‘चाडपर्वले बढ्न सक्छ संक्रमण’

स्वास्थ्य मापदण्डको बेवास्ता र नयाँ भेरिएन्टका कारण संक्रमण फैलने चिन्ता 

भाद्र ८, २०७८

अतुल मिश्र

काठमाडौँ — परीक्षण गरेकै आधारमा हेर्दा कोरोना संक्रमण दर धेरै दिनदेखि औसत छ । हरेक पाँच जनाको परीक्षण गर्दा एक जनामा कोभिड पोजिटिभ देखिएको छ । पछिल्ला दिन केही घटे पनि संक्रमण दर २० देखि २५ प्रतिशत हाराहारीमा रहेकाले जुनसुकै बेला यसको विस्तार हुन सक्ने विज्ञहरूले औंल्याएका छन् ।

कोभिड संक्रमणको विस्तार कसरी हुन्छ भन्नेमा मुख्य तीन विषय निर्भर रहेको उनीहरू बताउँछन् । एक, चाडपर्वको आगमन । दुई, स्वास्थ्य मापदण्डमा बेवास्ता । तीन, कोभिडको नयाँ भेरिएन्ट । ‘नेपालीमा खोप र प्राकृतिक संक्रमणले कोभिडविरुद्ध आर्जित प्रतिरोधक क्षमता कति समयसम्म रहिरहन्छ भन्ने कुरामा समेत भविष्यको संक्रमण विस्तार निर्भर छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने । कोभिडको तेस्रो लहरबारे भारतको गृह मन्त्रालयको एक टोलीले त्यहाँको प्रधानमन्त्री कार्यालयलाई सूचित गरेको बताउँदै उनले थपे, ‘भारतमा अक्टोबरमा संक्रमण ‘पिक’ मा पुग्ने चेतावनी दिइएको छ, त्यसको असर नेपालमा पनि पर्न सक्छ ।’ 

विज्ञका अनुसार अत्यन्त उच्च संक्रामक मानिएको डेल्टा भेरिएन्टकै कारण नेपालमा करिब शतप्रतिशत व्यक्तिमा संक्रमण देखिएको छ । ‘यहाँ संक्रमण दर न बढेको छ, न घटेको छ । लगभग ५ प्रतिशत तलमाथिकै अवस्थामा छ,’ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले भने, ‘यो भनेको आँधी आउनुभन्दा पहिलेको शान्ति जस्तो हो । धमाधम चाडपर्व आइरहेका छन्, संक्रमण दर एक्कासि बढ्न सक्ने सम्भावना धेरै छ ।’ पछिल्ला दिन राजधानीलगायत केही भागमा सक्रिय संक्रमित बढेका छन् । ईडीसीडीका अनुसार काठमाडौंमा दैनिक चार–पाँच सय हाराहारीमा कोभिडका बिरामी बढिरहेका छन् । ललितपुरमा सय–डेढ सय र भक्तपुरमा सयको हाराहारीमा संक्रमित थपिइरहेका छन् । ‘सक्रिय संक्रमित अपेक्षाकृत घटेका छैनन्, सँगसँगै केस एकदमै ह्वात्तै बढेको पनि छैन,’ ईडीसीडीका निर्देशक डा. पौडेलले भने । निषेधाज्ञा खुकुलो पारिएपछि स्वास्थ्य मापदण्डको बेवास्ता भइरहे पनि संक्रमण उच्च रूपमा विस्तार देखिन्न । ‘हस्पिटलको अकुपेन्सी, आईसीयू, भेन्टिलेटरमा चाप छैन । वाग्मती प्रदेशमा कोभिडका लागि छुट्याइएको कुल भेन्टिलेटरको २० प्रतिशत र आईसीयूको ३० प्रतिशत मात्र भरिएको छ,’ डा. पौडेलले भने । 

मुलुकभर देखिएका कुल सक्रिय संक्रमितमध्ये झन्डै एकतिहाइ उपत्यकामा छन् । देशभर ३८ हजार ३ सय ५१ जना सक्रिय संक्रमित रहेकोमा २८.२४ प्रतिशत अर्थात् १० हजार ८ सय ३३ जना उपत्यकामा छन् । काठमाडौंमा १८.७२, ललितपुरमा ५.८४ र भक्तपुरमा ३.६७ प्रतिशत सक्रिय संक्रमित छन् । हालसम्म कोभिडबाट भएको कुल मृत्युको २९.३७ प्रतिशत उपत्यकामै भएको छ । ‘प्रत्येक साता कोभिडले हुने मृत्युमा २१ देखि २३ प्रतिशत उपत्यकामै हुन्छ,’ डा. बीसीले भने । 

कोरोना भाइरस

अतुल मिश्र कान्तिपुर दैनिकमा प्रमुख उप-सम्पादकका रुपमा कार्यरत छन् । उनी स्वास्थ्थ तथा विज्ञान विषयमा विगत २५ वर्ष देखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully