अस्पतालमा बेड, आईसीयू, भेन्टिलेटर खाली छ कि छैन भनेर अनलाइनबाटै हेर्न सकिने वेबसाइट तयार गरी डब्लूएचओले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको थियो तर कहिल्यै अपडेट हुँदैन
काठमाडौँ — पाटन टंगालका ८० वर्षीय सानुकान्छी तण्डुकार ज्वरोले थला परेपछि आफन्तले साताअघि लगनखेलस्थित पाटन अस्पताल पुर्याए । परीक्षण गर्दा कोभिड–१९ पुष्टि भयो । चिकित्सकले अक्सिजन लेबल निकै कम भएकाले आईसीयूमा राखेर उपचार गर्न सुझाए ।
पाटनमा बेड खाली नभएपछि आफन्तले वीर अस्पतालमा सम्पर्क गरे । त्यहाँ पनि सबै बेडमा बिरामी रहेछन् । त्यसपछि निजी अस्पतालमा लैजाने तयारी थालियो । ‘निजीमा त औषधिबाहेक आईसीयू बेडको दैनिक चार्ज मात्रै १५ देखि २५ हजार लाग्ने भनियो,’ तण्डुकारका नातिले भने, ‘त्रिवि शिक्षण अस्पतालमा एक जना बिरामी आईसीयूबाट जनरल वार्डमा सारेपछि बल्ल बेड पायौं ।’
रामेछापका ४८ वर्षीय लेखनाथ गौतमको परिवारै कोरोना संक्रमित भए । लेखनाथ र छोरीहरू घरमै क्वारेन्टाइनमा बसेर बिसेक भए । तर, उनकी श्रीमतीको स्वास्थ्य भने जटिल बन्दै गयो । आईसीयूमा राख्न पाटन अस्पतालमा बुझे तर बेड खाली थिएन । उनी अहिले श्रीमतीलाई महँगो खर्चमा निजी अस्पतालमा उपचार गराइरहेका छन् ।
पाटनमा आईसीयू बेड नपाएर फर्कने यी दुई जना मात्रै होइनन् । उपत्यकाका ठूला अस्पतालमा कोभिड बिरामीका लागि छुट्याइएका आईसीयू सातायता भरिन थालेका छन् । पाटनमा २ सय ७० जनरल/एचडीयू, ३० आईसीयू र १५ भेन्टिलेटर छन् । वीरमा १ सय ५३ जनरल/एचडीयू, ३५ आईसीयू र १० भेन्टिलेटर छन् । पाटन र वीरमा जनरल वार्डबाहेक सबै भरिने क्रममा छन् । वीरका कोभिड संयोजक डा. उमेश बोगटीले आवश्यकताअनुसार दैनिक आईसीयू बेड थप गर्दै लगिरहेको बताए ।
‘हिजो र आज गरेर १०/१० बेड थप गरियो,’ उनले भने, ‘तत्काल ४ सय बेडसम्म सञ्चालन गर्न सक्ने क्षमता छ । तर जनशक्ति अभावले गर्न सकिरहेको छैनौं ।’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ वटा मात्र आईसीयू खाली रहेका अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले बताए । ‘दुईवटा खाली छन् तर बिरामीहरूको चाप हेर्दा त्यो पनि केही बेरमै भरिन्छ होला,’ उनले भने ।
त्रिवि शिक्षण अस्पतालमा ५१ र गंगालालमा १५ आईसीयू बेड छन् । त्रिवि शिक्षणमा जनरल/एचडीयू ३ सय ३९ र शुक्रराजमा १ सय छन् । दुवै अस्पतालमा जनरल वार्डका बेड पनि थोरै मात्र खाली छन् । भक्तपुर अस्पतालमा भने आईसीयू र भेन्टिलेटरसँगै जनरल र एचडीयू बेड पनि भरिएका छन् । यहाँ ७३ जनरल/एचडीयू, ६ आईसीयू र ४ भेन्टिलेटर छन् । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुमित्रा गौतम र त्रिवि शिक्षणका सूचना अधिकारी रामविक्रम अधिकारीले केही गरी आईसीयू चाहिने बिरामी आए फर्काउनुपर्ने अवस्था रहेको बताए ।
