सिन्धुलीमा पहिरोले तीन घर पुर्‍यो

दर्जनौं घर जोखिममा

भाद्र ११, २०७८

राजकुमार कार्की

सिन्धुली — अविरल वर्षाका कारण खसेको पहिरोले सिन्धुलीको कमलामाई नगरपालिका–११ फिटिङमा तीन घर पुरेको छ । सँगै जोडिएका अन्य ९ घर उच्च जोखिममा परेका छन् । बिहानपख पहिरो आएका कारण मानवीय क्षति भने हुन पाएन ।

सुतिरहेको समयमा पहिरो खसेको जस्तो लागेर थाहा पाएपछि सबैजना भागेको पीडित भिममाया वाइवाले बताइन् । घरमा भएका सबै सामान पहिरोमा परेको उनले बताइन् । आफूकोमा ओत लाग्ने त्रिपालसमेत नभएको उनको गुनासो छ । 

कमलामाइकै वडा–७ एकपाखेमा पहिरोले दुई घर जोखिममा परेका छन् । सिन्धुलीमाडी–चकमके सडकसमेत बगाउने गरी खसेको पहिरो घर नजिक पुगेको छ । वडा–४ को चिसापानी झोरामा समेत पहिरो खस्दा ४ घर जोखिममा परेका छन् ।

सदरमुकाम सिन्धुलीमाडीमा ग्वाङ खोलाको कटानबाट जोखिममा परेको फ्रेस हाउस । 

सदरमुकाम बसपार्क नजिक ग्वाङ खोलाको कटानबाट पहिरो गएको एक फ्रेस हाउस जोखिममा परेको छ । अविरल वर्षापछि कमला, मरिण र चँदाहा खोलामा आएको बाढीले धान खेत कटान गरेको छ । 

बाढी-पहिरो

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully