदमार्ग पनि पहिरोले क्षतिग्रस्त छ । पहिला होमस्टे सञ्चालन गर्दै आएका दुगुनागढीमाथिका यार्मासिंह, खाम्गेक विक टोल, भूमाचौर पाटीकुना, भेकासिंह, थांमाछे र ढिसिङ टोलका १ सय ४५ घर केही पर सुरक्षित स्थानमा सरेका छन् ।
बाह्य पर्यटकलाई लक्ष्य गरी ३० रोपनी जग्गामा स्थापना गरिएको दुगुनागढीस्थित वज्र इको रिसोर्ट भूकम्पपछि हालसम्म पनि बन्द छ । एसियाकै ठूलो मानिने बन्जी जम्प गरिने नयाँ पुलस्थित द लास्ट रिसोर्टमा विदेशी पर्यटकको संख्या आधाभन्दा बढी घटेको रिसोर्टका कुमार राउतले जानकारी दिए । ‘अहिले बन्जी जम्प गर्ने पर्यटक पनि घटेका छन्,’ उनले भने, ‘पहिले सातामा सय जनाभन्दा बढी पुग्थे । अहिले मुस्किलले ५० जना हुने गरेका छन् ।’
