कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कोरोना खोपको ‘बुस्टर डोज’ बारे जान्नैपर्ने कुरा 

काठमाडौँ — कोरोना भाइरसको भेरियन्टमध्ये अहिले सबैभन्दा बढी खतरनाक मानिएको डेल्टा भेरियन्टको संक्रमण विश्वभरि नै फैलिइरहेको छ । यसले संक्रमित हुनेको संख्या तथा मृत्यु पनि बढाइरहेको छ । सँगै विश्वभर कोभिडविरुद्धको खोप लगाइँदैछ । 

कोरोना खोपको ‘बुस्टर डोज’ बारे जान्नैपर्ने कुरा 

अक्सफोर्ड–एस्ट्राजेनेका खोपको विकासमा योगदान दिएका अक्सफोर्ड भ्याक्सिन ग्रुपका प्रमुख प्राडा. एन्ड्र्यु पोलार्डका अनुसार डेल्टा भेरियन्टले खोप लगाइसकेका व्यक्तिलाई पनि संक्रमित बनाउने क्षमता राख्दछ । डेल्टा भेरियन्टले हर्ड इम्युनिटीको विकासलाई प्राय असम्भव जस्तै नै बनाइदिएको उनी बताउँछन् ।

केही तथ्यांकले कोभिडविरुद्धका खोपहरुको केही समयपश्चात प्रभावकारिता घट्दै जाने देखाएका छन् । यस्तै केही वैज्ञानिक तथा खोप निर्माता कम्पनीले बुस्टर डोजको प्रयोगले डेल्टा भेरियन्टलाई किनारा लगाउन प्रभावकारी देखिएको बताएका छन् ।

बुस्टर डोजका बारेमा तथ्यहरु कहाँसम्म पुगेका छन् र यसको अभियानका बारेमा देशहरुले कस्तो प्रतिक्रिया जनाइरहेका छन् त ? यस विषयमा अहिले धेरैको चासो बढेको छ ।

बुस्टर डोज भनेको के हो ?

बुस्टर डोज भनेको खोपको अतिरिक्त डोज हो । जसले संक्रमणविरुद्ध थप सुरक्षा प्रदान गर्छ । बुस्टर खोप धेरै भाइरल संक्रमणका लागि सामान्य नै हो । जस्तै केही फ्लूका लागि । फ्लूको पनि हरेक वर्ष बुस्टर खोप आवश्यकता पर्छ । त्यसैगरी टिटानस, डिपथेरिया, पर्टसिसमा पनि हरेक १० वर्ष बुस्टर डोज आवश्यकता पर्दछ । इन्फ्लुएन्जा भाइरसले आफ्नो अनुवांशिक गुण परिवर्तन गरिरहेको हुनाले फ्लूको खोप हरेक वर्ष परिवर्तन भइराख्छ ।

यसको आवश्यकता किन ?

बुस्टर डोज किन लगाइन्छ भन्नेमा दुईवटा कारणहरु छन् । पहिलो रोग प्रतिरोधात्मक क्षमता समयअनुसार घट्दै गइरहेका कारणले । र, कुनै निश्चित एन्टिजेन बारम्बार एक्सपोज नभएमा रोग प्रतिरोधात्मक प्रणालीले रोग वा संक्रमणलाई रोक्न कम सक्षम हुने हुँदा ।

खोपको बुस्टर डोजले रोग प्रतिरोधात्मक प्रणालीको सुरक्षात्मक प्रतिक्रिया कायम राख्न सहयोग गर्छ । त्यसैगरी अर्को कारण हो भाइसरको भेरियन्ट । बुस्टर डोजले अनुवांशिक गुण परिवर्तन गरेको भाइरसविरुद्ध नयाँ रोगप्रतिरोधी क्षमताको विकास गर्न सहयोग गर्छ ।

ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधी क्षमता कम भएकालाई बुस्टर डोज उपयोगी हुनसक्छ । जसले खोप प्राप्त गरेपनि रोग प्रतिरोधी क्षमता बलियो रुपमा विकास भएको हुँदैन । कार्डिफ युनिभर्सिटीका संक्रमण तथा रोग प्रतिरोधी प्रणाली शाखाका डा. रिचार्ड स्ट्यान भन्छन्– ‘अहिलेको तथ्यांक हेर्दा जो मानिसलाई खोपले राम्रो प्रतिक्रिया दिएको छ उनीहरूमा १२ महिनाभन्दा बढी समयसम्म पनि नयाँ भेरियन्टविरुद्ध रोग प्रतिरोधी क्षमता कायम रहन सक्छ । मेरो विचारमा उनीहरुलाई अहिले नै बुस्टर डोज दिनु जरुरी छैन । तर, हामीले के कुरामा ध्यान दिनुपर्छ भने सबैको रोगप्रतिरोधी क्षमता एउटै हुँदैन । ज्येष्ठ र वयस्कमा फरक पर्छ । हामीले यसमा विचार गर्नुपर्छ ।’

प्रारम्भिक तथ्यांकले बुस्टर डोज प्रभावकारी देखायो

डेल्टा भेरियन्टविरुद्ध बुस्टर डोज प्रभावकारी देखिएको भन्ने प्रकाशित तथ्यांक नभेटिएपनि कोभिडविरुद्धको खोप उत्पादन र बिक्री वितरण गर्दै आएका कम्पनीका अनुसार उनीहरुले गरेको क्लिनिकल ट्रायलले यस कुरालाई बल पुर्‍याएको दाबी गरेका छन् । फाइजरको सन् २०२१ को दोश्रो चौमासिकको रिपोर्ट अनुसार कोभिडविरुद्ध थप बुस्टर पाएको खण्डमा यसले एन्टिबडीको विकास गर्ने बताएको छ । जसअनुसार १८ देखि ५५ वर्षसम्मका लागि ५ गुण र ६५ वर्षदेखि ८५ वर्षसम्मका लागि दुई गुणा डेल्टा भेरियन्ट एन्टिबडी वृद्धि गर्ने जनाएको छ ।