गंगालालमा अब मुटु रोगीसँगै कोभिड बिरामीलाई आईसीयूमा उपचार गर्नुपरेमा समस्या हुने देखिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले कोभिडको चाप कम हुँदै गएपछि आईसीयू बेड घटाइएकाले बेड भरिएको देखिएको बताए । ‘चाप बढ्नेबित्तिकै आवश्यकताअनुसार थप गर्दै जानेछौं,’ उनले भने, ‘पहिलो र दोस्रो लहरमा ८५ वटासम्म कोभिड आईसीयू सञ्चालनमा ल्याएका थियौं ।’ कोभिडको दोस्रो लहर कम भएसँगै ट्रमा सेन्टर, ग्वार्कोको किस्टलगायत केही अस्पतालले कोभिडको उपचार बन्द गरेका थिए । ट्रमाका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.सन्तोष पौडेलले सरकारको निर्देशन आएका पुनः कोभिड बिरामी उपचार गर्न तयारी अवस्थामा रहेको बताए । यसबारेमा छलफल भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीको भनाइ छ ।
मन्त्रालयकै साइट अपडेट हुँदैन
कागेश्वरी नगर अस्पतालमा परीक्षण गर्दा सरोज बुढाथोकीकी आमालाई कोभिड पोजिटिभ देखायो । चिकित्सकले अक्सिजन लेबल कम भएको भन्दै तत्काल उपचार गर्नुपर्ने बताए । सरोजले अनलाइनबाट अस्पतालहरूमा बेड तथा आईसीयू, भेन्टिलेटर खाली भए/नभएको हेरे । स्वास्थ्य मन्त्रालयको बेवसाइटमा बानेश्वरको सिभिल अस्पतालमा बेड खाली देखियो । तर बिरामी लिएर पुग्दा आईसीयू/भेन्टिलेटरको त कुरै छाडौं जनरल बेडसमेत खाली थिएन ।
‘आमालाई इमर्जेन्सीमा राखेर उपचार गर्नुपर्यो । चिकित्सकहरूले आईसीयूमा सार्नुपर्छ भन्दै थिए,’ बुढाथोकीले सुनाए, ‘औषधि दिएपछि अक्सिजनको लेबल केही बढ्यो । तीन दिनपछि बल्ल जनरल वार्ड खाली भयो । ८ दिन उपचार गराएर फर्कायौं ।’ वेबसाइट अपडेट नहुँदा दुःख पाउने बुढाथोकीजस्ता थुप्रै छन् । पाटनका कोभिड बिरामी सानुकान्छी तण्डुकारका नातिले पनि वेबसाइट चेक गरेरै पाटन अस्पताल पुर्याएका थिए । तर फर्कनुपर्यो । विश्व स्वास्थ्य संगठनले कोभिड बिरामीलाई उपचारमा सहज बनाउन अस्पतालमा बेड, आईसीयू, भेन्टिलेटर खाली छ कि छैन भनेर अनलाइनबाटै हेर्न सकिने वेबसाइटको विकास गरेर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको थियो । तर अपडेट नहुँदा बिरामीले सास्ती भोग्ने गरेका छन् ।
मंगलबार साँझ वेबसाइटमा पाटन अस्पतालमा २ सय ७० जनरल/एचडीयू, ३० आईसीयू, १५ भेन्टिलेटर रहेकामध्ये क्रमशः १ सय ५९, २२ र ६ वटा मात्र प्रयोग भएको देखिन्छ । वीरमा १५३ जनरल वार्ड, ३५ आईसीयू र १० भेन्टिलेटरमध्ये क्रमशः ८७, ३०, १० वटा र त्रिवि शिक्षणमा ३ सय ३९ जनरल/एचडीयू, ५१ आईसीयू र ३१ भेन्टिलेटरमध्ये क्रमशः ९३, ३४ र ६ मात्र प्रयोगमा आएको देखिन्छ । वेबसाइटअनुसार ट्रमामा १२ आईसीयू र ६ भेन्टिलेटरमध्ये सबै खाली छन् । त्यस्तै, शुक्रराज ट्रपिकलमा ६ आईसीयू र ८ भेन्टिलेटर खाली छन् भने भक्तपुर अस्पतालमा आईसीयू र भेन्टिलेटर प्याक छन् ।
यी सबै विवरण अद्यावधिक गर्दै वेबसाइटमा अपडेट गर्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालय र सम्बन्धित अस्पतालको हो । दुवै निकायमा डाटा अपडेट गर्न सूचना व्यवस्थापन युनिट नै खडा गरिएको छ । कर्मचारीलाई तालिम पनि दिइएको छ । तर न अस्पतालले चासो दिए न मन्त्रालयले नै । दुवै निकाय एक–अर्कालाई देखाउँदै पन्छिने गरेका छन् । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारी भन्छन्, ‘मन्त्रालयले यसबारेमा सूचना माग गर्ने गरेको छैन । माग नै नगरेपछि हामीले मात्र पठाएर हुँदैन ।’
