नेपालमा कोरोना खोपको ट्रायल गर्न मन्त्रिपरिषद्को अनुमति- समाचार - कान्तिपुर समाचार

नेपालमा कोरोना खोपको ट्रायल गर्न मन्त्रिपरिषद्को अनुमति

चीनमा उत्पादित वालभ्याक्स खोपको ट्रायल देउराली जनता फार्मास्यूटिकल्ससँगको सहकार्यमा हुने
कान्तिपुर संवाददाता

काठमाडौँ — बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कोरोनाविरुद्ध खोपको ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले चीनमा उत्पादन गरिएको एमआरएनए खोपलाई नेपालमा परीक्षण गर्न अनुमति दिएको नेपाल सरकारका कानुनमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि जानकारी दिए । कोरोनाको खोपसँगै बैठकले हैजाविरुद्धको खोपको पनि परीक्षण गर्न अनुमति दिने निर्णय गरेको बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)का कार्यकारी प्रमुख प्रदीप ज्ञवालीका अनुसार परिषदले इथिकल स्वीकृति प्रदान गरेको चीनमा निर्मित वालभ्याक्स खोपलाई मन्त्रिपरिषदले परीक्षण गर्न अनुमति प्रदान गरेको हो । उनका अनुसार चिनियाँ कम्पनीले नेपालमा देउराली जनता फार्मास्यूटिकल्ससँगको सहकार्यमा खोपको परीक्षण गर्ने छ।

'हामीले इथिकल स्वीकृति दिएपछि परीक्षणको प्रस्ताव मन्त्रिपरिषदमा लगिएको थियो । यो एमआरएनए खोप भएपनि सामान्य फ्रिजकै तापक्रममा राख्न मिल्छ,' उनले भने, 'नेपालमा ३००० जनामा यसको परीक्षण गरिने छ । त्यसको सबै व्यवस्थापकीय काम देउराली जनताले नै हेर्ने छ ।'

सरकारले ट्रायल अनुमति दिएको 'एमआरएनए' खोप भनेको के हो ?


उनका अनुसार यो खोपको तेस्रो तहको परीक्षण हो । 'खोपको ट्रायलपछि चिनियाँ कम्पनीले नेपालमै उत्पादन समेत गर्ने तयारी गरेकोले पनि हामी यसमा सकारात्मक भएका हौं,' उनले भने, 'यसअघिको मन्त्रिपरिषद बैठकले नेपालमा खोप उत्पादनका लागि आवश्यक कार्यविधि पनि पारित गरिसकेको छ ।'

कोरोनाको एमआरएनए खोपसँगै मन्त्रिपरिषदले परीक्षण अनुमति दिएको हैजाको खोपको ट्रायल भने दक्षिण कोरियास्थित इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई)ले गर्न लागेको हो । इन्स्टिच्युटले यसअघि पनि नेपालमा धेरैवटा खोपको ट्रायल गराइसकेको छ । केही समय अघि कोरोना खोपकै पनि ट्रायलका लागि इन्स्टिच्युटले प्रयास गरेको थियो ।


प्रकाशित : भाद्र १०, २०७८ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनी प्रदेशमा नेकपा (एकीकृत समाजवादी) कमजोर

दुवै पक्षबाट नेता कार्यकर्ता फकाउने र रोक्ने प्रयास जारी
घनश्याम गौतम

रूपन्देही — माधव नेपाललाई साथ दिँदै आएका एमालेका दोस्रो पुस्ताका नेताले छोडेपछि लुम्बिनी प्रदेशमा नेकपा एकीकृत समाजवादी कमजोर देखिएको छ । लुम्बिनी प्रदेशबाट नेपाल पक्षमा दोस्रो पुस्ताका प्रभावशाली नेता थिए । केही समय मध्यमार्गी धारमा रहेर एकताको लबिङ गर्दै आएका नेताले साथ छोडेपछि समाजवादी केन्द्रीय नेतृत्वविहीन जस्तै छ । 