यसबारेमा फाइजरका प्रवक्ता भन्छन्– ‘यो निष्कर्ष बुस्टर डोजको चलिरहेको ट्रायल तथा प्रयोगशालाको परीक्षणबाट निकालिएको हो । यसबारे थप तथ्यांक आउँदो हप्ता सम्ममा प्राप्त हुनेछ । ’

बुस्टर डोजको बारेमा चलिरहेको ट्रायलले सुरक्षाको मूल्यांकन समेत गरिरहेको छ । ‘हामी विश्वास गर्छौं कि ‘बीएनटी१६२बी२’सँग अहिले देखिएका भेरियन्टहरु जस्तै डेल्टा भेरियन्टलगायतविरुद्ध उच्च स्तरको सुरक्षा प्रदान गर्ने प्रभावकारिता देखिन्छ,’ उनले भने, ‘हामी सतर्क छौँ । हामीले डेल्टा भेरियन्टको पूर्ण स्पाइक प्रोटिनलाई लक्षित गरेर खोपको अपडेटेड भर्सनको विकास गर्देछौँ । पहिलो ब्याचको एमआरएनएको ट्रायल निर्माण भइसकेको छ । क्लिनिकल अध्ययन अगस्टदेखि सुरु गर्छौँ ।’

बुस्टर डोजका लागि फाइजर तथा मोडर्नाले अनुमति लिन खोजिरहेका छन् । अहिलेसम्म एफडीएले फाइजर तथा मोडर्नालाई बुस्टर खोपको लागि प्रारम्भिक अनुमति दिएको छ । तर, हाललाई अमेरिकामा रोग प्रतिरोधात्मक क्षमता कम भएका र कोभिडको संक्रमणको उच्च जोखिम भएकालाई मात्रै बुस्टर डोज लगाउन पाइन्छ ।

विश्व स्वास्थ्य संगठन यसबारे के भन्छ ?

बुस्टर डोजले अहिले देखिएका भेरियन्टविरुद्ध राम्रो सुरक्षा दिने बहस चलिरहँदा विश्व स्वास्थ्य संगठनले भने यसरी धनी मुलुकमा तेस्रो खोप वितरण भए निम्न आय भएका देशहरुले पहिलो डोज खोप पनि नपाउने अवस्था आउने बताउँछ ।

अगस्ट ४ मा संगठनका निर्देशक डा. टेड्रोस एड्हानम गेब्रियससले पत्रकार सम्मेलनमा भनेका छन्– ‘म बुझ्छु, सबै देशले डेल्टा भेरियन्टबाट आफ्ना जनताको जीवनरक्षा गर्न चाहन्छन् । तर, हामी ती देशहरुले तेस्रो डोज पनि लगाउने विषयलाई स्वीकार गर्न सक्दैनौं । किनभने उनीहरुले पहिला नै खोपको विश्वव्यापी आपूर्तिको धेरैभन्दा धेरै संख्या प्रयोग गरिरहेका छन् ।’

बुस्टर खोप दिने इजरायल पहिलो देश

कोभिडविरुद्धको बुस्टर डोज दिने इजरायल पहिलो देश बनेको छ । इजरायलले खोप लगाइसकेका ६० वर्ष माथिका नागरिकलाई बुस्टर डोज दिने भएको हो । बिहीबार इजरायलका प्रधामन्त्रीले नागरिकलाई तेस्रो बुस्टर डोज दिने घोषणा गरेका हुन् ।

डेल्टा भेरियन्टको संक्रमण फैलिएसँगै यसले खोपको प्रभावकारितामा पनि फरक पारेको छ । दुई डोज खोपको मात्राले संक्रमण तथा गम्भीर हुनबाट बचाउने तथा प्रभावकारी घट्दै गएको देखिन्छ ।

विश्वभर नै बुस्टर डोज अभियान औपचारिक रुपमा अगाडि बढ्ने विश्वास लिइएको छ । अभियान सुरु भएपश्चात अेमेरिकी एफडीएले अनुमति दिनुभन्दा पहिले नै इजरायल बुस्टर डोजका लागि परीक्षणस्थल बन्ने छ ।

जुलाई ११ देखि इजरायल सरकारले रोग प्रतिरोधात्मक क्षमता कम भएका वयस्कलाई तेस्रो बुस्टर डोज खोप दिन सुरु गरेको छ ।

फाइजरले पनि संक्रामक कोरोना भाइरसबाट सुरुक्षा दिन थप डोजको आवश्यकता रहेको औपचारिक रुपमा नै औंल्याएको छ ।

पछिल्लो साता इजरायलको स्वास्थ्य मन्त्रालयले लक्षणसहितको संक्रमणलाई रोक्न खोपले ४१ प्रतिशत काम गरेको प्रक्षेपण सार्वजनिक गरेको थियो । त्यसैगरी सिकिस्त बिरामी हुनबाट जोगाउन यो ९१ प्रतिशत सफल रहेको दाबी गरिएको छ ।

केही विज्ञले भने इजरायलको स्वास्थय मन्त्रालयको तथ्यांकलाई बंग्याएर आफ्नो तर्क पुष्टि गर्न लागेको आरोपसमेत लगाएका छन् । उनीहरुले तेस्रो डोजका बारेमा औपचारिक धारणा बनाउनु पूर्व केही समय पर्खिएको भए राम्रो हुने तर्क गरेका छन् ।

–एजेन्सीको सहयोगमा

प्रकाशित : भाद्र १०, २०७८ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?