नेकपा (एकीकृत समाजवादी) र लोसपाले मान्यता पाए- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा (एकीकृत समाजवादी) र लोसपाले मान्यता पाए

नयाँ दलमा जान चाहेका तीनजना सांसद सोमप्रसाद पाण्डे, शारदादेवि भट्ट र माया न्यौपानेको बारेमा भने आयोगले कुनै निर्णय गरेन
सांसद रेशम चौधरीको पनि सनाखत भएन
कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई औपचारिक मान्यता दिएको छ ।

दुवै दलले दिएको निवेदनमाथि बुधबार आयोगले दल विभाजनमा जान चाहनेहरूको आयोग कार्यालयमै सनाखत गरेको थियो । त्यसमध्ये एमालेबाट छुट्टिएका संघीय संसदका ३० जना सांसदसहित ५५ जना केन्द्रीय सदस्य रहने गरी दल दर्ता गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।


एमालेबाट छुट्टिएर नयाँ दलमा जान चाहेका तीनजना सांसद सोमप्रसाद पाण्डे, शारदादेवि भट्ट र माया न्यौपानेको बारेमा भने आयोगले कुनै निर्णय गरेन । उनीहरू अब वैधानिक रुपमा एमालेकै सांसद हुन्छन् । माधवकुमार नेपाल नेतृत्वमा दल दर्ता प्रक्रिया अघि बढाउँदा उनीहरूको नाम समावेश थिएन । त्यसैले उनीहरूलाई आयोगले सनाखतमा समावेश नै गराएन ।


महन्थ ठाकुरको दलका १४ जना संघीय सांसदसहित १७ जना रहने गरी आयोगले मान्यता दिएको छ । यस्तै लोसपाको तर्फबाट सांसद रेशम चौधरीको सनाखत आयोगले गरेन । लोकतान्त्रिक समाजवादी पार्टीले जनता समाजवादी पार्टीबाट विभाजित भएको हो । अब आयोगले संसद सचिवालयलाई दल दर्ता भएको औपचारिक जानकारी पठाउने छ । त्यसपछि संसदीय दलबाट पनि यी दल छुट्टै अस्तित्वमा आउने छन् ।


प्रकाशित : भाद्र ९, २०७८ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्

अल्मुताइरीको नेपाल छाड्ने संकेत

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बुधबार नेपाल छाड्ने संकेत गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष र आफूबीच चलेको विवादबारे राष्ट्रिय खेलकुद परिषदको छानबिन समितिले प्रतिवेदन बुझाएलगत्तै उनले नेपाल छाड्ने मनसाय पोखेका हुन् ।

उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘म बाहिरिएँ, राजनीतिले आफ्नो काम गरोस् ।’ यसअघि पनि उनले नेपाली टिमको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिने घोषणा गरेका थिए । तर, आफ्नो घोषणाअनुसार काम भने गरेनन् । छानबिन समितिले सामाजिक सञ्जालमा लेखेको त्यही घोषणा हटाउन पनि भनेको छ ।

नेपाली टिमको जिम्मेवारी सम्हालेयता सामाजिक सन्जालमा खुबै लोकप्रियता कमाएका प्रशिक्षक अल्मुताइरीले त्यसमै विवादास्पद भनाइ भने राख्दै आएका छन् । साफ च्याम्पियनसिप तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्नु एक साताअगाडि प्रशिक्षकको यो घोषणा आएको हो ।

प्रकाशित : भाद्र ९, २०७८ २०:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×