चितवन — लगातारको वर्षापछि पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक बिहीबार साँझदेखि अवरुद्ध भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यबहादुर थापाले नारायणगढदेखि २० किलोमिटर पर भरतपुर महानगरपालिका–२९ भोर्ले सेती दोभानमा साँझ साढे ८ बजेतिर पहिरो खसेर बाटो अवरुद्ध भएको जानकारी दिए ।
पहिरोले गर्दा दुवैतर्फी रुपमा नै बाटो ठप्प भएको र तत्काल खुल्न सक्ने सम्भावना नरहेको उनले बताए । चितवनमा बिहीबार दिउँसोदेखि लगातार भारी वर्षा भइरहेको छ । यो ठाउँमा असार १८ गते साँझ पहिरो खसेर बाटो रोकिँदा लगभग एक हप्ता यातायात अस्तव्यस्त भएको थियो । फेरि सोही ठाउँमा पहिरो झरेको र वर्षा नरोकिएका कारण यो पटक पनि त्यही बेलाको जस्तै समस्या दोहरिने खतरा देखापरेको छ ।
नारायणगढ–मुग्लिन सडक संघीय राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । यो सडक हुँदै दैनिक १० हजार साना/ठूला यात्रु तथा मालबाहक गाडी काठमाडौं र पोखरा तथा गण्डकी क्षेत्रका पहाडी जिल्ला गोर्खा, लम्जुङ, तनहुँ ओहोरदोहोर गर्दछन् । सडक फराकिलो बनाउन पहाड काटेको ठाउँमा तीन वर्षयता पहिरो खसेर बर्खायाममा सधैं सास्ती हुने गरेको छ ।