लुम्बिनी प्रदेशबाट नेपाल पक्षमा रहेका उपाध्यक्ष युवराज ज्ञवाली, उप महासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, केन्द्रीय सदस्य ठाकुर गैरेलगायतले नेपालको साथ छोडेर एमालेमै लागेका हुन् । ओली पक्षमा रहेका उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मासहितका नेता नेकपा एमालेमै छन् । विभाजनले एमालेलाई धेरै असर नपरे पनि नयाँ पार्टी समाजवादी कमजोर देखिएको हो । तर, प्रदेशबाट मेटमणि चौधरी, डा. विजय पौडेल, रामकुमारी झाँक्री, भागवत नेपाली लगायतका नेताहरु समाजवादीको नेतृत्वमा छन् ।

केन्द्रीय नेता एमालेमा रहेसँगै जिल्ला र स्थानीय तहमा पनि मध्यमार्गी नेताहरुकै प्रभाव कारण एकीकृत समाजवादीलाई संगठन निर्माणमा चुनौती छ । तर, केही तेस्रो पुस्ताका नेताले भने संगठन निर्माण सुरु गरेका छन् ।

जिल्ला तहमा रूपन्देहीमा राजु गुरुङले भुसाल एमालेमै रहेपनि जिल्लाको संगठन निर्माणमा कुनै असर नपर्ने बताए । एमालेको तीव्र अन्तरसंघर्षकै बेला जिल्लामा भुसालको नेतृत्वमा समानान्तर समिति गठन भएको थियो । गुरुङकै अध्यक्षतामा समिति गठन भएर अहिलेपनि क्रियाशील छ । गुरुङले मध्यमार्गी नेताले धार परिवर्तन गरेपनि समाजवादीलाई त्यस्तो ठूलो असर नपरेको बताए । ‘घनश्यामजी एमालेमा जाँदा १० प्रतिशत मात्र फरक पर्ला,’ उनले भने, ‘अन्य केही फरक पर्दैन ।’ केही जनप्रतिनिधि अहिले तटस्थ बसेको र २१ दिनको समय अवधि रहेका कारण त्यतिबेलासम्म जनप्रतिनिधिसँगै अन्य धेरै नेता कार्यकर्ता समाजवादीमै खुल्ने उनको दाबी छ ।

लुम्बिनी प्रदेशसभामा माधव समूहमा यसअघि दुई नेता मात्र खुलेका थिए । कपिलवस्तुका विष्णु पन्थी र पाल्पाकी रमा घर्ती नेपाल समूहमा थिइन् । अहिले दुवै कतै खुलेका छैनन् । गुल्मीमा गोकर्ण विष्ट एमालेमै रहेपछि समाजवादीको प्रभाव न्यून छ । तर, केही युवा पुस्ताका नेताहरु समाजवादीमा लाग्ने गरी छलफल गरिरहेका छन् । जिल्लामा प्रभाव रहेका हिरा एसी, हरि छन्तेल, श्रीराम महत, हिमाल थापालगायतका नेताहरुले समाजवादीको संगठन निर्माणका लागि छलफल गरिरहेको महतले बताए ।

समाजवादीको केन्द्रीय सदस्यमा रहेका नेताहरुको जिल्लामा जिल्ला तहकै नेता समाजवादीमा खुलेका छन् । पाल्पा, बाँके, दाङ, कपिलवस्तु लगायतका जिल्लामा पनि समाजवादीको नेतृत्व देखिएको छ । अधिकांश जिल्लामा समाजवादीका संयोजक रहेका माधव नेपाल आफैंले फोन गरेर नेता र कार्यकर्ता 'कन्भिन्स' गरिरहेका छन् । त्यस्तै एमालेबाट पनि केन्द्रीय तहका नेताहरुले जनवर्गीय संगठन, जिल्ला र स्थानीय तहका नेता कार्यकर्तालाई फोन गर्ने र आ–आफ्नो दलमै राख्ने प्रयास गरिरहेका छन् ।

प्रकाशित : भाद्र १०, २०७८ १८:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×