२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सरकारले ट्रायल अनुमति दिएको 'एमआरएनए' खोप भनेको के हो ?

काठमाडौँ — एमआरएनए खोप संक्रामक रोगहरुबाट सुरक्षित बनाउनका लागि विकास गरिएको नयाँ प्रविधिको खोप हो । प्राय: खोपहरुमा शरीरको रोग प्रतिरोधी क्षमतालाई विकास गर्नका लागि भाइरस वा कुनै जीवाणुकै निष्क्रिय अंशलाई हाम्रो शरीरमा खोपको माध्यमबाट प्रवेश गराइन्छ ।

सरकारले ट्रायल अनुमति दिएको 'एमआरएनए' खोप भनेको के हो ?

तर, एमआरएनए खोपमा भने त्यसो गरिन्न । यो खोपले भने हाम्रो शरीरको कोषलाई कुनै निश्चित प्रकारको भाइरस वा जिवाणुसँग लड्नका लागि आवश्यक रोग प्रतिरोधी क्षमता विकास गर्न प्रेरित गर्ने प्रोटिन बनाउन सिकाउँछ । त्यसले हामीलाई संक्रमणबाट जोगिनका लागि आवश्यक पर्ने एन्टिबडी निर्माण गर्न सहयोग पुर्‍याउँछ ।

यसले कसरी काम गर्छ ?

एमआरएनए खोप पाखुरामा लगाइसकेपछि यो मांसपेशीको कोषमा प्रवेश गर्छ । त्यसपछि उक्त कोषले प्रोटिनका टुक्राहरु उत्पादन गर्न सुरु गर्छ । प्रोटिनका टुक्राहरु बन्न सुरु भएसँगै शरीरको रोग प्रतिरोधी क्षमताले त्यसलाई नष्ट गर्नका लागि आवश्यक प्रतिक्रिया जनाउन थाल्दछ । यो प्रक्रिया निरन्तर चलिरहन्छ र मांसपेशीको कोषले प्रोटिनको टुक्रालाई आफ्नो बाहिरी सतहमा देखाउन थालेपछि हाम्रो शरीरको प्रतिरोधी क्षमता क्रियाशील हुन्छ र त्यसलाई निष्क्रिय बनाउनका लागि एन्टिबडी निर्माण गर्न थाल्छ । प्राकृतिक रुपमा पनि शरीरले कुनै जिवाणुसँग लड्ने तरिका यही नै हो । यसले गर्दा हाम्रो शरीर भविष्यमा वास्तविक रुपमा संक्रमण हुँदा देखाउनुपर्ने प्रतिक्रिया जनाउनका लागि तयार हुन्छ ।

नेपालमा कोरोना खोपको ट्रायल गर्न मन्त्रिपरिषद्को अनुमति

एमआरएनए खोपले कहिल्यै पनि आफैंमा संक्रमण गराउन सक्दैन किनभने यसमा जिवित भाइरस वा जिवाणुको प्रयोग गरिएको हुँदैन । यस्तै यसले हाम्रो शरीरको अनुवांशिक गुण परिवर्तन गर्न पनि सक्दैन । किनभने यो हाम्रो कोषको भित्री भाग (न्यूक्लियस) सम्म पुग्न असक्षम हुन्छ । एमआरएनएमा भएको सन्देश कोषले पत्ता लगाएसँगै कोषले नै यसलाई नष्ट गरिदिने भएकाले पनि यो सुरक्षित खोपका रुपमा लिइन्छ ।

एमआरएनए खोपको विकास

एमआरएनए खोपको विकास र अध्ययन दसकौंदेखि हुँदै आइरहेको छ । इन्फ्लूएन्जा, जिका, रेबिज जस्ता रोगहरु विरुद्ध पनि यस प्रकारको खोपको प्रयोगबारे अध्ययन भइरहेको छ । भविष्यमा एउटै एमआरएनए खोप विभिन्न संक्रमणका लागि प्रयोग हुने सम्भावना छ । जसले गर्दा विभिन्न रोगका लागि छुट्टाछुट्टै खोप लगाउनुपर्ने आवश्यकता हट्ने छ । यस्तै क्यान्सरका कोषहरुलाई लक्षित गरेर त्यसलाई नष्ट गर्न शरीरको प्रतिरोधी क्षमतालाई क्रियाशील बनाउनका लागि पनि एमआरएनए खोपको अध्ययन भइरहेको छ ।

हाल विश्वभर कोरोनाविरुद्ध सुरक्षा प्रदान गर्नका लागि अब्बल मानिएका मोडर्ना र फाइजर एमआरएनए खोप नै हुन् ।

यहाँ उल्लेख गरिएको तथ्य अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडिसी) बाट साभार गरिएको हो ।

प्रकाशित : भाद्र १०, २०७८ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?